बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रूपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव ०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । ८१ लाख २१ हजार ३ सय १४ रुपैयाँको सामान भित्रिएकामा निर्यात भने शून्य रहेको हो ।
यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका अनुसार साउन महिनामा भारतबाट ८ लाख ५५ हजार ५ सय २०, भदौमा १० लाख ५३ हजार ९ सय ३ असोजमा, १३ लाख ३४ हजार ९ सय ८३, कात्तिकमा ९ लाख १९ हजार ३ सय ८२, मंसिरमा १० लाख ५५ हजार २२, पुसमा २ लाख ३८ हजार ३ सय ६३ को सामान आयात भएको थियो ।
यस्तै माघ महिनामा ४ लाख ९१ हजार ३ सय ७२, फागुनमा ५ लाख ८४ हजार ३ सय ८२, चैतमा ३ लाख ४ हजार ९ सय ५२, वैशाखमा २ लाख ३३ हजार ८९, जेठमा ४ लाख २९ हजार ५ सय २४ र असारमा ६ लाख २० हजार ६ सय २२ रुपैयाँको सामान भित्रिएको थियो ।
उक्त कार्यालयले गत आर्थिक वर्षमा भन्सार महसुलबाट १६ लाख ३ हजार ८ सय ७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५ सय, मूल्य अभिवृद्धिकरबाट ६ लाख ६३ हजार ४ सय ६८, अन्तःशुल्कबाट १२ हजार ५६ गरी २३ लाख ६६ हजार ८ सय ९७ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा उक्त कार्यालयले ४३ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार ८ सय ९७ मात्रै संकलन भएको हो । अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी वा काठमाडौंबाटै ल्याउने गरेका छन् ।
प्रतिक्रिया