बैतडी । बैतडीमा बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ ढुङ्ग्राका अन्दाजी ३२ वर्षाीय ललित चुनारा र ५१ वर्षीय गोपिराम चुनारालाई प्रहरीले पक्राउ गरेको हो ।
मानसिक सन्तुलन गुमाएकी २० वर्षीया अपांग युवतीलाई बलात्कार गरेको आरोपमा दुवै जनालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए । युवतीका आफन्तले शनिबार दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
यस्तै बलात्कारको आरोप लागेका बैतडीको पुर्चाैडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कैलालीकी एक मजदुर महिलालाई बलात्कार गरेको आरोप लागेका निर्वतमान क्याम्पस प्रमुख नेगीलाई आईतबार गोठालापानी बजारबाट पक्राउ गरीएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।
गत असार २० गते पानी माग्ने निहुँमा जबरजस्ती करणी गरेको भन्दै ती महिलाले असार २९ गते नेगीविरुद्ध दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो । नेगीले बलात्कारको आरोप लागेपछि गत असार २७ गते क्याम्पस प्रमुखको पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया