बझाङ । बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।
नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारीसाधन आवतजावत भइरहे पनि ठूला सवारीसाधन भने ठप्प छन् ।
गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाडौंलगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन् ।
उक्त घटनाको विषयमा संसद बैठकमा पनि आवाज उठेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद आशाकुमारी बिकले घटनाबारे आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् । त्यस स्थानका जनताले सास्ती भोग्न परेको भन्दै सांसद बिकले सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।
प्रतिक्रिया