अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष ०७८/७९ सम्म सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा आर्थिक वर्ष ०७९/८० वार्षिक नगर विकास योजना पुस्तक सार्वजनिक गरिएको छ । समीक्षा कार्यक्रममा नगरस्थित विषयगत शाखा र १० वटै वडा सचिवहरूले वार्षिक रूपमा सञ्चालन भएका योजना आयोजना, कार्यक्रम तथा भौतिक र आर्थिक प्रगति प्रस्तुत गरेका थिए । नगरपालिकाको भौतिक प्रगति ८३ प्रतिशत र आर्थिक प्रगति ८० प्रतिशत भएको योजना शाखाका प्रमुख हरिशचन्द भुसालले जानकारी दिए । भुसालका अनुसार लक्ष्य अनुसारको राजस्वसमेत प्राप्त भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख झबिलाल थापाले जनताले अनुभूति गर्ने गरी र सबैले देखिने गरी विकास गर्नुपर्ने बताए । प्रमुख थापाले भने, ‘समग्र विकासको अवस्था हेर्न गाउँ फर्केर हेर्नुपर्छ, भएको विकास तथा निमार्ण कार्य पनि व्यवस्थित र संरक्षण नहुँदा जीर्ण हुने अवस्था आएको छ, सबै कामको समग्र समीक्षासहित अगाडी बढ्नुपर्ने बेला आएको छ ।’ नगरको दिगो विकास र समृद्धिका लागी कृषि र पर्यटनलाई केन्द्र भागमा राखेर काम गर्ने भन्दै प्रमुख थापाले सबै सरोकारवाला पक्ष एक भएर लाग्नुपर्ने बताए ।
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्ने भन्दै सबै पक्ष तथा जनताको सहभागिताबाटै सबै काम अगाडि बढाउने बताए । समीक्षा कार्यक्रममा उठेका सवालको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउतले सबै सरोकारवालाहरूका काम गर्ने इच्छाशक्ति नै कम भएको बताए । अधिकृत राउतले भने, ‘शतप्रतिशत उपलब्धी हासिल गर्न नसक्नुमा अनुभवको कमि भएको छ, कर्मचारीहरूले भएको कामको मात्र सत्य तथ्य यथार्थ प्रगति पेस गर्नुपर्ने हुन्छ, गलत डाटाले सही ठाउँमा पुग्न सकिँदैन, सबैले विकासको लागि सबै पक्ष खिचातानी नगरी आगाडि बढ्नुको विकल्प छैन ।’
समीक्षा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी पत्रकार अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता, हरिशचन्द भुसालको स्वागत मन्तव्य र शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया