पर्यटकको रोजाइमा कोप्रे झरना

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउने गर्छन् । सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । भकिम्लीको दूधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटक पुगेर रमाउने गरेका छन् । स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै एकसयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको स्थानीय बताउँछन् ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा ससाना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिससमेत पुग्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनका समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । काममा व्यस्त मानिस पनि फुर्सत मिलाएर एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कने गर्छन् । स्थानीयका अनुसार कोप्रे छहरामा पहिलेदेखि नै मानिस जाने गर्दथे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दूधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिस पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे ।

विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा गत वर्ष र अघिल्लो वर्ष कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका बीचमा पनि घुम्न जानेको संख्या बढेको थियो । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्द महसुस गर्न पाएको आन्तरिक पर्यटक रचना रिजालले बताइन् । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षातका समयमा निकै ठूलो हुने गर्दछ । यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामकरण गरेका छन् । भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेका समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनाशले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटक बताउछन् । कोप्रे झरनामा कतिपय पर्यटक टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

अहिले त्यहाँ म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्लीलगायतका क्षेत्रबाट प्रायः पर्यटक भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटी धेरै जाने गर्छन् । कोप्रे झरनालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए । उनका अनुसार प्रशस्तै पर्यटकीय सम्भावना हुुदाहुँदै पनि ज्यामरुककोट बत्ती मुनिको अँध्यारो बनेको छ । प्रचारप्रसार र आवश्यक लगानीको अभावमा यी स्थानमा पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा परेका पर्यटकीय सम्भावनाले युक्त ठाउँको विकासका लागि वडा र नगरपालिकाले प्राथमिकताका साथ क्रमिकरूपमा काम गर्ने जनाएको छ ।

प्रतिक्रिया