बाघको छालासहित चार जना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी नजिकबाट बाघको छाला र हड्डीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका– २ का समिर ओली, कैलालीको चुरे गाउँपालिका–६ का टेकबहादुर रावत, सोही ठाउँका धिरेन्द्र रावत र बैतडीको डिलासैनी गाउँपालिका–२ का राजेन्द्रसिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अवैध किसिमको बाघको छाला ओसार–पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा आर आई टी र ईलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट शिरदेखि पुच्छरसम्मको एक थान बाघको छाला र प्लाष्टिकको कट्टासहित २ किलो हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका चारै जना डोटीको बुडरबाट धनगढीतर्फ आइरहेको सु. प. प्र. ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा सवार थिए ।

जीप रोक्न खोज्दा तत्काल नरोकेकोले शंका लागि रोकेर चेकजाँच गर्दा बाघको छाला र हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला वन कार्यालय कैलाली पठाउने कार्य भइरहेको डिएसपी जोशीले जनाकारी दिए ।

प्रतिक्रिया