सफल सामाजिक उद्यमी बन्ने रहर छ

पूर्वमिस नेपाल तथा व्यवसायी अनुष्का श्रेष्ठ

सामाजिक कार्यमा निकै सक्रिय छन्, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ । मिस नेपाल २०१९ की बिजेता हुनु अगाडिदेखि नै समाजसेवामा सक्रिय श्रेष्ठको रोजाइमा पर्यो सिन्धुपाल्चोकको हेलम्बु । त्यहाँ उनले मिस नेपाल भइसकेकपछि शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा केन्द्रित भएर काम गरिन् । उनी मिस नेपाल मात्रै होइनन् मिस वल्र्डमा पनि भिड्दै १२औं स्थानसम्म पुग्न सफल भइन् भने, तीन सब–टाइटलमा नेपाललाई बिजेता बनाउन सफल भइन् । उनी सुन्दरी मात्रै होइनन् पछिल्लो समय व्यवसायी पनि हुन् । उनकै नेतृत्वमा रैथाने नेपाली मिठाइ उत्पादन गर्ने माक्कुसे ब्राण्ड पनि खुलेको छ । माक्कुसे ब्राण्डबाट उत्पादन भएका परम्परागत पुष्टकारी, गुँदपाक, मोका (कफी मिश्रित) गुँदपाक, गुँदपाकबाट बनेको कुकिज लगायतका उत्पादनलाई विश्वबजारमा पु¥याउने उनको योजना छ । उनै पूर्वमिस नेपाल तथा व्यवसायी अनुष्का श्रेष्ठसँग सौर्य दैनिकका लागि केशव भट्टले समसामयिक विषयमा गरेको कुराकानीको सारसंक्षेपः

पूर्वमिस नेपाल बिजेता हुनु पहिलेको दैनिकी र पछिको दैनिकीमा के फरक पाउनु भयो ?


पहिलेको दैनिकी त सामान्य नै थियो । तर मिस नेपालको ताज पाइसकेपछि समयलाई सक्दो सदुपयोग गरौं भन्ने लागेर नै निकै व्यस्त भइँदोरहेछ । समय छोटो छ, के मात्र गरौं ? यो गरौं कि त्यो गरौं ? भन्ने हुँदोरहेछ । एकदमै बढी सक्रिय भइँदोरहेछ । धेरै कुरा सदुपयोग गर्न खोजेजस्तो महशुस भएको छ । कोभिड १९ को कारण मेरो ताजको अवधि १८ महिना भयो । यो समय मेरो जीवनकै महत्वपूर्ण बन्यो । अरु समयभन्दा यो समय यादगार नै रह्यो ।

मिस नेपालको एक वर्ष के को लागि ?


त्यो समयमा जति विज्ञापनमा खेल्यो, जति काम गर्यो त्यो सबै स्पोन्सरकै लागि हो । स्पोन्सरहरुको काम गरिदिनुपर्ने भन्ने हुन्छ । त्यो समयमा विज्ञापन खेलेँ, जुन विषय मेरा लागि अत्यन्तै महत्वपूर्ण र अप्ठ्यारो थियो । अनि मेरो लागि आफ्नै प्रोजेक्ट महत्वपूर्ण थियो ।

त्यो एक वर्षमा के के गर्नु भयो ?


सामाजिक क्षेत्रमै केही गर्नुपर्छ भनेर ठुलो सोच राखेर म मिस नेपाल छिरेको मान्छे हुँ । मिस नेपाल सुरु हुनुअगावै म ग्रामीण भेग सिन्धुपाल्चोकको हेलम्बु पुगेको मान्छे हुँ । ताज जिते परियोजना झन् बढाउँछु नजिते पनि केही त गर्न सक्छु भन्ने सोच थियो । ताज जितेपछि त्यो काम झन् फराकिलो भयो । ताज जितिसकेपछि झण्डै ५० हजार डलर डोनेसनमा खर्च गर्न सफल भयौं । आज तीन वर्ष भइसक्यो अहिले पनि हेलम्बुमा हाम्रो परियोजना जारी छ ।

५० हजार डलर डोनेसनको रकम के–केमा खर्च भयो ?


शिक्षा, स्वास्थ्य र आयआर्जनको क्षेत्रमा त्यो डोनेसन खर्च भयो । पहिलो प्राथमिकतामा शिक्षामा थियो । विद्यार्थीहरु विद्यालय नै नआउने आए पनि बीचमै छोड्ने लगायतका थुप्रै समस्या सुन्यौं । विद्यालय भवन नै थिएनन् । हाम्रो पहलमा कतिपय विद्यालयले भवन पाए । मसहितको टिम त्यहाँ पुगेर त्यहाँको समुदायमा भिज्न खोज्याैं, समस्या जान्न खोज्यौं, गहन रुपले अध्ययन ग¥यौं । प्राथमिकतामा शिक्षालाई नै राख्यौं । शिक्षकलाई तालिम दिने काम गरियो । जसरी हुन्छ बच्चाहरुलाई विद्यालयमा टिकाउने तथा निमित्त विद्यालय आउने बनाउँ हामीले काम गरेका छौं । कक्षा ४ देखि ८ सम्म पढ्न नजिक विद्यालय थिएन । टाढाको विद्यालयमा हिँडेर जान–आउन गाह्रो थियो । त्यही बसेर पढ्न बालबालिकाका अभिभावकसँग खर्च नहुने समस्या थियो त्यो समस्या समाधान गर्न तथा बालबालिकाले पढ्न पाउन भनेर खर्च (छात्रवृत्ति) पनि दियौं ।


त्यसपछि आयआर्जनलाई राख्यौं । यस कार्यक्रमअन्र्तगत कुनै पनि मानिसले जे जानेको छ वा सिक्न चाहेको छ । सिकेर त्यही उत्पादन गर्न लगाउने अवधारणानुसार कतिपयलाई गलैँचा उत्पादनमा सघायौं । त्यहाँ उत्पादन भएका गलैँचाहरु थुप्रै ठाउँमा बिक्रीमा पनि राखेका छौं । मैनबत्ती बनाउने तालिम पनि दियौं, ढुंगा कटाइको तालिम, भूकम्पपछिको पुनःनिर्माणमा इन्टरलकको मेसिनको तालिम दियौं । सिलाइ कटाइको तालिम पनि दियौं । तालिम दिएको हरेक चिज सफल हुन्छ भन्ने नि हुँदैन । सबैभन्दा पछि अहिले हामीले छोरी जन्माउने आमालाई छोरी पढाउन भनेर बाख्रा पनि वितरण ग¥यौं । बाख्रापालनबाट आर्थिक स्तर बढोस् बालबालिकाले पढ्न पाउन भनेर बाख्रा दिएका हौं ।


स्वास्थ्यको क्षेत्रमा हामीले स्वास्थ्य शिविर ग¥यौं । यी सबै कार्यको हामीले हेलम्बु गाउँपालिका वडा ७ को सोलसिङ भन्ने गाँउबाट सुरुवात् गरेको हौं । कोभिडको समयमा विद्यालयहरु बन्द भए । विद्यालय बन्द भएपछि बालबालिकका अब ज्यालादारी गर्न जाने तथा पढाइ छाडेर अरु काममा व्यस्त हुनेस्थिति आउने देखेर डिजिटल माध्यममार्फत पढाउनु पर्छ भन्नेतर्फ हामीले ध्यान केन्द्रित ग¥यौं । ग्रामीण भेगमा इन्टरनेट तथा बत्तीको समस्या थियो । अनलाइनबाट कक्षा लिन रुखको टुप्पोमा बसेर पढ्दै गरेको जेहेन्दार विद्यार्थीको कुरा सुनेपछि हामीलाई यसक्षेत्रमा केन्द्रित हुन थप हौसला मिल्यो । अवसर पाए गाउँमा बस्ने बच्चाहरु पनि पढ्छन होला भन्ने लागेर हामीले डिजिटल माध्यमबाट पढ्न सक्ने वातावरण सिर्जना गर्नतर्फ लाग्यौं । यसैक्रममा हेलम्बु गाउँपालिकाका सातै वडाका ३३ वटै सरकारी विद्यालयका शिक्षकहरुलाई अनलाइन कक्षासम्बन्धी तालिम दियौं ।
सुरुमा परियोजना सानो नै होलाजस्तो लागे पनि गर्दै जाँदा निकै ठुलो हुन पुग्यो । यसमा म झन् सफल भएको महशुस गर्छु किनकी मलाई मिस नेपालको ताजले सामाजिक क्षेत्रमा निकै काम गर्ने अवसर पाएँ ।

हेलम्बु नै किन रोज्नु भयो ?


म त काठमाडौंमा जन्मिएको र हुर्किएकोले गर्दा गाउँ के हो ? कस्तो हुन्छ ? कस्तो जीवनशैली हुन्छ ? भन्ने थाहा नै थिएन । मेरो गाउँ भन्ने नै थिएन । मलाई नजिकैको ठाउँ चाहिएको थियो । काठमाडौं आउन जान पनि सजिलो हुने ठाउँ चाहिएको थियो । साथै कुनै गाउँमा गएर बुझ्न चिनेको मानिस पनि चाहिने र हेलम्बुको एकजना साथी चिनेको भएकाले मैले हेलम्बु नै रोजेँ । उहाँले पहिले पनि त्यहाँ काम गर्नु भएको रहेछ । म त्यहाँ पहिला हेर्नमात्र गएको थिएँ । त्यहाँको भावना बुझ्न पुगें । डोनेसनको विषयमा त्यहाँ के दिनुहुन्छ ? कति दिनुहुन्छ ? भन्ने भावना थिएन । त्यहाँका मानिसको भावना भनेको हामीलाई गरिखान दिनुहोस बरु तालिम दिनुहोस् वा केही फरक गर्न सिकाइदिनुस् भन्ने थियो । हेलम्बुको भावना र मेरो भावना मिलेपछि हेलम्बु नै रोजेकी हुँ ।

तपाईंको परियोजनामार्फत हेलम्बुमा के परिवर्तन आयो जस्तो लाग्छ ?


एक समय यस्तो पनि थियो, मलाई लाग्थ्यो यति काम गरे पनि केही परिवर्तन आएन, अब के गर्ने होला ? खै त परिवर्तन ? भनेर वाक्क दिक्क लाग्थ्यो । मलाई एकजना साथीले सम्झाएको सम्झिन्छु, ‘सयौं वर्ष लागेर जमेको फोहोर तिमी एकजना एकैछिनमा सफा गर्छु भनेर हुँदैन । आत्तिनु हुँदैन ।’ हो यस्तै म समयको प्रतिक्षामा थिएँ । नभन्दै थोरै थोरै भएर परिवर्तन हुँदै गयो । विद्यालय आउन मन नगर्ने विद्यार्थीहरु विद्यालय आउन थाले । विद्यालयमा केही परिवर्तन भएको महशुस हुन थाल्यो ।


हाम्रो परियोजनामार्फत हेलम्बुका बालबालिकामा परिवर्तन भएको कुरा एउटा एनजिओले गरेको छड्के रिर्पोटले देखाएको थियो । त्यो रिर्पोट आएको र छड्के गरेको मैले रिर्पोट आएपछि मात्र थाहा पाएकी थिएँ । त्यो रिर्पोट देखेपछि मलाई बल्ल कामले सार्थकता पाएको महशुस भयो । यो परिवर्तन मेरो लागि ठुलो उपलब्धि थियो । त्यो रिर्पोटले हामीले काम गरेको ठाउँमा बच्चाहरु सफा भएर, सधै विद्यालय आउने, पढाइको गुण्स्तरसमेत सुधार भएको देखाएको थियो ।


दोस्रो, भनेको करिअर एक्सपोजर कार्यक्रम हो । त्यहाँ बच्चालाई सोध्यो भने पहिले ड्राइभर, नर्स, खलासी, मिस्त्री बन्ने भन्नुहुन्थ्यो । त्यो रोजाइँ गलत होइन तर सबैको यस्तै यस्तै खालको रोजाइँ हुन्थ्यो यसले के देखाउँथ्यो भने, बच्चाहरुले त्योभन्दा बढी देखेका छैनन् । जे देख्यो बच्चाले त्यही बोल्यो । हामीले नयाँ कार्यक्रममार्फत बच्चाहरुलाई देखाउनको लागि अस्पताल लग्यौं, एअरपोर्ट लग्यौं, विभिन्न रेडियोेमा लग्यौं थुप्रै ठाउँमा लग्यौं । उहाँहरुमा जहाँ गयो त्यहीं सोध्नुहुन्थ्यो यो कसरी बन्ने ? त्यो कसरी बन्ने भनेर ? ग्राण्डी अस्पतालमा लगेका थियौं नर्स तथा डाक्टर बन्न कति अंक ल्याउनु पर्छ भनेर सोध्नुभयो ? यो नै परिवर्तन हो । हामीले बच्चालाई शिक्षक, डाक्टर, पत्रकार बनाउन खोजेका होइनौं कि उहाँहरुको क्षमता आफैंले बुझेर सही ठाउँमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य हो । गाउँमा जन्मिए पनि सहरमा पढेका तथा बस्ने बराबर सक्षम छु भन्ने आत्मविश्वास बढाउने नै हाम्रो उद्देश्य हो । सुरुमा जाँदा बोल्न नसक्ने बच्चाहरु अहिले यति धेरै सोध्ने जान्ने हुनु नै मेरो लागि परिवर्तन हो ।

मिस नेपाल जस्ता कार्यक्रमहरु विकृत भएको भन्ने गुनासो आउँछ नि ?


दुनियाँमा हरेक मान्छेले हरेक कुरालाई कसरी उपयोग भन्ने हुन्छ । जस्तै, चक्कु राम्रो कि नराम्रो ? तरकारी काट्दा राम्रो होला हात काट्दा नराम्रो होला । त्यस्तै, यो मञ्च पनि सदुपयोग गर्न जाने राम्रै राम्रो नजाने नराम्रो पनि होला । दुव्र्यवहार हुने कपडाले होइन ? यो त मानसिकता हो । मिस नेपाल विजेताको सामाजिक दायित्व हुन्छ । एकदमै ध्यान दिएर काम गरे मिस नेपाल अत्यन्तै सुरक्षित मञ्च हो । मानिसको नियत खराब भयो भन्दैमा मञ्चकै बदनाम गर्न मिल्दैन । यो मञ्च जति सुरक्षित कुनै छैन ।

तपाईंले सञ्चालन गर्नुभएको माक्कुसे के हो ?


सन् २०१९ मा मिस वल्र्डबाट फर्किसक्दासम्म मैले केही गर्न सकेको थिएन । त्यहाँबाट फर्किसकेपछि अब के गर्ने भन्ने थियो । के गरौं, के गरौं भएको थियो ? मैले नेपालमा केही फरक गरेर मलाई माया गर्ने सबैको मन जित्न मन थियो । मेरो शिक्षा बिजनेसतर्फको हो, मिस नेपालको ताज पाएँ, मलाई मन पर्ने व्यक्तित्व विकास पनि हो । सबै क्षेत्रलाई एक गरेर नेपाली मौलिक वस्तुकै केही गरौं कि भनेर कुरा गर्दै थिए ।

मेरो गुरुजस्तै मान्ने उत्तमदाई जो एनएमबी बैंकको निर्देशक पनि हुनुहुन्छ । उहाँले तिमी गुँदपाक, पुस्टकारीको काम गर, हामी सहयोग गछौं भन्नुभयो । मलाई ठिक लाग्यो, मैले अध्ययन गर्न थाले । कसरी गर्ने भन्ने योजना बनाउन १० महिना नै लाग्यो । त्यसपछि माक्कुसे (मौलिक नेपाल मिठाई) भनेर नाम दिएर सुरु गरियो । सन् २०२० तिहारमा हामीले माक्कुसेको स्थापना गरेका हौं । माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुँदपाक, मोका (कफी मिश्रित) गुँदपाक, चकलेट र गुँदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उत्पादन गरिरहेका छौं ।

यसको बजार कहाँ हो ?

यसको बजार नेपाल र नेपालबाहिर पनि हो । हालको लागि हामीले सिकाउँदै छौं । लोप हुँदै गरेको वस्तु उत्पादन गर्न पनि गाह्रो छ । गुँदपाक कसरी बनाउने ? कसरी टिकाउ बनाउने ? भनेर अध्ययन गरेका छौं । बनाउने जनशक्ति पनि कम पाइने भएकाले जनशक्ति उत्पादन गर्नेजस्ता कार्य पनि गर्दैछौ । यसलाई कसरी दिगो बनाउने र निर्यात गर्न कसरी धेरै उत्पादन गर्न सकिन्छ भनेर लागिरहेका छौं । हामी अहिले सिधै निर्यात भनेर गरिरहेका छैनौं तर कोसेलीको रुपमा माक्कुसेको उत्पादन धेरै देशमा पुगिसकेको छ ।

भावी योजना के छ ?

व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो भावी योजना भनेको सामाजिक कार्य नै हो । व्यक्तित्व विकास गराउने, अहिले जस्तै अरु विद्यालयमा पनि काम गर्ने, सिक्ने सिकाउने नै मेरो योजना छ । त्यस्तै, माक्कुसेका उत्पादनलाई अन्तर्रांष्ट्रिय बजारमा फैलाउने योजना छ । नेपालको उत्पादन विश्वभर चिनाउने रहर छ । विश्वका ठुल–ठुला सुपरमार्केटहरुमा माक्कुसेका उत्पादन पुर्याउने रहर छ ।

प्रतिक्रिया