जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले त्यागे पार्टी

खोटाङ । जनता समाजवादी पार्टी, खोटाङका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।

अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिए ।

जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सहसचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका छन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटीको बैठक बोलाएकै दिन उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पञ्चशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

प्रतिक्रिया