आदिवासी पहिचानमा समस्या

प्रत्येक वर्षको अगस्ट ९ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने गरिन्छ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारणसभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । त्यस बेलादेखि नेपालमा पनि यो दिवस मनाइन्छ । यस वर्षको अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारा ‘परम्परागत ज्ञान र सीपहरूको संवर्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ तय गरिएको छ । ‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकलालगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ । बाहिरबाट बसाइँ सरेर आउनेहरूले यो समुदायको जनजीवनलाई आघात नपरोस भन्नका लागि संयुक्त राष्ट्र संघले छुट्टै विधान तय गरेको छ । बसाँइ सरेर आउनेहरूको तुलनामा आदिवासीलाई केही अग्राधिकार तथा आरक्षणको व्यवस्थासमेत गरिएको छ । आदीवासी भनेका को हुन् ? र उनीहरूलाई किन विशेष व्यवस्था गर्नुपर्छ ? उनीहरूको परम्परागत सीप कलाकौशल तथा भेषभुषा किन संरक्षण गर्नुपर्छ ? भन्ने चेतना दिनका लागि पनि अन्तर्राष्ट्रियस्तरमै आदीवासी दिवस मनाउन थालिएको हो ।

खासगरी उपनिवेशकालमा ठूला तथा विकसित मुलकहरू प्राकृतिक स्रोत र साधनको खोजीमा संसारभर चाहार्ने र जमिन ओगटने प्रचलनका कारण आदिवासीहरू संकटमा परेका थिए । त्यो संकटलाई मध्यनजर राख्दै संयुक्त राष्ट्र संघले आदिवासीसम्बन्धी विशेष प्रावधान ल्याएको हो । त्यो प्रावधानमा हाम्रो देश नेपालले पनि हस्ताक्षर गरिसकेको छ । त्यसैले नेपालका आदिवासीको हकमा पनि संयुक्त राष्ट्रसंघीय प्रावधान लागू हुन्छ । तर नेपालमा को आदिवासी हो ? को बाहिरबाट बसाइ“ सरेर आएको हो ? भन्ने प्रश्न अनुत्तरित छ ।

हुन त अन्तर्राष्टिय जगतमा समेत आदिवासी को हुन् भन्नेबारे कुनै एउटै परिभाषा बनेको छैन । अमेरिका, अस्ट्रेलियालगायत आप्रवासीहरूले बनाएका देशहरूमा को आदीवासी हुन् ? भनेर छुट्याउन अप्ठेरो छैन । त्यहाँका रैथानेहरू नै आदिवासी हुन् भन्ने कुरा स्वयंसिद्ध छ । तर नेपाल, भारत, चीनजस्ता हजाराैँ वर्ष पुरानो सभ्यता बोकेका र बाहिरबाट बसाइँ सरेर आएका मानिस खासै नभएका देशहरूमा भने आदिवासीको पहिचानमा समस्या बनेको छ । त्यसैले नेपालमा आदिवासी कोे हुन भन्ने बारेमा विवाद भएको पाइन्छ । एकथरीले जनजाति जति सबै आदिवासी र गैरजनजाति सबै आप्रवासी भन्ने ढंगले प्रचार गरिदि“दा समाजमा द्वन्द्व बढेको छ । हुन पनि कर्णाली, महाकाली तथा गण्डकी क्षेत्रमा अनादीकालदेखि बसोबास गर्दै आएको खस तथा तराईमा अनादिकालदेखि बस्दै आएका मधेसी समुदायलाई आदिवासीको सूचीमा राखिएको छैन, तर जनजातिको नाममा केही आप्रवासीहरूले पनि आदिवासीको सुविधा प्राप्त गरेको टिप्पणी सुनिन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार आदीवासीहरूको जनसंख्या विश्वको कुल जनसंख्याको पाँच प्रतिशत रहेको छ । भारत र चीनमा एक प्रतिशतभन्दा पनि थोरै छ, तर नेपालमा कुल जनसंख्याको ३४ प्रतिशत हिस्सा ओगटेको सम्पूर्ण जनजाति समुदायलाई आदीवासीको सूचीमा राखिएको छ । जसका कारण बास्तविक सीमान्तकृत आदीवासीहरू ओझेलमा परेका छन् । जबसम्म जनजातिको परिभाषा र आदिवासीको परिभाषालाई एउटै टोकरीमा राखेर विश्लेषण गर्ने चेष्टा जारी रहन्छ तबसम्म नेपालमा आदिवासी दिवस मनाउनु भनेको कर्मकाण्ड मात्रै हो । किनकी नेपालमा जनजाति, खस आर्य र मधेसी गरी तीन वटा समुदाय छन् । यी तीनै वटा समुदायको आआफ्नै थातथलो छ, आआफ्नै भेषभुषा छ, आ–आफ्नै कला तथा संस्कृति छ । यदि सबै जनजाति आदिवासी हुन् भने खस आर्य र मधेसी कसरी आदिवासी होइनन् ? भन्ने प्रश्न ज्यादै पेचिलो छ । किनकी खसान क्षेत्र खसहरूको थातथलो होइन भने कसको हो ? मधेस क्षेत्र मधेसीहरूको थातथलो होइन भने कसको हो ? भन्ने प्रश्नको बस्तुगत उत्तरतर्फ आ“खा चिम्लने प्रयास विभिन्न एनजिओ तथा आइएनजिओले गरेका कारण समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया