बेलायत पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । बेलायत पठाईदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बेलायतमा मासिक ४ लाख रुपैयाँसम्म तलव हुने विश्वास दिलाई उनीहरूबाट प्रतिव्यक्ति ३ लाखका दरले १५ लाख रुपैयाँ लिई ठगी गरेका थिए ।

पीडितबाट रकम लिई सम्पर्कबिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया