यस कारण मेरो स्वतन्त्र उम्मेद्वारी

डा. कृष्णप्रसाद पौडेल

राजनीतिलाई फोहोरी खेल बनाएर यसैमा निजी स्वार्थका ठूला माछा मार्न रमाएका छन् । यसैले नै अहिले यो अवस्था सिर्जना भएको हो । यो मूल प्रवृत्ति फेर्ने अठोटविना नेपाली समाजको रूपान्तरण सम्भव नै छैन । नेपालको राजनीति यस्तो फोहोरी र नेतृत्व यति धेरै ढोंगी, भ्रष्ट, दलाल र अराजक किन छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर खोज्न नसकेसम्म हामी अझ लामो समयसम्म अहिलेको जस्तै अलमलमै रमाइरहनेछौँ । यो नियति फेर्ने सचेत र सार्थक पहल नगर्ने हो भने यसले अझै लामो समयसम्म हामी सबैलाई पिरोल्नेछ ।

अहिले प्रकृति, प्रविधि र प्रवृत्तिमा आएको फेरबदलसँगै बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिँदै गएका छन् । देश गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा भइरहेको बेथिति र कुशासनले यो संकट अझै चुलिने संकेतहरू देखापरेका छन् । यसै पृष्ठभूमिमा मैले आगामी संघीय संसदीय निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिस्पर्धा गर्ने सोच बनाएको छु ।

मैले उम्मेद्वारी दिने निधो किन गरेँ ? भन्ने सन्दर्भमा धेरै पहिले सुनेको कुरा स्मरण गर्दछु । कुनै एउटा जंगलमा जनावरहरू पालैपालो राजा हुने चलन थियो रे ! एकपटक बाँदरको राजा हुने पालो आयो रे ! सबै जनावर मिलेर तामझामका साथ बाँदरलाई राजगद्दीमा राखे रे ! एक दिन राजा बाँदर एउटा ठूलो रूखको फेदमा बसेर जुम्रा मार्दै थियो रे !जंगलका रैती जनावरको कोलाहल सुनेर बाँदरले यसो फर्केर हे¥यो । अलिपर एउटा सिंह स्याललाई मार्न लखेट्दै रहेछ । बाँदर डरायो, रूखको फेदबाट विस्तारै माथि उक्लियो, यताउति हेर्दै बस्यो ।

त्यति नै बेला जंगलका सारा जनावर राजा बसेको रूख वरिपरि आइसकेका थिए । उता सिंहले स्याललाई पछारिसकेको थियो । माहोल गम्भीर भयो । बाँदर अत्तालिएर रूखको हाँगामा तलमाथि र वल्लो र पल्लोमा हाम्फाल्दै थियो । त्यति नै बेला एउटा खरायो अगाडि आयो र विनम्रतापूर्वक भन्यो, ‘महाराज ! तपाईं राजा भएको बेला यस्तो अनर्थ कसरी हुन गयो ? हामी सबैले हेर्दाहेर्दै त्यो विचरा स्याल दाइको ज्यान गयो । अब हाम्रो के हुन्छ ?’
बोल्ने पालो राजाको आयो । बाँदर राजा रूखको हाँगामा टुसुक्क बस्यो, थकित मुद्रामा सुस्तरी उसले भन्यो, ‘प्यारा प्रजाहरू ! यो घटना जे भयो हुनुहुन्थेन । मलाई बडो दुःख लागेको छ । मैले सकेजति सबै गरेको हुँ । म एकछिन बसेको हैन, वल्लो हाँगा हुँदै पल्लोमा गएँ । माथि गएँ, तल झरेँ । गर्न सक्ने सबै गरेँ । त्यति गर्दागर्दै त्यो सिंहले स्याल खायो त म के गरुँ ?’

राणाकालीन र पञ्चायती निरंकुशतालाई एकछिन अलिपर राखेर गएका ३० वर्षलाई मात्र फर्केर हेर्ने हो भने हाम्रो देशमा यस्तै पुच्छर हराएका विरादरी नै एकपछि अर्को गर्दै सत्तामा आसीन छन् । यिनको हातमा यो मुलुक र आफ्नै नियति थमाएर आमनागरिक त्यही बाँदर राजाका रैती स्यालको जस्तै हविगत बेहोर्दै छन् । जंगल राजमा खरायो बिन्ती बिसाउँदैछ, शुतुरमुर्ग टाउको लुकाएर ज्यान जोगाउने अभिनय गर्दैछ, धूर्त ब्वाँसोहरू पछाडि ढुकेर बसेका छन् । चारखुट्टेको घरजमको जस्तो थकित गधा पसिना पुछेर सुस्ताउँदैछ भने बाँदर राजमा सत्ताको चास्नीमा डुबुल्की मारेका सुँगुरहरू नशामा धूत छन् ।
सतीको श्राप परेको भनेर आफ्नो नियतिमा चित्त बुझाउने आमनागरिक यिनै बाँदरले हाँगा हल्लाएर पात झारेको हेर्न अभिशप्त छन् । अहिले मुलुकमा कोरोना र दलालबाहेक सबै निरीह जस्तै देखिएका छन् । अहिले मुलुकमा कोरोना र दलालबाहेक सबै निरीहजस्तै देखिएका छन् । सरकार बहुदलीय गुटका स्वार्थ र अदालत सेटिङले चल्न सकेको छैन भने संसद्मा लोकतन्त्रको लेनदेन भइरहेको छ । सरकार बहुदलीय गुटका स्वार्थ र अदालत सेटिङले चल्न सकेको छैन भने ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्न बनाइएको संसद्’मा लोकतन्त्रको लेनदेन भइरहेको छ । यसमाथि, यो संसद् लोकतन्त्रको दुहाई दिने तर पुरातनवादीसँग साँठगाँठमा रमाउने प्रतिपक्षको कुण्ठाको सिकार भएको छ ।

टाउकाको मोल तोकिएका र टाउको काटिने सँगसँगै सरकारी झण्डा हल्लाउँदै सिंहदरबार गेटमा पुगेका छन् । सत्ताको चास्नीमा आजन्म कालो भनेर सत्तोसराप गरेको पार्टीसँग सँगसँगै डुबेका छन् । अहिले सत्तापक्षीय बेरोजगारलाई प्रतिगमन सच्याउन संसद् विघटनको चर्को विरोध गर्न पिच सडकमा बस्दा टाँसिएको अलकत्रा कोट्याउँदैमा ठिक्क छ भने विपक्षी बेरोजगार भने टुटफुटको खेती भित्र्याउन मगनमस्त छन् ।

यो सबै देख्दा, ‘संसार एक रंगमञ्च हामी हौँ कठपुतली’ भन्ने गीतको मर्मले आफैँलाई गिज्याए झैं लाग्छ । रजौटा हुन् या रैती, राजनीतिलाई पेसा बनाएका यसका स्थायी ठेकेदारको चर्तिकला एकपछि अर्को देखिँदैछ । लुटपाटको बतास, ओम्नी, यती, बालुवाटारको ललितानिवास हुँदै शाह दरबार संग्रहालय पुगेको छ । एकाध र अपवाद स्वाभिमानी व्यक्ति वा समूह छोडेर, सबैतिर विचौलिया र दलालको बिगबिगी छ । यो प्रवृत्ति विषवृक्षको जराजस्तै व्यक्ति, घरपरिवार र समाजमा सबैतिर फैलिएको छ र अझ झनै झांगिँदैछ । हाम्रो नियतिको योभन्दा ठूलो विडम्बना के हुनसक्ला र ? कठै बाँदर राजा बनाउने हाम्रो राजनीतिको नियति !

यी सबै अरू नीतिभन्दा ठूलो राजनीतिलाई फोहोरी खेल बनाएर यसैमा निजी स्वार्थका ठूला माछा मार्न रमाएका छन् । यसैले नै अहिले यो अवस्था सिर्जना भएको हो । यो मूल प्रवृत्ति फेर्ने अठोटविना नेपाली समाजको रूपान्तरण सम्भव नै छैन । नेपालको राजनीति यस्तो फोहोरी र नेतृत्व यति धेरै ढोंगी, भ्रष्ट, दलाल र अराजक किन छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर खोज्न नसकेसम्म हामी अझ लामो समयसम्म अहिलेको जस्तै अलमलमै रमाइरहनेछौँ । यो नियति फेर्ने सचेत र सार्थक पहल नगर्ने हो भने यसले अझै लामो समयसम्म हामी सबैलाई पिरोल्नेछ ।

समय र सन्दर्भले मूल प्रवाहका राजनीतिक पार्टी र तिनका सिकिस्त शीर्ष नेतालार्ई राजनीतिक रूपमा कालगतिले मर्न दिन नसक्ने परिस्थिति बनेको छ । किनकि यिनका रैती रजौटाको दास जो बनेका छन् । शिक्षाविद् पाउलो फ्रेरेले भने झैँ यिनको र हाम्रो मुक्ति सँगसँगै ल्याउन यिनलाई भिरबाट फाल्न डोको बुन्न ढिलो भएको छ । घण्टी बजिसक्यो, तर यस्तो डोको बुन्ने तरखर अझै भएको छैन । यो कुरा अहिलेको पुस्ताले कति ख्याल गरेको छ कुन्नि ? यो कार्यभार पूरा नगरे धर्मग्रन्थको नर्क त थाहा छैन, हामी नेपालीको सभ्यता नर्क पुग्नबाट कसैले रोक्न सक्दैन ।

यो अर्थमा राजनीतिको सभ्यता र संस्कृति जोगाउने यो पुस्ताको अन्तिम अवसर हो । अन्यथा आगामी पुस्ताले हामीलाई नै नयाँ डोको बुनेर भिरबाट फाल्नेछन् । ख्याल गरौँ, त्यति बेला ऐय्या भन्नेसम्म समय बाँकी रहने छैन । यो कुरा मनन् गर्न सकेनौँ भने इतिहासका पानामा यो पुस्ता नालायकमा दर्ज हुनेछ । सधैँभरि उपहासका पात्रका रूपमा चित्रित समेत हुनेछौँ । यो भयंकर त्रासदीको आत्मग्लानीबाट जोगिन पनि आ–आफ्नो कर्तव्यबोध गरौँ । यसैमा हामी सबैको भलाइ छ ।

अहिले अरू प्रवृत्तिसँगै राजनीतिक प्रवृत्तिको रूपान्तरण गर्ने बेला दिनदिनै घर्कंदैछ । खासगरी, राजनीतिका मूल्यमान्यता, दूरदृष्टि, मार्गचित्र साथै संरचनाजस्ता महत्वपूर्ण सवालमा माथापच्चिसी गर्नुपर्ने भएको छ । यसका लागि अब अरूसँग धेरै आश गर्न सकिँदैन । यसअर्थमा ऊर्जाशील युवा पुस्ता राजनीतिमा सक्रिय हुनुको विकल्प छैन । यसले मात्र समाज रूपान्तरणमा केही आशा जगाउन सक्छ । इतिहासबाट पाठ सिक्ने हो भने अपवादबाहेक विश्वभरि युवा नेतृत्वले मात्र सामाजिक परिवर्तनको नेतृत्व गरेका छन् ।

बादशाहको नयाँ लुगा भन्ने कथामा भनिए जस्तै अक्षम र उल्लुले मात्र नदेख्ने हावाको लुगा लगाइदिने ठगहरू, अक्षम र उल्लु भएर जागिर गुमाउन नचाहने आसेपासहरू, तिनैका कुरा पत्याएर हावाको लुगा लगाएर नांगै बजार घुम्ने बादशाह र उसलाई नांगै देखेर पनि भन्ने आँट नगर्ने यो देशका सबै यस अवस्थाका लागि जिम्मेवार छौं ।

कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दा बढि संकटमा छ । यो प्रवृत्तिलाई नफेर्ने हो भने हाम्रै कारणले हाम्रो प्रकृति थप विनास हुने र हाम्रो जीवन नै धराशायी हुने निश्चित छ । हामी विषादिले होस् वा कंक्रिटले, आफ्नो उत्पादनशील जमिन ध्वस्त पार्दै खाद्यान्न आयातमा कति दिन निर्भर रहन सक्छौँ । आधारभूत वस्तुमा परनिर्भर हाम्रो समृद्धि कति दिगो हुन्छ । अहिले देशमा यस्तो प्रश्न गर्ने र समाधान दिने व्यक्ति र समूहहरूको खाँचो छ । खाना र खेतीपातीको सवाल संबोधन नगरी समाजवादको परिकल्पना अर्थहीन हुन्छ ।

यो अवस्थालाई फेर्न राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थान सँगसँगै गर्नु अनिवार्य छ । यसले मात्र हाम्रो राजनीतिको प्रवृत्ति र समग्र प्रकृति दुवै पुनर्जीवित हुदै जानेछ । यसका लागि राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनर्जीवनका लागि स्पष्ट दूरदृष्टि दिने, नीतिगत निर्माण, अनुगमन र पृष्ठपोषण गर्ने मुख्य थलो संघीय संसद् प्रभावकारी बनाउनु पर्नेछ ।

संसदको भूमिका प्रभावकारी बनाउदै सविधानले परिकल्पना गरेको समाजवादउन्मुख समाज र संघीय लोकतन्त्र सुदृढ बनाउन नसके जनताको लोकतन्त्र प्रतिको भरोसा समेत टुट्नेछ । यो भरोसा जगाउन पार्टीहरू आपूm र सांसदको भूमिका प्रति इमानदार र आमसमुदाय प्रति जवाफदेही हुनुको विकल्प छैन । स्थिति अझ अस्तव्यस्त हुनु अघि यस्तो कामको नेतृत्व लिने यो एउटा बलियो अवसर पनि हो । यसका लागि नीतिनिर्माण तथा योजना कार्यन्वयनको अनुगमनका लागि संसदीय हस्तक्षेप अपरिहार्य भएको छ ।

म विगत चार दशकदेखि राजनीतिक आन्दोलनमा सक्रिय राजनीतिकर्मी हुँ । विषयविज्ञ, अभियानकर्मी र राजनीतिक विश्लेषकको रूपमा परिचित छु । ०३६ सालदेखिका सबै राजनीतिक आन्दोलन र यसका उपलव्धि रक्षाका लागि निष्ठापूर्वक सक्दो योगदान पु¥याएको छु । म आफ्नो दक्षताको विषय र त्यसमा जनसरोकारको अन्तर्सम्बन्ध बुझ्न सक्छु । संघीय संसद्जस्तो नीतिनिर्णयको थलोमा योगदान गर्न आपूmलाई सक्षम ठान्दछु र यसका लागि प्रतिबद्ध छु । मैले म लामो समयदेखि आवद्ध राजनीतिक पार्टीमा मेरो उम्मेदवारीको प्रस्ताव पनि गरेको छु ।

म आत्मनिर्भर राष्ट्रवादको स्पष्ट दृष्टिकोण र अडानले मात्र नेपालको भूराजनीति र स्थानीय विशेषतामा आधारित उन्नतिको ढोका खोल्न सक्छ भन्नेमा विश्वस्त छु । मसँग माथि उल्लिखित संकट संबोधन गर्ने स्पष्ट मार्गचित्र छ । मैले तल उल्लिखित सवालहरूलाई राजनीतिमा मूल प्रवाहीकरण गर्ने अठोटका साथ यो उम्मेद्वारीको तयारी गरेको छु ।

०३६ देखि ०३९ सालसम्म तीन वर्ष नेकपा(माले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र युवादलमा सक्रिय रहेँ । ०३७ सालमा अनेरास्ववियु पश्चिमाञ्चल कमिटी सदस्यको भूमिका निर्वाह गरेँ भने ०३७ सालमा पक्लिहवा कृषि क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित भएँ । निरंकुश पञ्चायती शासनविरुद्ध आन्दोलन गर्दागर्र्दै ०३९ सालमा भैरहवामा जेल पनि बसेँ । ०३९ सालदेखि ०४१ का दुईवर्ष देशकै विकट डडेल्धुरामा गएर कृषि प्राविधिक सहायकको काम गरेँ । ०४६ सालमा अनेरास्ववियुको केन्द्रीय परिषद् सदस्यमा निर्वाचित भएँ । ०४७ सालमा पार्टी सदस्यताप्राप्त गरेपछि ०५६ सालसम्म संगठित सदस्यको हैसियतले गृह जिल्ला चितवनमै रहेर काम गरेँ । नेकपा(एमाले) को प्राकृतिक स्रोत केन्द्रीय विभाग सदस्य र नेकपा विभाजन हुनु अघिसम्म केन्द्रीय कृषि विभागका सदस्यका रूपमा काम गरेँ ।

०७५ मा कर्णाली प्रदेशको विज्ञ समूह र उच्चस्तरीय शिक्षा आयोगको सदस्यका रूपमा आफ्नो भूमिका निर्वाह गरेँ । ०७५ मै प्रांगारिक कृषि प्रवद्र्धन अध्ययन कार्यदलको सदस्य र ०७६ मा नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यका रूपमा रहेर जिम्मेवारी निर्वाह गरेँ । ३० वर्षभन्दा बढी समय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा सक्रियतापूर्वक काम गरेँ । स्थानीय खाना, जीविका र त्यसको राजनीतिक अर्थशास्त्रसँग सम्बन्धित रहेर अध्ययन अनुसन्धान गर्दै स्थानीय संस्कृति र ज्ञानको खोज गर्ने कार्यमा दशकौँदेखि सक्रिय छु । बेलायतको प्रतिष्ठित रिडिङ विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेको छु । स्वयं कृषिकर्ममा सक्रिय छु ।

प्रतिक्रिया