सिराहामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी

सिराहा । देशको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी नै पछिल्लो समयमा कमिसन असुलीमा व्यस्त भएको छ । सीमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु कमाउने धन्दामा लाग्दा सीमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक मात्रामा भित्रनुका साथै साना हात हतियारको विगविगी बढेको छ ।

सिराहाको ठाडी, आभेनगर, कचनारी ,बरियारपट्टि, माडरलगायत नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा अवैध समानको तस्करी हुँदै आएको खुलेको छ । सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाको घुमुवासँगैकको सेटिङमा तस्करी हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

उनीहरुले सशस्त्र प्रहरी र सीमा प्रहरी चौकीले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेको पनि दाबी गरेका छन् ।

त्यहाँका व्यापारीहरुका अनुसार एसपीको घुमुवाहरु र बीओपी इन्चार्जले जो तस्करसँग आर्थिक साँटगाँठ छैन भने उसलाई समानसहित समातेर बीओपी र गणमा लगेर उनीहरुको समान बुझाइदिने डरत्रास देखाएर महिनवारीको वार्गेनिङ गर्ने गर्छन् र आर्थिक कुरो मिलिसकेपछि सामातेको समान छोड्ने गरेको स्वयम त्यहाँका व्यापारीहरु बताउँछन् ।

प्रहरीकै सेटिङमा तस्करी भएका कारण अवैध सामानहरुको ओसारपसार तीब्र भएको छ । सिराहाको ठाडी,ब रियारपट्टि र माडरलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ ।

उक्त नाका हुँदै नेपालबाट मदिरा, जुनि लिभरको कस्मेटिक समानहरु र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु तथा भारततर्फबाट भन्सार छलेर ल्याइने कस्मेटिक र खेलकुदका सामग्रीहरु, ईलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, चिनी, तेल, चामल, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तुको तस्करी हुँदै आएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक थापाकै संरक्षणमा तस्करहरुले रातमा मात्र नभई दिनदहाडै भन्सार छलेर सामान ओसारपसार गर्दै आएका छन् ।

सिमामा खटिएको सशस्त्र प्रहरीले नै लक्ष्मी मोहमा परेर तस्करीको बढावा दिएको पाइन्छ । चोरी तस्करी नरुक्नुले सशस्त्र प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया