राष्ट्रपतिले नागरिकता बिधेयक नपठाएकोमा संसदमा चिन्ता


कठमाडौं । संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता संशोधन बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गर्न ढिलाई भएकोमा संसदमा चिन्ता प्रकट गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठककाे शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद दिलकुमारीले यस्तो चिन्ता प्रकट गरेकी हुन् ।

‘नागरिकता बिधेयक पारित भएर प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपतिकोमा गएको छ, त्यो अहिलेसम्म प्रमाणीकरण भएर आएको छैन, म त्यसलाई अविलम्ब पठाउन आग्रह गर्दछु’, उनले भनिन् ।

प्रमाणीकरणका लागि करिव ९ दिन पहिलो राष्ट्रपति भण्डारीकोमा पठाएकोमा हालसम्म सो प्रमाणीकरण भएर आएको छैन । संविधान अनुसार अर्थ बाहेक कुनै विधेयकमा राष्ट्रपतिलाई परामर्श आवश्यक छ भन्ने लागेमा त्यो फेरि संसदमा फिर्ता पठाइने व्यवस्था छ ।

स्रोतका अनुसार राष्ट्रपतिलाई सो विधेयक तत्काल प्रमाणीकरण नगर्न निकटहरुले सल्लाह दिएका छन् । यद्यपि १५ दिनभित्र फिर्ता पठाइसक्नुपर्ने र त्यसपछि अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया