नेपालीकै हाराहारी खर्च गर्छन् विदेशी पर्यटक

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको दैनिक खर्च गर्ने क्षमता घट्दै गएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार पछिल्लो समयमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने खर्च निकै घट्दै गएको औँल्याइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको ‘प्रति पर्यटकको नेपालमा हुने प्रतिदिन खर्च’ को तथ्यांकअनुसार नेपालीले स्वदेशमा खर्च गर्न सक्ने अनुपातमै विदेशी पर्यटकले नेपालमा खर्च गर्दै आएका छन् । मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेका अनुसार गत आर्थिक वर्ष ०७८÷७९ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले दिनको ४८ डलर (६ हजार १ सय ८ रुपैयाँ) खर्च गरेका थिए ।

यसअघि योगेश भट्टराई पर्यटनमन्त्री रहेको बेला आर्थिक वर्ष ०७६÷७७ मा पनि ५६ डलर प्रतिदिन लक्ष्य राखिएकोमा आठ डलरले घटेर विदेशी पर्यटकले ४८ डलर नै खर्च गरेका थिए । आर्थिक वर्ष ०७७÷७८ मा भने पर्यटकले दैनिक ६५ डलरसम्म (८ हजार २ सय ७१ रुपैयाँ) खर्च गरेका थिए ।

विदेशीले नेपालीले नै तिर्न सक्ने मूल्य नै तिरेर खाना, लज, भ्रमण, आन्तरिक यातायात, गाइड र किनमेल गरिरहेका छन् । कोभिड महामारीपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बिस्तारै बढ्दै गए पनि उनीहरूले गर्ने खर्च भने बढ्न नसकेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार क्वारेन्टाइन बसाइका कारण विदेशी पर्यटकको बसाइ अघिल्लो आर्थिक वर्षमा १५.५ दिनमा पुगे पनि आम्दानीको दर अघिल्लो वर्षको तुलनामा निकै कम भएको छ । मन्त्रालयले आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पाण्डेले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार गत वर्ष सरकारले पर्यटकको प्रतिदिनको खर्च ६३ डलर (८ हजार १७ रुपैयाँ) पु¥याउने प्रक्षेपण गरेको थियो । तर, पर्यटकको आगमन डेढ लाखमै सिमित भएका कारण उक्त लक्ष्य प्राप्त हुन सकेन् ।

गत वर्ष नेपाल आएका पर्यटक आर्थिक वर्ष ०७६÷७७ को तुलनामा करिब साढे १० लाखले कम हो । आर्थिक वर्ष ०७७÷७८ को तुलनामा भने ८० हजारले कम हो । पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले पछिल्लो वर्षमा विदेशी पर्यटकले औसत ४८ देखि ५५ डलरसम्म प्रतिदिन खर्च गर्ने गरेको दाबी गरे ।

यो तथ्यांकमा पर्यटकले गरेको विस्तृत खर्च विवरण नसमेटिएको जोशीको दाबी छ । ‘अहिले धेरैजसो पर्यटक डिजिटल प्लेटफर्मबाट होटल तथा टुर प्याकेज बुक गरिरहेका छन् । उनीहरू आफ्नै मुलुकको एजेन्ट र डिजिटल एप्समार्फत पनि आउने भएकाले खर्च निकै कम भएको हो’, जोशीले भने । होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले कोभिडको विश्वव्यापी असर, पश्चिमा मुलुकको आर्थिक मन्दी तथा युक्रेन–रुस युद्धका कारण पर्यटक संख्या र उनीहरूले गर्ने खर्चको दरमा कमी आएको जानकारी दिइन् ।

कोभिडकै कारण थला परेको दुई वटा पाँचतारे होटेल अझै सञ्चालनमा आउन नसकेको तथ्य पनि उनले सार्वजनिक गरिन् । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो हिस्सा ओगट्दै आएको छ । पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब ७ दशमलव ८ प्रतिशतले योगदान पु¥याउँदै आएको बताइएको छ ।

जिडिपीमा पर्यटन क्षेत्रको योगदान सबैभन्दा बढी माल्दिभ्सको छ । माल्दिभ्सको जिडिपीमा पर्यटनले ७६ प्रतिशत योगदान गर्दैै आएको छ । पर्यटन क्षेत्रले मकाउमा ६१ दशमलव ३, बाहामसमा ४७, थाइल्यान्डमा २१, मलेसियामा १३, श्रीलंकामा ११, चीनमा ११, भियतनाममा ९, भारतमा ९ दशमलव ४ र ब्राजिलमा ७ दशमलव ५ प्रतिशत योगदान गर्दै आएको छ ।

प्रतिक्रिया