पासोमा परेको चितुवाको मृत्यु

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा परेको चितुवाको मृत्यु भएको छ । बुधबार बिहान जिल्लाको दशरथचन्द नगरपालिका– ४ बिनासौंमा स्थानीय किसानले जंगली बँदेलका लागि थापेको पासोमा परेको चितुवाको दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

अन्दाजी ३ वर्षको पोथी चितुवालाई उद्धार गरि खोरभित्र राखेपछि चितुवा मरेको हो । किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको थियो ।

चितुवाको ढाडमा पासो परेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए । पासोमा परेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएकोमा उद्धार टोली घटनास्थल नपुग्दै मृत्यु भएको । योसँगै पासोमा परि बैतडीमा २०७४ सालयता १२ वटा चितुवाको मृत्यु भएको छ ।

प्रतिक्रिया