चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । तत्कालीन समयमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हुँदा सञ्चालनमा ल्याइएको ‘जस आउँछ’ अभियानले प्रहरीभित्रको सुदृढीकरण र व्यावसायिक प्रहरी बनाउन सहयोग गरेको सो कार्यालयको भनाइ छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार जग्गा प्राप्ति तथा भौतिक निर्माण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक शुद्धीकरण, उन्नत व्यवहार र छलफल गरी प्रहरीलाई व्यावसायिक बनाउन यो अभियान सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशमा रहेका काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्लामा यो अभियान सञ्चालनमा ल्याइएको छ । अभियानका क्रममा कार्यालयले रामनगरमा सतनचुली सामुदायिक वनको १० कठ्ठा जग्गा प्राप्ति गरेको छ ।
यस्तै सिन्धुलीको दूधौली र काभ्रेमा कार्यालय स्थापनाका लागि जग्गा प्राप्ति भएको उनले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २१ गतेको निर्णयले रामनगरमा जग्गा उपलव्ध गराएको हो । सरकारको निर्णयसँगै कार्यालयले अस्थायी संरचना निर्माणको काम सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक जिल्लामा छड्ेक तथा नियमित जाँच, कारबाही, चालक र यात्रुसँग पाँच÷पाँच मिनेट, चालक र सहचालकको स्वास्थ्य परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गर्दै आएको छ । विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन, सरोकारवाला निकायसँग मिली ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतनामूलक होर्डिङबोड, सिसिटिभी जडान जस्ता कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
अभियानका क्रममा हालसम्म १ हजार ९ सय ७० जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएकोमा ६ सय २२ जनाको आँखामा समस्या देखिएको थियो । जसमध्ये ४ सय ५७ जनामा उच्च रक्तचाप तथा मधुमेहको समस्या देखिएको छ । यस्तै सवारी साधनको यान्त्रिक परीक्षणका क्रममा अवस्था ठिक नभएका १ हजार ८ सय २३ वटा सवारी साधनलाई कारबाही गरिएको छ । गत फागुनबाट सुरु गरिएको अभियानका क्रममा दुर्घटना न्यूनीकरणका लागि ३ हजार २ सय २४ पटक सचेतना कार्यक्रम गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सो क्रममा ३ लाख ६ हजार ८ सय ३८ जनालाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी गराइएको छ । राठौरका अनुसार आर्थिक शुद्धीकरण अभियानअन्तर्गत १२ जना प्रहरीलाई कारबाही गरिएको छ भने एक सवारी चालकलाई पक्राउ गरिएको छ । ट्राफिक प्रहरीलाई घुस दिने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाइएको उनले जानकारी दिए ।
शून्य सहनशीलता कायम गर्न प्रहरीलाई प्रहरीकै निगरानीमा राखिएको छ । सादा पोसाकमा रहेका प्रहरीलाई यात्रु वा चालकको रूपमा पठाएर कर्मचारीको बारेमा जानकारी लिइने गरेको उनले बताए । आर्थिक शुद्धीकरण अभियानका क्रममा प्रहरी कर्मचारीसँग महिनाको एकपटक छलफल गरी उनीहरूको समस्याबारे जानकारी लिने गरिएको छ । ट्राफिक व्यवस्थापनका क्रममा प्रहरीले यात्रु र पीडित पक्षलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनका लागि उन्नत व्यवहार कार्य सुरु गरिएको उनको भनाइ छ । उनले भने, ‘राम्रो मीठो बोलेर पनि सहजीकरण गर्न सकिन्छ ।’ दुर्घटना वा अन्य कारणले भएको समस्या समाधानका क्रममा ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्नसके आमजनमानसले प्रहरीप्रति गर्ने व्यवहारमा परिवर्तन आउने उनको बुझाइ छ ।
छलफलबाट हरेक समस्याको समाधान निस्कन सक्ने भएकाले प्रहरीलाई यस तर्फसमेत केन्द्रित गराइएको कार्यालयले जनाएको छ । विशेष गरी समाजमा हुने अपराध र दुर्घटना न्यूनीकरणका लागि छलफल आवश्यक रहेको उनले बताए । छलफलबाट दिइएका सुझावलाई कार्यान्वयन गर्दै जाँदा समाजमा अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ यस अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।
सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयले जनाएको छ । जसमा मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण, वातावरणीय कारण रहेका छन् ।
मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादकपदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लंघन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो÷ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् ।
यान्त्रिक गडबढी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, बत्ती नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । यस्तै हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणलेसमेत दुर्घटना हुने गरेको राठौंरले बताए । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने मुख्य राजमार्गमा सवारी दुर्घटना बढी भएको पाइन्छ । चालु आर्थिक वर्षमा १ हजार ३ सवारी दुर्घटना मुख्य राजमार्गमा भएका छन् भने ग्रामीण सडकमा ४ सय ८६ र सहरी सडकमा ८७ दुर्घटना भएका छन् ।
यस्तै गत आर्थिक वर्षमा ९ सय ३१ सवारी दुर्घटना मुख्य राजमार्गमा भएको छ । यस्तै आर्थिक वर्ष ०७६÷७७ मा ४ सय ९२ दुर्घटना मुख्य राजमार्गमा भएका थिए । मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म हुने दुर्घटना न्यूनीकरणका लागि यो अभियान प्रभावकारी बनेको प्रहरी उपरीक्षक राठौरले बताए ।
प्रतिक्रिया