सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आव २०७९/८० को बजेट पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल पछि बहुमतले पारित भएको हो । यसअघि बजेटमाथि सत्तापक्षकै सांसद र प्रतिपक्षले असन्तुष्टि व्यक्त गर्दै आएकोले बजेटमाथि छलफल हुन सकेको थिएन् । बुधबार प्रदेश सरकारले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै सहमति गरेपछि लगातार अवरुद्ध हुँदै आएको प्रदेश सभा बैठक बसेर बजेटमाथि छलफल भएको थियो । छलफलपछि बुधबार राती बसेको प्रदेश सभा दोस्रो बैठकबाट अन्ततः बजेट पारित भएको हो ।

बजेटमाथिको छलफलमा भागलिने सांसदहरुले बजेट जनमुखि नभएको प्रतिक्रिया दिएका थिए । प्रदेश सभामा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सबैलाई सम्मान गर्ने खालको बजेट नभएको र जनतामा व्यापक असन्तुष्टि रहेकोले सुधार गरेर कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद महेशदत्त जोशीले निश्चित व्यत्तिलाई फाइदा पुग्ने बजेट भएको र घरको सम्पति बाडेजस्तो बाडिएको बताए । त्रुटि सच्याएर विचौलियाको पक्षमा नजाने गरि बजेट कार्यान्वयन हुनेपर्नेमा उनको जोड थियो ।
त्यस्तै नेकपा एमालेका सांसद पठानसिं बोहराले नागरिकको हित,विकास,समृद्धिका लागि बजेट उचित ढंगले नआएको बताए । उनले यो वजेट अघिल्ला बजेटभन्दा सुधार भएर आउनु पर्नेमा त्यसो नभएको बताए ।

बजेटमाथिको छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावलले बजेटमा भएका त्रुटि सच्याएर कार्यान्वयन गरिने प्रतिद्धता व्यक्त गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आव २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया