देउवा र प्रचण्डलाई ओलीकाे चुनौतीः सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुहुन्छ ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान गर्न चुनौती दिएका छन् । शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले आफ्नो नामको सबै सम्पत्ति राष्ट्रका नाममा गरिसकेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई पनि आफूलेजस्तै आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिएका हुन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’

साथै उनले एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीय गठबन्धन बनाउन लागिएको बताकएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेको जितलाई जति दलीय गठबन्धन भए पनि रोक्न नसक्ने उनले दाबी गरे ।

पछिल्लोपटक गठबन्धनमा डा. बाबुरा भट्टराईको नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सहभागी हुने चर्चा चलिरहेको तर्फ संकेत गर्दै ओलीले भने, ‘एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीयमा रुपान्तरण गर्न खोजिँदैछ । तर, एमालेको जितलाई गठबन्धनले रोक्न सक्दैन ।’

उनले आफू जता जाँदा पनि एमालेप्रति आकर्षण बढेको, एमालेप्रति विश्वास बढेको देखेको बताए । मुलुकको विकास र समृद्धिको नेतृत्व एमालेलेमात्र गर्नसक्छ भन्ने कुराको विश्वास जनतामा जागेको ओलीको दाबी छ । उनले जनतामात्र नभई सेना, प्रहरी र कर्मचारीहरूमा समेत एमालेले मात्र मुलुकको विकास गर्नसक्ने कुराको विश्वास बढेको दाबी गरे ।

अध्यक्ष ओलीले आफूलाई लोकतन्त्रको हिमायती बताउने नेपाली कांग्रेसले लोकतन्त्रलाई विकृत बनाएको आरोप लगाएका छन् । कांग्रेसले गलत अभ्यासले मुलुकलाई द्वन्द्वतर्फ धकेलिरहेको बताए । कांग्रेसले एमालेसँग शत्रुतापूर्ण व्यवहार गरेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा प्रतिष्र्धा हुन्छ, शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरूले प्रतिष्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन् । यो लोकतान्त्रिक तरिका हैन ।’

उनले नेपाली कांग्रेसलाई आफ्नै खुट्टामा उभिन नसकेको भन्दै कटाक्ष गरेका छन् । उनले भने, ‘बिचरा कांग्रेस माया लाग्छ मलाई, हेर्दा हेर्दै के भएको कांग्रेस ? लौरो टेकेर पनि नअडिने भइसक्यो ।’ ओलीले गठबन्धनका अन्य दललाई कांग्रेसको लौरोको संज्ञा दिए ।

प्रतिक्रिया