कांग्रेसमा उम्मेदवारी मनोनयनको अधिकार देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टीको विधानबमोजिम उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई दिएको हो । बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकले आगामी निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको बताए । मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् ।

यि हुन् बैठकका निर्णयहरू

१. २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।

२. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

३. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

४. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुयाई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देशन गर्ने ।

५. आगामी प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि २४ भदौसम्म सञ्चालन गर्ने ।

प्रतिक्रिया