खोडपेमा खानेपानीकै समस्या

बैतडी । जिल्लाको पाटन नगरपालिका–८ खोड्पे बजारमा फेरी खानेपानीको समस्या भएको छ । गत शुक्रबार चट्याङले विद्युत्को ट्रान्सर्फमरमा क्षति पु¥याएपछि सिद्धेश्वर खानेपानी योजना अवरुद्ध हुँदा बजार क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

लिफ्ट प्रविधिमार्फत सञ्चालित खानेपानी योजना बेला बेला अवरुद्ध हुँदा उपभोक्ताहरूले सास्ती खेप्नुपरेको स्थानीय दीपक ऐरले बताए । जिल्लाकै मुख्य व्यापारिक क्षेत्रका रूपमा रहेको खोड्पेमा पटकपटक खानेपानी अवरुद्ध हुँदा समस्या हुने गरेको उनले बताए ।

नजिक विकल्पमा खानेपानीका स्रोत पनि नहुँदा झन् समस्या हुने गरेको छ । उक्त योजनाबाट १ सय २५ धाराहरू वितरण भएका छन् । ०६९ सालमा निर्माण सम्पन्न सिद्धेश्वर खानेपानी योजनाका सामानहरू जीर्ण भएकाले पनि पटकपटक अवरुद्ध हुने गरेको स्थानीय नवराज ढाँटले बताए ।

गत असार ३१ गते चट्याङले विद्युत्को ट्रान्सर्फमरमा क्षति पु¥याएको मर्मतका लागि मिस्त्री मगाएको पाटन नगरपालिका–८ का वडा अध्यक्ष एवं सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिश बिष्टले बताए । ‘धनगढीबाट मिस्त्री मगाएका छौँ’, उनले भने ‘छिट्टै खानेपानी फेरि सुचारु हुनेछ ।’

विद्युत् सेवा अवरुद्ध हुँदा खानेपानी योजना पनि अवरुद्ध हुने भएकाले उपभोक्ताहरूलाई समस्या रहेको बताउँदै वडा अध्यक्ष बिष्टले सोलार सञ्चालन गर्न पहल गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया