भाइरसको इन्क्यासमेन्ट

पहिला रोग बेच्यो, अनि औषधि । आधुनिक अर्थतन्त्रमा यो शैली खुब फस्टाएको छ । मानिसहरू गम्भीर छैनन् । धनका पछाडि कुदिरहेका छन् शरीरलाई लत्याइरहका छन् । निद्रा लाग्दैन, औषधि खान्छन् । शखर खाँदैनन् चिनी खान्छन् र पछि सुगरको औषधि खान्छन् । आफू पसिना निकाल्दैनन् अरूले निकालेको पसिना चुस्छन् । उमेरमा चिल्लो, मासु र मदिरा भकुर्नु भकुर्दछन् अनि प्रेसरको औषधि खान्छन् । बुझ्ने भएपछि पनि अरू बेलामा शरीरको परवाह गर्दैनन् तर जब अरू मरेको देख्दा वा सुन्दा अनि बाँच्न मर्निङ वाक र योग शिविर खोज्दै भौतारिन्छन् । यस्ता मानिसले विश्वलाई स्वस्थ हुने उपाय सिकाइरहेका छन्

मोहनप्रसाद सापकोटा

संसारभर पत्ता लागेका र नलागेका भाइरसको संख्या लाखौँ छ । हरेक मौसममा नयाँ नयाँ भाइरस र तत्जन्य रोगीको संख्या बढिरहेछ । विश्वभरका मन्त्रिमण्डलका मन्त्रिहरूको नाम बरु कण्ठस्थ गर्न सकिएला तर अब जन्माइने रोगको नाम कण्ठ गर्न सकिन्न । भाइरस नयाँ उत्पन्न भएका पनि होइनन्, हुन्छन् तर अहिले नयाँ भाइरस प्राथमिकतामै छैनन् ।

कोरोना पनि नयाँ भाइरस होइन । नयाँ होइन भने किन अहिले यसले तहल्का मच्चायो त ? यसको एक मात्र कारण भाइरस नगदी बनाइएर हो । मानव भाइरसले भाइरसको इन्क्यासमेन्ट गरिरहेको अवस्था हो अहिले । यसको उद्देश्य र लक्ष पछि देखिनेछ जतिखेर हामीसँग कुनै विकल्प बाँकी रहने छैन । हरेक सिजनमा एउटा भाइरस जन्मन्छ हामी कति वटा मात्र खोप किनेर लगाउँदै जाने ? विश्वभर हरेक व्यक्तिको आम्दानीको एउटा ठूलो हिस्सा रोग र औषधी किन्न खर्च भइरहेछ र त्यो रकम केही मुठ्ठीभरका व्यक्तिको हातमा केन्द्रित भइरहेछ । म तथ्यांक पस्कन्न, हरेक नयाँ रोगको औषधि कहाँ कहाँ बन्छन्, त्यसको सेयर ककसको छ, आपैmँ खोज्नुहोस् । खोज्ने क्रममा तपाईंले उपचारका लागि मात्र होइन रोगी बनाउन पनि लगानी भइरहेको तथ्य फेला पार्नु हुनेछ ।

कृत्रिम संसारको एउटा छुट्टै जीवनचक्र हुन्छ । म कृत्रिम कुखुराको उदाहरण दिन चाहन्छु । चल्ला किनेर ल्यायो, हुर्काउन दानापानी, औषधि आदि खुवायो बजारसम्म लगेर बेचियो भने पनि नाफा मिहिनेतको तुलनामा नगण्य हुन्छ । तर अनेक थरी भाइरस देखाएर यस्ता कुखुराको बेलाबेलामा सामूहिक हत्या गरिन्छ । यी सबै उत्पादनदेखि विसर्जनको बिन्दुसम्मका प्रक्रियामा अन्तर्सम्बन्ध हुन्छ र सबै प्रक्रियाको रकम एउटै संस्था वा व्यक्तिलाई गइरहेको हुन्छ ।

मानिसलाई यस्तै कुखुराजस्तै बनाइँदै छ । पहिला रोग बेच्यो, अनि औषधि । आधुनिक अर्थतन्त्रमा यो शैली खुब फस्टाएको छ । मानिसहरू गम्भीर छैनन् । धनका पछाडि कुदिरहेका छन् शरीरलाई लत्याइरहका छन् । निद्रा लाग्दैन, औषधि खान्छन् । शखर खाँदैनन् चिनी खान्छन् र पछि सुगरको औषधि खान्छन् । आफू पसिना निकाल्दैनन् अरूले निकालेको पसिना चुस्छन् । उमेरमा चिल्लो, मासु र मदिरा भकुर्नु भकुर्दछन् अनि प्रेसरको औषधि खान्छन् । बुझ्ने भएपछि पनि अरूबेलामा शरीरको परवाह गर्दैनन् तर जब अरू मरेको देख्दा वा सुन्दा अनि बाँच्न मर्निङ वाक र योग शिविर खोज्दै भौतारिन्छन् । यस्ता मानिसले विश्वलाई स्वस्थ हुने उपाय सिकाइरहेका छन्, धिक्कार छ यस्तासँग केही सिकेर स्वस्थ हुन खोज्ने मानव समाजलाई ।
‘कोरोना तस्करीको एउटा औजार हुन सक्दछ’ मैले यो कुरा विश्वभर कोरोना नफैलँदै लेखेँ । मानव शरीर र रोगलाई धन आर्जन गर्ने माध्यम बनाइएको (इन्क्यासमेन्ट गरिएको) देखेर नै मैले यो पूर्वानुमान गरेको थिएँ । अहिले फेरि पनि लेखेँ र सचेत हुन आग्रह गरेँ । यो मूर्खले के लेखेको होला जस्तो लाग्ला बिस्तारै सबै कुरा थाहा पाउनु हुनेछ । खानुहोस् जे जे मन लाग्छ खानुहोस्, पिउनुहोस् जे जे मन लाग्छ पिउनुहोस्, गर्नुहोस् जे जे मनलाग्छ गर्नुहोस्, कमाउनु भएकै छ, घरैपिच्छे औषधि पसल र डाक्टर छँदै छन् । के फरक पर्दछ र ?

हामी जति मात्रामा प्राकृतिकपनमा फर्कन सक्दछौँ उति मात्रामा मेडिकल माफियाको किनबेचबाट जोगिन्छौँ । आगे हजुरहरूको मर्जी ।

आत्मरतीमा नरमाऔँ

हावा नै कोरोनाको फेरेर बाँच्न विवश छौँ त गफ अरू के कुराका गर्नु ? कोरोनाकै गरौँ । सामाजिक सञ्जालमा हामी नेपाली कोरोनासँग लड्ने हाम्रो शारीरिक क्षमताको आत्मरतीमा रमाइरहेछ । हामी यसरी आत्मरतीमा रमाइरहँदा हाम्रा बाउबाजेले पहिला के खान्थे, हामीलाई के खुवाउँदथे अनि अहिले उनी र हामी के खाइरहेका छौँ भन्ने कुरा भुलेजस्तो छ, सायद ।

विषादी मिसाइएका र कृत्रिम खानेकुराको सार उनको र मेरो जिउमा कति छ ? उनको र मेरो आचरण कस्तो छ ? हामी यतिखेर सम्झन पनि चाहँदैनौँ । यो रोगसँग लड्ने क्षमतासम्बन्धी विषय पनि त्यस्तै छ जस्तो ‘नेपाली वीर’ भन्ने विषय अहिले छ । जसले आफ्नो देश जोगाउन लडे ती वीर थिए, जो अहिले देश बेच्नका लागि हारालुछ गरिरहेछन् वा अर्को देश जोगाइरहेछन्, ती कसरी वीर हुन्छन् ? र कसका लागि वीर हुन्छन् ?


नेपाली पनि अधिकांश आधुनिक औषधि (प्रकारान्तरले ब्यापार) बाट बलिया देखिएको अवस्था छ । निश्चित उमेरपछि कुनै न कुनै रोगको नियमित औषधि खाइ नरहेका नेपालीको संख्या कम छ । कोरोनाले सबभन्दा पहिला तिनलाई भ्याउँदो रहेछ । औषधि नखाए पनि घुमाएर विष खाइरहेका नेपालीहरूको संख्या पनि कम छैन, कोरोनाले तिनलाई पनि निशाना बनाउँदो रहेछ । आत्मसन्तुष्टि लिनु र यथार्थमा धेरै भिन्नता छ, तीन पुगिसके, तैपनि आफ्नो सोचमा लेश मात्र पनि हाम्रो परिवर्तन भएको छैन ।

आफ्ना सन्तानलाई पूर्वीय दर्शनको ‘प’ पनि सिकाउन असक्षम मजस्ता पाकाहरू अहिले पूर्वीयाको रहनसहन र जीवनशैलीका पक्षमा वकालत गरिरहेका छौँ । प्रकारान्तरले व्यापार गरिरहेका छौँ । शखर र मरीचको सर्वत बोतलका सर्वतले, जौका सातु हर्लिक्सले, मकैभटमास र चिउरा चाउचाउ आदिले, गुन्द्रुक र ढिँडो मरेको जनावरको मःमः र मासुले, भात बासीभातले, मूलको पानीलाई मिनरल वाटरले, लोकल रक्सीलाई महँगा विदेशी वा विदेशी प्रविधिका रक्सीले, प्राकृतिक मासुलाई ब्वाइलर मासुले तथा रैथाने सबै उत्पादनलाई आयातित उत्पादनले प्रतिस्थापन गर्दै आयौँ । यी प्रतिस्थापन गर्नुभन्दा अघि पक्कै पनि हाम्रो शरीरको रोगसँग लड्ने क्षमता उच्च थियो । अब छैन । हजुरबाबाको जति दुःख सहन सक्ने क्षमता बाबुमा थिएन, बाबुको जति ममा छैन र मेरो जति मेरा सन्तानमा छैन । रोगसँग लड्ने क्षमता यसबाट पनि उजागर हुन्छ ।

सामान्य खानपिन र रोजमर्राका गतिविधिमा समेत परिवारभित्र एकरूपता छैन । एउटा चाँडो सुत्छ त अर्को ढिलो, एउटा चाँडो उठ्छ त अर्को ढिलो, एउटालाई बेसार मन पर्दैन त अर्कोलाई जिम्बु, कसैको राती नुहाउने बानी छ त कसैको दिउँसो, कसैलाई साग मन पर्दैन त कसैलाई अरू तरकारी यस्ता सौखिन शरीरलाई कोरोनाले के भनेर छाडोस् ?

भगवान् शिवले आकाशमा बनेका तीन वटा सहर जलाउन सुरु गरे । अनि हतारमा अग्निलाई भने ‘हे अग्नि जाउ मयलाई पहिला भगाउ वा बचाउ, त्यो मेरो भक्त हो ।’ मय शिवलिंग बोकेर भागी जोगिए । हामीसँग त अहिले त्यो उपाय पनि छैन, सबै बेचिसक्यौँ, कसैलाई आफन्त बनाइरहन सकेनौँ, सबैलाई पराया बनायौँ ।

त्यसैले आत्मरतीमा नरमाउँ, हामी जेजसरी विकसित भएका छौँ, त्यसलाई कोरोनाले बक्सिस दिएर छाड्दैन । सुरक्षित बनौँ, सुरक्षित बनाउँ ।
अपेक्षित संकटबाट देश गुज्रिरहेछ । अनपेक्षित संकटको त कुम्भकर्ण (नीति तथा शाषक दुबै) लाई छनकसमेत छैन, हुने कुरा पनि भएन । जब भारतमै कोरोना भर्खर प्रवेश गर्दै थियो तब सचेत र तटस्थ आस्था भएका हामीजस्ता नागरिकले सदाशयतापूर्वक सबै ध्यान खुल्ला सीमानामा केन्द्रित गर्न सरकारलाई सुझाव दियौँ । ६ महिनामा पछि मात्र बिउँझिने कुम्भकर्णका कानमा नागरिकका यी सल्लाह पुग्ने कुरा थिएनन्, पुगेनन् पनि । कोरोना नै नभित्रिए त्यसबाट हुने फाइदा कसरी लिन सकिन्छ र ? भन्ने किसिमका गतिविधि हेर्न, पढ्न र सुन्न पाइयो । यो अवधिमा कसैले सहयोग गरेनन् कसैले भन्छ भने त्यसलाई सोझै राँची लगे हुन्छ । सबै तह र तप्काका नागरिकले पूर्णरूपमा सहयोग गरे ।

सधैँ रबिन्सन क्रुसो बनेर आधुनिक समाज रहन सक्दैन, किनकि पापी पेट घरमै जाकिएर बस्दा पनि अघिल्तिरै तेर्सिरहने गर्दछ र त्यसलाई चित्त बुझाउन बन्द समाजमा असम्भव हुन्छ । यसैले बिस्तारै लकडाउनको भद्र अवज्ञा हुन थाल्यो । नागरिकहरू सरकार र उसका संयन्त्र आत्मरतीका सपनामा सुतिरहेको देख्दा स्वभाविकरूपमा आफ्नो सुरक्षामा विश्वस्त हुन सकेनन् त्यसैले जोखिम मोलेरै भए पनि सडकमा निस्कन थाले । सरकारमै रहेका दल र अरू बकुल्लाभक्तिका विपक्षीहरूले पनि यो परिस्थितिमा धमिलो पानीमा माछा मार्न प्रयास गर्न थाले । के हुन्छ त्यसको कसैले अनुमान गर्न नसक्ने खालको राष्ट्रवाद यही बेला उजागर गरियो । कसैले यसलाई आफ्नो अकर्मण्यता वा असक्षमता लुकाउने औजार बनाउन थाले त कसैले मौकामा चौका हान्ने जुवाको खाल ।

राष्ट्रियताका कुरा गर्नुपर्दा उत्तर, दक्षिण र समुद्रपारीको हण्डी खाएर उग्र राष्ट्रियताका कुरा गर्नेहरूको उल्लेखनीय संख्या हरेक दल र प्रशासनिक संरचना भित्र छ भन्ने कुरा नेपालीहरूले बुझ्दै नगएका पनि होइनन् । तैपनि ती विकल्पतिर अहिलेलाई ध्यान दिन चाहँदैनन्, यही प्रणालीले सबै समस्याको चित्तबुझ्दो तरिकाले समाधान गरोस् भन्ने चाहन्छन् । अपवादमा मनको लड्डु खानेहरू त जहिले जहाँ पनि हुन्छन् नै ।

यथार्थमा कथनी र करणीमा धेरै भिन्नता देखिएको छ । हामीसँग सबै प्रमाण एकत्रित भए भनेर स्याल कराए जसरी कराउनेहरू, मन्त्री र तिनका तलुवा चाट्नेहरूको खूब प्रशंसा गरियो । तिनै अहिले प्रमाण बटुल्न फेरी समिति बनाएर बसिरहेका छन् । कसले यिनलाई चलाइरहेछ त्यो भगवान जानून् । आमनागरिकका मनमा अनेक थरी विभत्स शंकाहरू उत्पन्न हुन थालेका छन् । को कसको एजेन्ट हो र उसको भित्र के खिचडी पाकिरहेछ भन्ने कुरा मुख हेरेर थाहा नहुँदो रहेछ । किन कि यहाँ भएका हरेक परिवर्तनको व्यवस्थापन सीमापारीबाट भएको कुरा हरेक नागरिकले गम्भीर भएर विश्लेषण गर्न थालिसकेका छन् ।

समाचार, सामाजिक सञ्जालमा आएका धारणा र आस्थाका छाप लागेका सुँगे विज्ञहरूका तर्कहरू हेर्दा अहिलेको परिवर्तनको स्थिरताका लागि गुणस्तर बढाउनतिर भन्दा पनि परिवर्तन गराउन लिइएको बैना पचाउनमा नै साम, दाम, दण्ड र भेद बढी खर्च भइरहेको देखिन्छ ।
भोलि के हुन्छ कसलाई थाहा छ र, ले भाइ सकेको गर (?) भनेर नै दुईतिहाइको सरकारले पनि केही लछारपाटो लाउन सकेन । विपक्षीको त के आस गर्नु र ?

रामसँग युद्ध सुरु भइसकेको थियो तर कुम्भकर्णको उठ्नलाई ६ महिना बितिसकेको थिएन । रावणले जबरजस्ती कुम्भकर्णलाई बिउँझाउनुपरेको थियो । रावणलाई कुम्भकर्णलाई उठाएर पनि युद्धमा तात्विक भिन्नता केही हुँदैन भन्ने थाहा थियो तै पनि उठाएर युद्ध मैदानमा लड्न पठाए । नेपालीहरू सदियौंदेखि यसरी नै अनेकौँ सपना पूरा हुने आशमा कुम्भकर्ण जन्माउँदै, हुर्काउँदै तिनलाई लड्न पठाउन उठाइरहेका छन् । बेलाबेलामा सडकमा देखिएका गतिविधि पनि यसैको निरन्तरता हुन् । कुम्भकर्णको मात्र संगत गर्नेहरूलाई संसारको सबभन्दा सक्षम र बलियो उही हो जस्तो लाग्नु स्वावाभिक नै हो तर युद्धमा अदृश्य र शक्तिशाली विपक्षी छ भन्ने कुरा धेरैलाई अनुमान नहुँदो रहेछ । कुम्भकर्णलाई पनि अदृश्य शक्तिले नै विशेष प्रयोजनका लागि सुताउने र उठाउने गरिरहेको हुन्छ भन्ने कुराको जानकारी नहुँदो रहेछ ।

म पटकपटक भन्छु यस देशमा भएका कुनै पनि आन्दोलन र परिवर्तन नेपालीलाई उचालेर विदेशीले गराएका परिवर्तन हुन् । मर्न नेपाली मरे तर केही पाएनन् । तिनले जेजति पाए त्योभन्दा धेरै गुना बढी लडाउनेले पाए, लगानी गर्नेले पाए, बैना थाप्नेले पाए । किनकि परिवर्तनले यथास्थितिलाई निरन्तरता एक दिँदैन, दुई दिँदैन, तीन दिँदैन ।

राणाहरूले गलत गरे भनियो, कुनै राणालाई आरोप प्रमाणित गरेर कारबाही गरिएन उल्टो तिनलाई नै समेटेर सात सालको परिवर्तनलाई अगाडि बढाइयो । त्यसैगरी १७ सालमा बहुदलले खराब गरोे भनियो तर कसैलाई पनि आरोप प्रमाणित हुने गरी कारबाही गरिएन । यसैगरी बहुदल वा गणतन्त्र आउँदा पनि अगिल्लो शासन व्यवस्था र त्यसका सञ्चालकमा खोट देखाइयो तर कसैलाई पनि आरोप प्रमाणित गरेर कारबाही गरिएन । यसरी हरेक परिवर्तनपछि त्यसभन्दा अगिकै प्रणाली र व्यक्तिलाई गुरु थापेर आजसम्म हाम्रो देश चलिरहेछ । सात साल, ०१७ साल वा ०४६ सालमा अरू कसैको विरोध गर्नेहरू नै अहिले अरू कसैको विरोध गरेर बसिरहेका वा गर्न सिकाइरहेका देखिन्छन् । काम गरेर होइन विरोध गरेर टिक्ने आदत बसाइएको छ ।

व्यवस्था साध्य होइन साधन हो । त्यसलाई चलाउनेको संस्कारमा आमूल परिवर्तन नहुँदासम्म मानिसहरू विकल्पका बारेमा सोचिरहन्छन् । यो क्रमलाई यसरी विश्लेषण नगर्ने हो भने ‘सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने’ र केही हदसम्म सही भएको विचारधारासमेत धराशायी भयो भने अहिलेको निर्विकल्प व्यवस्था पनि टिक्ने छैन । विश्लेषण र आचरणमा हामीले सुधार गरेनाँै भने यसपछि कुनै व्यवस्था आए त्यो पनि टिक्ने छैन । एउटा व्यवस्था ५० वर्ष पनि नटिक्नु भनेको व्यवस्थाको दोष होइन, चलाउनेहरूको दोष हो ।

कोरोना, गनगन

फेरि कोरानाको लहर देखा पर्दैछ । त्यसैले बिहानै उठेँ र कोरानालाई नमस्कार गरेँ । किन नगरौँ ? आँखाले त्यही देखिरहेछ, कानले त्यही सुनिरहेछ, नाकले त्यही सुँघिरहेछ, जिभ्रोले त्यही चाखिरहेछ, मनमस्तिष्क सबै कोरोनामय बनेका छन् । जेकुरा ‘मय’ हुन्छ त्यसलाई नमस्कार नगरेर कसलाई नमस्कार गरौँ ? पृथ्वीमा कोरोना सबैलाई अहिले एकछत्र बहाना बनेको छ । अरू उदाहरण के दिइरहनु ? सन्तानलाई दूध चुसाउन मन नगर्ने आमालाई समेत कोरोना बहाना बनेका समाचार आइरहेछन् ।

मलाई लाग्दैन कोरोना रोग मात्र हो वा भाइरस मात्र हो । यसभित्र अनेकौँ रहस्य छन् आर्थिक साम्राज्यवाद, धार्मिक साम्राज्यवाद, सांस्कृतिक साम्राज्यवाद आदि अनेक कुरा यसभित्र टाँसिएका छन् । कहिलेकाहीँ म चेर्नोबिल आणविक दुर्घटना त कहिले भोपाल ग्याँस दुर्घटना सम्झन पुग्दछु । कहिले नापाम बम त कहिले अरू खाले जैविक बम प्रयोग भएका इतिहास सम्झन पुग्दछु ।

भौतिक संसारमा मानिसको अस्तित्व जाँडको कीरा जस्तै हुन्छ । उसले उसलाई खान्छ, फेरी उसले उसलाई खान्छ र अन्तिममा एउटा ढाडी कीरा बाँकी रहन्छ, त्यसलाई विशेष अवसरमा झिकेर सबैलाई खुवाइन्छ खाइन्छ । कोरोना यस्तै एउटा जाँडको कीरा हुन खोजिरहेछ ।

मानिसका कारण पृथ्वीभित्र रहेका जीवाणुहरू बेलाबेलामा मानिसलाई नै संकटमा पार्नेगरी सक्रिय हुन्छन् । तर यो कोरोना भाइरसको सक्रियतालाई लिएर विश्वभर अनेकौँ शंका उत्पन्न भएका छन् । पहिले १०÷१५ वर्षअघि जहाँ यो भाइरसको अनुसन्धान हुन्थ्यो त्यो संस्था बन्द गरिएको छ । कोरोनाको महामारी फैलनुअघि नै योजना बुनिएका छन्, पूर्वानुमान र आयव्ययका आँकडा तयार गरिएका छन् । ‘हेकी हुन्न, चिन्ता गर्नु पर्दैन’ भन्दै भौतिकवादले मानिसको बलि दिइरहेको छ । विचरा मानव, भाइरसको कृत्रिम विस्तारबाट नराम्ररी पीडित हुँदै गइरहेको छ । भौतिक संसारमा कोरोनापछि अर्को भाइरस आउन तैयारी हालतमा हुन्छ, ऊ यो कुरा कहिल्यै बुझ्दैन । अहँ बुझ्दैन । सायद उसलाई बुझ्न फुर्सद पनि छैन । बलिको लागि तयार पारिएका जनावर एकछिन अघिसम्म पनि घाँस खुवाइरहेका हुन्छन्, खाइरहेका हुन्छन् । पंक्षीहरू दाना खुवाइरहेका हुन्छन्, खाइरहेका हुन्छन् । तिनलाई मलाई बलि इिँदै छ भन्ने कुरा के थाहा ?

गफै त हो

नेसनल जियोग्राफी च्यानलका प्रस्तुतिहरू हेर्दछु । बाघ, सिंह वा चितुवाले विभिन्न खाले साना ठूला जनावरको शान्तिलाई दिक्कलाग्दोसँग खलबल्याइरहेको हुन्छ । चिल वा बाज देखेपछि सानातिना खरायो, मुसा, सर्प आदि जीव भागाभाग गरेर दुलोतिर पसिरहेका हुन्छन् । समुद्रमा सार्क आएको देखेपछि अन्य माछा वा चलचर जीव बाँच्न सकेको उपाय गरिरहेका हुन्छन् । अहिले आफूलाई ईश्वर ठान्ने जीवको हालत यस्तै जीवजस्तुसरह भएको छ, ऊ कोरोनाबाट भागिरहेछ, अभिमानपूर्वक भागिरहेछ । ऊ डराएको छैन भनिरहेछ तर ऊ लुकेको घ्याम्पोचाहीँ बाहिरबाटै कामिरहेछ ।

धनप्रधान विश्व अत्तालिएको छ, शरीरलाई कम र धन तथा स्वतन्त्रतालाई बढी महत्व दिने समाज किंकर्तव्यविमूढ भएको छ । यस्तो अवस्थामा पनि मानिसको सोच कसरी बाँचौँ र बचाऔँ भन्नेतिर भन्दा पनि नाफा र घाटामै सीमित छ । जबसम्म धन र स्वतन्त्रतालाई भन्दा शरीरलाई महत्व दिन मानिस चाहँदैन तबसम्म कोरोनाले छाड्ने लक्षण देखिँदैन । हजूरहरू के सोच्दै हुनुहुन्छ ? आफूलाई भइरहेको नाफा, घाटाका बारेमा कि आफ्नै शरीरका बारेमा सोच्दै हुनुहुन्छ ? पहिलो सोच त्याग्नुहोस् र दोस्रो सोचलाई प्राथमिकतामा राख्नुहोस् । जतिसुकै धन कमाए पनि कसैलाई पैसाको बाकसमा हालेर गाडेको वा पैसा बालेर जलाएको थाहा छैन, न त मर्नेले आफूले कमाएको पैसा सँगै लिएर गएको नै आजका मितिसम्म थाहा छ, भोलिका दिनमा भन्न सकिन्न । ‘शरीरमाध्यं खलु सर्व साधनम्’ ।

खतरनाक त खतरनाक नै हुन् तर कुन बढी ?

कोरोनाले रूप बदल्दै गएका समाचारले विश्व झन् बढी त्रसित छ । विश्व किंकर्तव्यविमूढ हुँदै गइरहेछ । तैपनि मृत्युसँग मानिस संघर्ष गरिरहेछ । काल (समय) को उद्देश्य पूरा भएपछि समाधान पनि निस्किएला नै । अभिमानी विश्व यसरी नै घिस्रिरहेछ । उसका ३२ वटा दाँतमा एक÷दुई वटा मात्र बाँकी छन् तै पनि ‘लौ अब हान् त अनि जान्या छु’ भनिरहेछ ।

आफू त सनातन महामारी झेलिरहेको देशको वासिन्दा । हाम्रा आफ्नै पारा छन् । जनताको नाम बेचेर भुइँमा न भाँडामा हुने गरेको खानदानी राजनीति छ । उसलाई पहिले देखिने अर्कै रोग छ, त्यसैले कोरोनाको पीर छैन । कोही राहत लुटिरहेका छन्, कोही पेट्रोलमा मिसाइ रहेछन्, कसैले परिमाण त कसैले परिणाम लुटिरहेछन् । कोरोनाले केही दिन थला पारेर पार्दछ तर यहाँ जीवनभर चुसेर मार्नेहरूको बिगबिगी छ ।

तीन घण्टामा तीनपटक नीति बदल्ने ढुनमुनिएर माटो खान मात्र बाँकी भएको पञ्चमुखी बहुमतको सरकार छ । कार्यकारी प्रमुखको त के कुरा गर्नु । ‘हजूर पजेरो र प्राडो चढ्नुहोस्’ भन्दा लुरुक्क चढ्ने र ‘हजूर यो बंगलामा राज होस्’ भन्दा लुसुक्क पस्ने अति सोझा जबरजस्ती अरूबाट फसाइने गरेका बिचरा नेताहरूको कोरानाको भन्दा ठूलो बथान छ । रित्तो घ्याम्पो जनतालाई भरी छ भनेर देखाउँदै देउसी खेल्न पल्केका अर्थमन्त्री छन् । विगतका चोरलाई देखाएर दिउँसै डाँका गर्ने वरिपरि झिंगा भन्के जसरी भन्किरहने विशाल भजनमण्डली छ ।

समाज पनि त कहाँ कमको छ र ? कुहिएको चामल बाँडेर प्रचारप्रसार गर्ने बलि राजाभन्दा पनि दानीहरूको विशाल समाज छ । हात गोजीबाट नझिकी कौवाका पछिपछि कुद्ने बानी लागेका हामी तमाम जनता छौँ । यस्तो अभेद्य किल्लामा बसेका हामीजस्ता नागरिकले जाबो तुच्छ कोरोनासँग किन डराउनु ?

डाक्टरले नपुगे धामी लाउँला, झाँक्री लाउँला, अन्छाइपन्छाइ गरौँला, भाकल गरौँला, बलि चढाउँला त्यतिले नि नपुगे कांग्रेस लाउँला, कम्युनिस्ट लाउँला, राजा लाउँला । यिनले पनि सकेनछन् भने कि उत्तरतिरको दाइलाई कि दक्षिणतिरको दाइलाई सुम्पिदिउँला । मरी लानु के नै छ र ? चिन्ता गरेर बस्न ।

हावा समेत यहाँ अनुमती नलिई बहन्न यार । डाक्टरले यी कुरा बुझनु पर्दैन ? बोल्नुभन्दा अगाडि अनुमति लिनु पर्दैन ? अरूले त बुझेन बुझेनन्, हजुरहरू जस्ता विद्वानले कोरोना यिनलाई नसोधी आउन सक्दैन भनेर बुझ्नु पर्दैन ? यी तमाम कारणहरूले गर्दा उहाँहरू (?) ले भनेभैmँ नेपालमा कोरोनाले महामारीको रूप लिन सक्दैन, कुनै पनि हालतमा सक्दैन । ….कसैको चित्त दुख्यो कि ? दुःखे दुःखोस् न त ।

अन्त्यमा

कोरोनाका पीडाहरू विश्वभर असरल्ल छन्, समेटी नसक्नु छन् । हाम्रा घरमा पनि कोरोनाले ढोका ढकढकाइरहेको छ । पीडा बढ्नुको प्रमुख रहस्य आत्मसंयमता गुमाउँदै गएको मानव समाज हो । ऊ आत्मसंयमता गुमाउनुलाई स्वतन्त्रता ठान्दछ । उसले जेजस्ता कुरालाई स्वतन्त्रता भनिरहेको छ, त्यो प्रकृतिकै विरुद्ध जान थालेको छ । उदाहरणका लागि पुरुषले पनि गर्भ बोक्न पाउनु पर्दछ, समलिंगीमा पनि बिहे हुनुपर्दछ आदि जस्ता कुरा प्रकृतिलाई दिइएका पीडा हुन् ।

प्रकृतिलाई पूर्वीय दर्शनले सृष्टिको निरन्तरताका लागि प्रमुख तत्व मान्दछ । ऊ विष्णु, शिव र ब्रह्मासमेत प्रकृतिविरुद्ध जाँदा दण्डित भएका उदाहरण दिन्छ । सूर्य, चन्द्र एवं पृथ्वीसमेत प्रकृतिविरुद्ध जाँदा दण्डित भएका प्रसंग सुनाएर मानिसलाई सचेत बनाउँदछ । नेपालीहरू स्वेच्छाले वा बाध्यताले विश्वभर जहाँ जहाँ छन्, अपवादमा बाहेक संयमित छन् । त्यसैले अपवादमा बाहेक सुरक्षित पनि छन् । विश्वले विभिन्न बहानामा नेपालीलाई आआफ्ना देशमा लैजानुका पछाडि पनि हाम्रो आत्मसंयमता प्रधान संस्कृति नै प्रमुख कारण हो भन्ने मलाई लाग्दछ । छाडापन, समाज र अन्ततोगत्वा मानव सभ्यताकै लागि घातक हुन्छ भनेर नसानसामा ज्ञान भएका नेपालीहरू विश्वभर जहाँ भए पनि अरूका लागि अनुकरणीय हुन्छन्, सुरक्षित हुन्छन् भन्ने कुरामा म विश्वस्त छु ।

इमानदारी र स्व–अनुशासन आत्मसंयमताविना असम्भव हुन्छ । भद्दा स्वतन्त्रता जहाँ जहाँ छ, त्यहाँ कोरोनाको प्रहार बढी निर्मम छ । हामीले पनि यहाँ बसेर भद्दा स्वतन्त्रतालाई विकास ठान्न थाल्यौँ भने हामीमाथि पनि निर्मम प्रहार हुन्छ । पूर्वीय दर्शनले दिएकोे जीवनको यो रहस्यमय ज्ञान वा संस्कार नेपालीले विश्वभर सिकाउन्, फैलाउन् अनि विश्वभर छाडापनलाई आत्मसंयमताले प्रतिस्थापन गर्न मद्दत गरुन् भनी सबै नेपालीलाई शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया