पाँच महिनादेखी पाटन-धनगढी हवाई सेवा बन्द

बैतडी । बैतडीको हवाईसेवा पाँच महिना देखी बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि बन्द रहेको हो । प्रत्येक बिहीबार पाटन देखी धनगढी उडान भर्दै आएको समिट एयरले अहिले उडान नभर्दा हवाई सेवा बन्द रहेको धनगढी विमान स्थलका प्रमुख रामकृष्ण भट्टले बताए । समिट एयरले यात्रुहरु नपाउँदा उडान भर्न नसकेको बताउने गरेको उनले बताए ।


यसरी लामो समय सम्म हवाई सेवा बन्द हुँदा यहाँका स्थानियहरु समस्यामा परेका छन् । गत चैत यता बन्द रहेको हवाईसेवा असार महिनादेखी सञ्चालनमा ल्याउने तयारी थालेको भएपनि मौसम अनुकुल नहुँदा उडान भर्न असहज हुने भएकाले हवाई सेवा रोकिएको समिट एयर बैतडीका सम्पर्क ब्यक्ती कृष्णदत्त भट्टले बताए ।


चैत बैशाखमा लुक्ला र जोमसोम तिर पर्यटक बढेकाले पाटन देखी धनगढी जहाज उडान हुन सकेको थिएन् । असारदेखी सेवा सुचारु गर्ने तयारी थालेको भएपनि मौसममा आएको परिर्वतनका कारण हवाई सेवा बन्द रहेको भट्टले जानकारी दिए । चैत महिना देखी बन्द रहेका हवाईसेवा दशै देखी पुःन नियमित सञ्चालन गर्ने तयारी भैरहेको उनले बताए ।


यात्रु अभाव र मौसम प्रतिकुलताका कारण पाटन – धनगढी हवाई सेवा बेला बेला अवरुद्ध हुने गरेको छ । गत पुषमा बन्द भएको हवाई सेवा फागुनमा सुचारु भएको थियो । एक महिना सञ्चालन आएको हवाई सेवा फेरी चैत १० गते देखी बन्द रहेको छ । पाटन बिमान स्थल झन्डै २६ बर्षपछि २०७७ असोज अन्तिम साताबाट सञ्चालनमा आएको थियो ।

टर्मिनल भवनको काम अन्तिम चरणमा


पाटन विमानस्थलको टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका ईन्जिनियर कबिन्द्र बर्जाचार्यले टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । भवन संरचनाको काम सकिएको र बाँकी रहेको काम ६÷७ महिना भित्र सकिने उनले जानकारी दिए । संरचना निमार्णको काम सकिएको छ , उनले भने फिनिसिङको काम छ , ६÷७ महिना भित्र सकिन्छ । रोयल कन्ट्रक्सन प्रालि धनगढी संग २०७८ श्रावण १५ गते १८ महिनामा टर्मिनल भवन निमार्णको काम सक्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया