प्युठान जीप दुर्घटना अपडेटः तीन जनाको मृत्यु

प्युठान । आइतबारभएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा नौबहिनी गाउँपालिका– ५ का एकै घरपरिवारका ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी शिशु चेतना बुढामगरको मृत्यु भएको छ भने सोही ठाउँकै गाडी चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । घाइते ऐरावती गाउँपालिका– ५ खवाङका २८ वर्षीय गोविन्द केसी, नौबहिनी गाउँपालिका– २ लिघाकी २६ वर्षीय लक्ष्मी घर्तीमगर, सोही ठाउँका ५२ वर्षीय मिनराज सुनार, ३० वर्षीय दलबहादुर खत्री, नौबहिनी– १ का २६ वर्षीय इन्द्र बहादुर बुढामगरको उपचार भइरहेको छ ।

त्यसैगरि नौबहिनी– ५ का २३ वर्षीय रविन घर्तिमगर, १८ वर्षीय धनमाला थापामगर, ११ वर्षीय रोशन थापा मगर, २८ वर्षीय हुमबहादुर बुढामगर, २८ वर्षीय मिनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रियासा थापा, २५ वर्षीया रेमसरा बुढामगर र रोल्पा लुंग्री गाउँपालिका– १ की १२ वर्षीया अस्मिता पुन दुर्घटनामा घाईते भएको प्रहरीले जनाएको छ ।

हिजो प्युठान बाग्दुलादेखी डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनि गाउँपालिका– ४ बहाने नजिक खहरे खोलामा अनियन्त्रीत भई दुर्घटना भएको थियो । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया