जनैपूर्णिमा र तेमालको ऐतिहासिक झाँक्री नाच

विनोद पौडेल

धुलिखेलबाट करिब २३ किलोमिटरको यात्रापश्चात नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसी पुगिन्छ । भकुण्डेबेँसीबाट बिपी राजमार्गलाई छोडेर बायाँतर्फ मोडिएपछि ग्रामीण सडकको यात्रा सुरु हुन्छ । कतै पक्की, कतै ग्राबेल कच्ची सडकको उकालीओराली गर्दै यात्रा अगाडि बढ्दछ । बाटोमा पर्ने विभिन्न स्थान खर्दारपाटी, कानपुर, कालापानी, तेमाल हुँदै नमोबुद्ध नगरपालिकाको सिमाना समाप्त भई तेमाल गाउँपालिकाको सिमानाको प्रवेशद्धार कालिमाटी भन्ने स्थान पार गरे पश्चात गन्तव्यको नजिक नजिक पुग्न सकिन्छ । केहीबेरको यात्रा पश्चात जात्रास्थलमा पुग्न सकिन्छ ।

देशको राजधानी काठमाडांैको त्रिपुरेश्वरबाट काभ्रेपलाञ्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ किमि पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किमिको दुरीमा छ । काभ्रे जिल्लाको पूर्वमा रामेछाप, पश्चिममा ललितपुर र भक्तपुर, उत्तरमा सिन्धुपलाल्चोक, दक्षिणमा दक्षिणमा सिन्धुली र मकवानपुर जिल्लाको सिमाना पर्दछन् । पूर्वमा सुनकोसी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ, उत्तर इन्द्रावती एवं सुनकोसी नदी र दक्षिण कोखाजोर एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्लाका रूपमा मानिन्छ । समुन्द्र सतहबाट ३ सय १८ मिटर उचाइमा रहेको (कोखाजोर खोला) देखि ३ हजार १८ मिटर (बेथान्चोक नारायण डाँडा) सम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू–धरातलले भरिएको छ ।

तत्कालीन पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजाभित्र रहेका विभिन्न गाउँ क्षेत्रलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रसिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको पाइन्छ । काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा पालिकाहरू मध्ये सात वटा गाउँपालिका र ६ वटा नगरपालिका छन् ।
राजधानीबाट नजिकको दुरीमा रहेको काभ्रे जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोण सवल मानिन्छ । जिल्लाका पलाञ्चोक भगवती मन्दिर, साँगाको शिवमूर्ति, बनेपाको चण्डेश्वरी, धनेश्वर त्यस्तै पनौतीको इन्द्रायणी परिचित धार्मिक स्थलहरू हुन् भने नमोबुद्ध गुम्बा हिन्दू तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रसमेत हुन् । कतिपय धार्मिक स्थलहरू प्रचुर सम्भावना भएको तर प्रचारको पर्खाइमा रहेको जसलाई परिचित बनाउन सक्ने हो भने आन्तरिक धार्मिक पर्यटक थप भित्राउन मद्दत पुग्ने देखिन्छ ।

तेमाल गाउँपालिकास्थित पोखरी नारायणस्थानमा जनैपूर्णिमाका दिन लाग्ने मेलाले विशेष महत्व बोकेको छ । तेमाल गाउँपालिकाअन्र्तगत पोखरी नारायणस्थानमा हरेक वर्षको जनैपूर्णिमा अर्थात साउन शुक्ल पूर्णिमाको दिन भव्य एक दिने मेला लाग्ने गर्दछ । जसलाई बोलीचालीको भाषामा स्थानीयले ‘नारनथानको जात्रा’ पनि भन्ने गर्दछन् । किनभने त्यहाँ सत्यनारायणको मन्दिर रहेको छ । उक्त जात्राको प्रमुख विशेषता भनेको झाँक्री नाच हो । जहाँ तामाङ समुदायका जान्ने अर्थात धामीले झाँक्री नाच गर्ने गर्दछन् ।

वरिपरि जंगलको बीचमा सत्यनारायण भगवान् मन्दिर अवस्थित छ । परापूर्वकालमा एकजना भरियाले आफ्नो गाउँमा मन्दिर स्थापना गर्न भनी सहरदेखि नारायणको मूर्ति बोकेर गाउँ लाने क्रममा त्यसस्थानमा पुग्दा भरियालाई शौच लाग्दा मूर्तिलाई बिसाई शौच गर्न झाडीतिर गएका थिए । फर्केर आउँदा उक्त नारायणको मूर्तिलाई बोक्न खोज्दा बोक्नै नसक्दा रीसले चुर भई नारायणको मूतिलाई खुँडाले हानेर नाकै तासिदिई छाडेर गए । कालान्तरमा त्यसै स्थानमा नारायणको मन्दिर स्थापना गरिएको भन्ने किंवदन्ती स्थानीयले बताउने गरेका छन् । नारायणको मूर्तिको नाक नभएको हुँदा स्थानीयले बिनानाकको मूर्ति पूजा गर्नुको सट्टा नौनी या घ्यूको नाक बनाई पूजा गर्न प्रचलन आजसम्म पनि कायमै छ ।

तेमाल भेगमा बौद्ध धमाबलम्बीहरूको बाहुल्यता रहेको तामाङ राजाले समेत यस स्थानमा तपस्या गरेको भन्ने किम्बदन्ती पाइन्छ । तामाङ समुदायको बाक्लो बस्ती भएको हुँदा यहाँ गुम्बाहरू पनि उत्तिकै मात्रामा स्थापना भएका छन् । काठमाडौंको बौद्ध, स्वयम्भू तथा नमोबुद्धमा दर्शन गर्न जान नसक्नेका लागि यहाँ निर्मित गुम्बा स्तुपामा दर्शन गर्न सकिन्छ । जनैपूर्णिमाको दिन लाग्ने मेलामा तामाङ समुदायको बाहुल्यता रहन्छ तर, पछिल्लो समय भने हिन्दू धर्माबलम्बीहरूको पनि उत्तिकै उपस्थिति रहने गरेको छ । यो जात्राको छुट्टै महत्व पनि रहेको छ । लामाहरूले झाँक्री नाच प्रस्तुत गर्ने हुँदा प्रमुख आकर्षक दृश्य झाँक्री नाच भने हेर्न छुटाउनु हँुदैन ।

नारायणको मन्दिर दर्शन पश्चात यस्ता नाच सुरु हुने गर्दछ । तामाङ समुदायको प्रमुख धामी तथा सिकारु धामीले तामाङ भाषामा विभिन्न मन्त्र उच्चारण गरी ‘सेउ बन्बो सेउ’ भन्दै झाँक्रीले नाच प्रस्तुत गर्ने गर्दछन् । समूह समूह बनाई झाँक्रीले नाच प्रस्तुत गर्ने गर्दछन्, समूहको मूल प्रमुख धामी रहन्छ उसको निर्देशन बमोजिम अन्यले ताल मिलाउने गर्दछन् । प्रमुख झाँक्रीले सिक्ने चेलाहरूलाई यस दिन विशेष रूपमा झाँक्री मन्त्र विद्या सिकाइरहेका हुन्छन् । सेता धोती लगाएका, शिरमा मयुरका प्वाँखले भरिएका, शरीरभरी घण्ट झुन्ड्याई खाली खुट्टाले ढ्ंयाग्रो ठोक्दै खाली खुट्टैले नाच्ने गर्दछन् । नचाइमा पनि धार्मिक विश्वास रही आएको छ । झाँक्री नाचेको स्थानमा बिरामीलाई राखिदियो भने झाक्रीले फुकिदिनुपर्ने हुन्छ सो दिन झाँक्रीले फुकिदिए पुराना रोगहरू हटी जाने विश्वाससमेत स्थानीयमा रहेको छ । त्यति मात्र होइन साँझ झाँक्री गन्तव्यतर्फ फर्कंदै गर्दा दोबाटो–दोबाटोमा नाच्ने प्रचलनसमेत रहेको छ । दोबाटोमा बसी झाँक्रीलाई नाच्न अनुरोध गरे नाई भन्दैनन् उल्टै बिरामीलाई झारफुकसमेत गर्ने गर्दछन् ।

गोसाइँकुण्डमा गएका भक्तजनले त्यहाँबाट जल ल्याई सो दिन भगवान् नारायणलाई चढाउने प्रचलनसमेत रहेको छ । जसबाट भक्तजनको मनोकामना पूरा हुनेसमेत जनविश्वास रहेको छ । यस दिन मेला भर्ने र नारायणको दर्शन गर्न आउने दर्शनार्थीको भिड लाग्ने गर्दछ । भिड व्यवस्थापन गर्न मेला व्यवस्थापन समितिलाई हम्मेहम्मे नै पर्दछ । कोरोनाको समयमा त्यति धेरै भिड नलागेको मेलामा यो वर्ष भने निकै आगन्तुकको भिड लाग्ने सम्भावना रहेको छ । विशेषत जिल्लाकै मानिसहरू मेला भर्न बढी मात्रामा आउने गर्दछन् नजिकैका मेच्छेपौवा, कानपुर भेगमा मानिसहरू मेला भर्न लस्कर लागेर आउने गर्दछन् । यसका अलवा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर त्यस्तै काठमाडौंदेखि मेला अवलोकन गर्न जाने गर्दछन् ।

मेलालाई विशेष बनाउन अतिरिक्त क्रियाकलापहरू जस्तै मनोरञ्जनका कार्यक्रम, सस्तो मेला, गाउँले परिकारका स्वाद लगायतको अवलोकन तथा प्रयोग मेलामा गर्न सकिन्छ । सस्तोमा सामान पाइने हुँदा स्थानीय महिलाहरूको बाक्लो उपस्थित रहने गर्दछ । यसदिन घरको काम छोडी सबेरै मेला हेर्न जान प्रचलन अहिले पनि कायमै छ । झाँक्रीका सेताम्मे भेषले मेलालाई रोमाञ्चित बनाएको हुन्छ । अझ पहिले पहिले त मेलाबाटै मन पराएको युवतीलाई भगाएर विवाह गर्ने प्रचलनसमेत थियो । विवाह गर्नैको लागि अझ भनौँ भाग्नको लागि पनि मेला भर्न युवायुवतीको भिड लाग्ने गर्दथ्यो । रातको समयमा जबर्जस्ती युवाले युवतीलाई भगाएर श्रीमती बनाउने र पछि लगन गर्ने प्रचलन तामाङ समुदायमा कायमै छ । तर त्यो प्रचलन पूर्ण रूपमा कायम नभएता पनि प्रयास भने अहिले पनि युवाहरूले गर्दै आउने गरेका छन् । यस्तै विषयमा झगडा पर्दा हानाहानको स्थितिसमेत आउने गर्दछ ।

यो भेगमा मेलाका पर्यटकीय गन्तव्यको निमित्त पनि अति उत्तम रहेको छ । यति मात्र नभई सिंगो काभ्रे जिल्ला नै पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको जिल्लाका रूपमा चिन्न सकिन्छ । जसमा यसै मेलाले पनि पर्यटकीय सम्भावनालाई उजारण गर्न मद्दत पुगेको छ ।

कसरी पुग्न सकिन्छ ः

काठमाडौंबाट करिब ८० किलोमिटरको दुरीमा पर्दछ काभ्रेको पोखरी नारायणस्थान । काठमाडौंबाट यात्रा सुरु गर्दा अरनिको राजमार्ग हुँदै भक्तपुर जिल्ला पार गरेपछि काभ्रेपलाञ्चोक जिल्लाको सिमाना साँगामा पुगिन्छ । साँगाको शिव मन्दिरको दर्शन गर्दै हरियाली दृश्यको अवलोकन गर्दै जिल्लाका प्रमुख सहर बनेपा हँुदै धुलिखेल पुगिन्छ । धुलिखेलबाट दायाँ मोडिएपछि बिपी राजमार्गबाट यात्रा अगाडि बढ्दछ । सहरको कोलाहलपूर्ण वातावरणलाई बिर्सिएर अब ग्रामीण परिवेशलाई नियाल्दै, स्वच्छ हावा खाँदै हरियाली वातावरणलाई नियाल्दै बिपी राजमार्गको यात्रा गर्न सकिन्छ । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको यस राजमार्ग हेर्दै लोभलाग्दो छ तर साघुँरो र घुम्ती मोडहरू धेरै हुनाले सावधानी अपनाउनु भने नितान्त जरुरी छ । सुरक्षित यात्रा गर्न भने जरुरी छ । धुलिखेलबाट करिब २३ किलोमिटरको यात्रापश्चात नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसी पुगिन्छ । भकुण्डेबेँसीबाट बिपी राजमार्गलाई छोडेर बायाँतर्फ मोडिएपछि ग्रामीण सडकको यात्रा सुरु हुन्छ । कतै पक्की, कतै ग्राबेल कच्ची सडकको उकालीओराली गर्दै यात्रा अगाडि बढ्दछ । बाटोमा पर्ने विभिन्न स्थान खर्दारपाटी, कानपुर, कालापानी, तेमाल हुँदै नमोबुद्ध नगरपालिकाको सिमाना समाप्त भई तेमाल गाउँपालिकाको सिमानाको प्रवेशद्वार कालिमाटी भन्ने स्थान पार गरेपश्चात गन्तव्यको नजिक नजिक पुग्न सकिन्छ । केहीबेरको यात्रा पश्चात जात्रास्थलमा पुग्न सकिन्छ ।

सार्वजनिक सवारी साधनको करिब ४ देखि ५ घण्टाको यात्रा पश्चात पुग्न सकिन्छ । यहाँ पुग्न काठमाडौंबाट बसको सुविधा छ भने बनेपाबाट पनि सार्वजनिक बस पाइन्छ । प्राइभेट सवारीसाधनमा भने कुनै सडक अवरोध नभएको खण्डमा ३ देखि ४ घण्टाको यात्रामा पुग्न सकिन्छ । काठमाडौंबाट सबेरै यात्रा तय गर्ने हो भने बेलुका घर फर्कन सक्ने दुरीमा रहेको छ । यदि त्यहाँको वातावरणमा समाहित हुन एक रात बस्ने मनस्थिति बनाउने हो भने पनि आत्तिनु पर्दैन । होमस्टेको समेत प्रबन्ध हुँदा बासस्थानकै समस्या भने हुँदैन । यहाँ जात्रामा मात्र मेला भर्न नआई अन्य समयमा पनि घुम्नका निमित्त जान सकिन्छ । जहाँबाट गाउँले परिवेश, तमाङ समुदायको रहनसहन भेषभुषालाई नजिकबाट नियाल्न सकिन्छ । यति मात्र होइन यहाँबाट सुन्दर हिमालका दृश्यावलोकन गरी नजिकबाट नियाल्न पनि सकिन्छ । एकातर्फ रोसी खोला र अर्कोतर्फ कोसीको डाँडामा रहेको तेमाल क्षेत्र स्वर्गको एक टुक्रा झैं लाग्दछ । डाँडामा बसेर वरिपरिका पहाडी भू–भागलाई नियाल्दा यहाँबाट फर्कनै मन लाग्दैन ।

प्रतिक्रिया