ललितकलासम्बन्धी पुस्तक प्रदर्शनी

काठमाडौं । ललितकला विषयमा लेखिएका पुस्तकहरु प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको उक्त प्रदर्शनीमा ललितकलासँग सम्बन्धित विभिन्न विषय एवं खोज–अनुसन्धान गरिएका पुस्तक प्रदर्शनीमा राखिएको छ । नेपाली कलालाई आमपाठकसम्म पु¥याउने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको सो प्रदर्शनीका संयोजक प्राज्ञ रमेशनाथ खनालले बताए ।

उनले कला विद्यार्थी, खोजअनुसन्धानकर्ता, कलापारखी आदिलाई उपयोगी हुने पुस्तक प्रदर्शनीमा रहेको जानकारी दिए । उनले भने, ‘प्रतिष्ठानले पहिलो पटक पुस्तक प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा प्रतिष्ठानबाट प्रकाशित ८० भन्दा बढी पुस्तक, क्याटलग लगायतका विभिन्न विषयमा प्रकाशित पुस्तिका राखिएको छ ।’ प्राज्ञ खनालले नेपालमा प्रचलित कलाका विभिन्न आयाम र तिनको अवस्था बुझ्ने कृति प्रदर्शनीमा रहेको बताए ।

उनका अनुसार लोककला, परम्परागत कला, आधुनिक तथा समसामयिक कलाका विभिन्न पक्षमा केन्द्रित रहेर लेखिएका पुस्तक प्रदर्शनीमा राखिएका छन् । खनालले नेपाली कलाका विभिन्न पक्ष र तिनका बारेमा खोज अनुसन्धान गरी लेखिएका महत्वपूर्ण कृतिसँगै प्रतिष्ठानले गरेका विभिन्न प्रदर्शनीका पुस्तिका –क्याटलग) समेत प्रदर्शनीमा रहेको जनाए ।

प्रदर्शनीको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रतिष्ठानले ललितकलासम्बन्धी पुस्तक प्रदर्शनीको आयोजना गरेर राम्रो कार्यको गरेको बताए । उनले नेपाली कलालाई बुझ्न प्रदर्शनीमा रहेका कृति निकै उपयोगी रहेको भनाइ व्यक्त गरे । उनले भने, ‘प्रतिष्ठानले पुस्तक अनुसन्धान गर्न लगाएर प्रकाशित गरेर उत्तम कामको थालनी गरेको छ । विद्यार्थी एवं सर्वसाधारणले कलासम्बन्धी पुस्तक पढेर लाभ उठाउन सक्नुपर्दछ । साथै प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्छ ।’

प्रतिष्ठानका कुलपति केके कर्माचार्य प्रतिष्ठानले पहिलो पटक पुस्तक प्रदर्शनी गरेको बताउँदै यो कार्य ऐतिहासिक भएको बताए । उनले भने, ‘बजारमा ललितकलासम्बन्धी पुस्तकहरु पाउन गाह्रो छ । कलाकारले कला सिर्जना पो गर्ने हो त, पुस्तक पनि लेख्छन र ? भन्ने आम भनाई रहेको छ । यसलाई चिर्नका लागि पनि पुस्तक प्रकाशन र प्रदर्शनीको आवश्यकता झनै बढेर गएको छ ।’

उनले कलाकारले कला सिर्जनासँगै दस्तावेजका लागि समेत पुस्तक लेख्छन् भन्ने जवाफ प्रदर्शनीले दिएको जिकिर गरे । कुलपति कर्माचार्यले भने, ‘कलाकार, कलाका विद्यार्थी लगायत कलासम्बन्धी अनुसन्धानकर्ता, अध्येता र कलाप्रेमी प्रदर्शनीबाट लाभान्वित हुनेछन् भन्ने आशा प्रतिष्ठानले लिएको छ ।’ प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलालाई बुझ्न प्रदर्शनीले सहयोग पु¥याउने विचार व्यक्त गरे ।

उनका अनुसार प्रदर्शनीमा प्रतिष्ठानले एक दशकभन्दा अघिदेखि हालसम्म प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । कार्यक्रमका संयोजक प्राज्ञ खनालका अनुसार भदौ ४ गतेसम्म चल्ने प्रदर्शनीमा पुस्तक खरिद मूल्यमा ४० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया