हेटौँडा–काठमाडौं जोड्ने भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

उनका अनुसार हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारीसाधन भैँसेमा रोकिएका छन् । उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन सुरु गरिएको छ ।

जिल्लाको त्रिभुवन राजपथ, कान्तिलोकपथमा सबै सावारीसाधन सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया