इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको थानीले बताए । उनकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।

सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।

मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

प्रतिक्रिया