साहित्यिक पत्रकारको स्वर्ण महोत्सव

काठमाडौं । साहित्यिक पत्रकार संघले ५०औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ । मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको लोगो अनावरण गरे । वि. स. २०२९ साउन २९ गते स्थापना भएको साहित्यिक पत्रकार संघले यसबीचमा नेपाली वाङ्मयको विकास र समृद्धिका लागि काम गरेको कुलपति कर्माचार्यले बताए ।
कार्यक्रममा उनले संघको योगदानको चर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा संघले पु¥याएको योगदानको प्रशंसा गरे । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संघका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठले संघको गतिविधिको चर्चा गर्दै महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष मोहन सिटौला (अमेरिका), निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञ माया ठकुरी र डा. बेन्जु शर्मा, साहित्यकार डा. गार्गी शर्मा, भरत जंगम र जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष एवं भाषा आयोगका सदस्य मातृका पोखरेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्षहरु हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामना वाचन गरिएको थियो । कार्यक्रममा नियात्राकार एवं साहित्यिक पत्रकार श्रीबाबु कार्कीले नेपाली वाङ्मयको विकासमा साहित्यिक पत्रकारको भूमिका विशेष रहेको जनाए ।

उनले समाजलाई साहित्यको सुगन्ध लैजान साहित्यिक पत्रकारिताको भूमिका विशेष रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, नन्दु उप्रेती, पवन आलोक, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, मोमिला जोशी, विमल भौकाजी, ललिता दोषी, ध्रुव मधिकर्मी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारी, गणेश भण्डारी, मनोज नेउपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया