सञ्चालन भएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र !

रूपन्देही । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुंगो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ ।

बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेकोले छिट्टै टुंगोे लाग्ने उनको विश्वास छ । संघीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । उनले भने, ‘स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।’

सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र सञ्चालन व्यवस्थापनको नेतृत्व उपमहानगरले गरे पनि निजी क्षेत्रलाई जोडेर लैजाँदा भरपर्दो हुने उद्योगी व्यवसायीको सुझाव छ । स्थानीय सरकार र निजी क्षेत्र मिलेर यसको सञ्चालन गर्नु उपयुक्त हुने नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेलले बताए । यी संरचनाको उचित व्यवस्थापन र सञ्चालनका लागि निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उनले सुनाए ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा निर्माण भएको सम्मेलन केन्द्र स्थलमा एक सय ३८ बोटबिरुवा कटान गरिएकाले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाउने काम गरिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इञ्जीनियर सुमन दर्लामीले बताए । आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणाअनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो । बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी ०६५ मा सरकारले निर्णय गरेको थियो । ०७६ जेठ १३ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरी सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो ।

बुटवल मण्डपको १६ बिघामध्ये पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रमा १ अर्ब २ करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको छ । विद्युत् आपूर्तिका ६ सय ३० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ । सभाकक्ष अगाडि पानीका फोहरासहितको पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी पाँच वटा अलग–अलग आकर्षक द्वार निर्माण गरिएको छ । बालउद्यान, कफीसप, रिफ्रेसकक्ष, रजिस्ट्रेसन र टिकट काउन्टरसमेत बनाइएको छ । ‘लिफ्ट सुविधासहित अपांगतामैत्री संरचना तयार भएको छ ।

यो सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी ०७१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौतामा ०७८ पुस मसान्तसम्म सभाकक्ष बनाइसक्ने उल्लेख भए पनि कोरोना महामारीको प्रभावका कारण केही ढिला भएको हो । दोस्रो चरणमा ०७४ मा सम्झौता गरी ०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो । पछि ०७९ कात्तिकसम्म म्याद थप गरिएकामा त्यसअगावै ०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए ।

सम्मेलन केन्द्रको पकिक्षो चरणको कामलाई २३ करोड र दोस्रो चरणको कामलाई ८० करोड गरी १ अर्ब ३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको आयोजना प्रमुख पन्थीले बताए । नेपालको झण्डा आकारमा तयार गरिएको सम्मेलन केन्द्र झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ ।

पहिलो चरणमा निर्माण गरिएको सूर्य आकारको भवनमा एक हजार क्षमताको मुख्य सभाकक्ष रहेको भवन, दुईटा प्रवचन कक्ष, ६ वटा बैठक कक्ष, विशिष्ठ कक्ष, श्रव्यदृश्य कक्षलगायतका कक्ष छन् भने दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुइटा ५०÷५० र दुइटा एक÷एक सय क्षमताका कक्ष छन् । दोस्रो चरणमा सभाकक्ष परिसरको हरियालीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङस्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण गरिएको छ ।

हाल प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ट्रस्ट निर्माण तथा बी र सी ब्लकमा स्टिलको खम्बा राख्ने काम भइरहेको छ । निर्माणाधीन प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ८ सय ३८ स्टल सहभागी हुन सक्नेछन् । कबर्ड स्टल रहने भएकाले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिनेछ । बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा एकपटकमा १० हजार जनाले अवलोकन गर्न सक्नेछन् भने २० हजार अटाउन सक्ने कक्ष, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी ‘फुड कोर्ट’ निर्माण गरिँदैछ । यस्तै १ लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभाकक्ष र सम्मेलन केन्द्रको बीचमा पार्किङस्थल तयार गरिएको छ । यसबाहेक दुइटा बैठक कक्ष, कफीसप, दर्ताकक्ष, टिकट काउन्टरलगायत गरी १ अर्ब २ करोडमा संरचना निर्माण हुनेछन् ।

प्रदर्शनी केन्द्र निर्माणपछि यो स्थलमा मेला महोत्सव सञ्चालन गर्न व्यवसायी आतुर छन् । आफ्नो व्यवसाय, उद्योग र उत्पादनको प्रचारका लागि यहाँका व्यवसायीहरू प्रदर्शनी केन्द्र निर्माणको पर्खाइमा रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बताए । प्रदर्शनी केन्द्र बनेपछि हामी हरेक महिना कृषि, पर्यटन, सौन्दर्यसामग्रीजस्ता अलग–अलग सामग्री र उत्पादनको प्रवद्र्धन गर्ने गरी मेला आयोजना गर्न सकिने उनले सुनाए ।

प्रतिक्रिया