दार्चुला । दार्चुलामा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–२ गराडी बस्ने ३० वर्षिया काली सार्र्कीको उद्दार गरिएको हो । लेकम गाउँपालिका–२ सर्मोली गराडी स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि सुर्खेत पठाइएको प्रजिअ उपाध्यायले बताए ।
गराडी स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब गणेश भट्टका अनुसार सुत्केरी महिला अपांग र कम तौल र उचाइकी छन् । दुई हप्ता पहिले गोकुलेश्वर अस्पतालबाट उपचारका लागि काली सार्र्कीलाई डडेल्धुरा अस्पताल पठाइएको थियो । आर्थिक अवस्था कमजोर भएको कारण घर फर्किएका सार्र्की दम्पत्ती शनिबार विहान साढे १ बजे गराडी स्वास्थ्य चौकी पुगेका थिए । ३४ किलोग्राम तौल र १२५ सेन्टिमिटर उचाइ रहेकी गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धारको लागि लेकम गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको अहेब भट्टले बताए ।
शनिबार दिउँसो १२ बजेर ६ मिनेटमा महिलाले कम तौलको बच्चा पाएपछि लेकम गाउँपालिका र दार्चुला प्रशासनको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार गरिएको लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक अम्बादत्त जोशीले बताए । श्रीमान देबराम सार्र्की, सुत्केरी महिला काली सार्र्की र नवजात शिशुलाई हेलिकप्टरमार्फत दिउँसो सवा २ बजे सुर्खेत अस्पताल पठाइएको उनले बताए ।
प्रतिक्रिया