कैलाश गाउँपालिका ९ मा सास्ती खेप्दै सेवाग्राही

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ९ मा सेवा लिन आउने सेवाग्राहीले सास्ती र हैरानी खेप्दै फर्किनुपरेको छ । केही दिनयता वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दर्ता भएसँगै वडा कार्यालय अध्यक्षबिहीन भएका कारण सेवाग्राहीले सेवाबाट बञ्चित भएका हुन् । कैलाश ९ का अध्यक्ष भुवनसिं घलानले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिन हेटौंडा आएका कालीका माविका विद्यार्थीहरुलाई सुतिरहेको ठाउँमा जबर्जस्ती करणी गर्ने उद्देश्य राखी प्रवेश गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा विद्यार्थीले जाहेरी दर्ता गरेपछि कार्यालय वडाध्यक्षविहीन भएको थियो ।

प्रहरी कार्यालयमा उजुरी दर्ता भएदेखि कार्यालय वडा अध्यक्षविहीन हुँदा कार्यालयबाट प्रदान हुँदै आएका सेवा प्रभावित बनेको वडा सचिव रामचन्द्र शिवाकोटीले बताए । अध्यक्षले कोही कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नतोकिदिँदा सेवा लिन आउने सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।

वडा कार्यालयमा सेवा लिन लाइनवद्ध सेवाग्राहीले वडा अध्यक्ष नहुँदा काम नभएको गुनासो गरिरहेका थिए । उजुरी दर्ता भएको सुनेका एक सेवाग्राहीले भने, ‘वडा सदस्यले सिफारिस दिन्छन्, भनेर वडा कार्यालय जानुभएको थियो । तर, कार्यालयमा वडा सदस्यलाई जिम्मेवारी नदिएको भन्दै सिफारिस नदिएपछि काम रोकिएको छ ।’

सेवा लिन आएका स्थानीय मनोज बर्तौला वडा कार्यालयबाट सिफारिस लिएर गाउँपालिकामा योजना फरफारकका लागि जाने तयारीमा थिए । तर, सिफारिसका कारण अड्किनु परेको उनको गुनासो छ । बर्तौलाले भने, ‘वडा अध्यक्षलाई सम्र्पक गर्दा लाग्दैन । सदस्यहरुलाई खबर गर्दा हामीलाई जिम्मेवारी दिइएको छैन भन्ने जवाफ आउँछ । यही महिनाभरमा फरफारक गर्नुपर्छ, कसरी गर्ने हो तनावमा छु ।’

उनले थपे, ‘कामदारले पैसा मागेर हैरान पारिरहेका छन् । यति काम भएन भने लाखौंको घाटा हुन्छ । यसको जिम्मेवारी कस्ले लिन्छ ?’ उनी त एक उदाहरण पात्रमात्र हुन । अधिकांश सेवाग्राहीले वडा अध्यक्षकै कारण सास्ती खेप्नुपरेको भन्दै तत्काल सेवाप्रवाह गर्न आग्रह गरेका छन् । वडा अध्यक्ष कहाँ छन् ? भन्ने प्रश्नमा वडाका जनप्रतिनिधिहरु भन्छन्, ‘हालसम्म सम्पर्कमा नआएको र हामीले सम्पर्क गर्दा सम्पर्कमा आउनुभएको छैन् ।’

वडा सदस्य ज्ञानबहादुर घलानले सो घटनाका विषयमा त्यति धेरै जानकार नभएको बताए । उनले भने, ‘मैले पनि सम्बन्धित व्यक्तिसँग लामो समय कुराकानी गर्न पाएको छैन् ।’

वडा सदस्य गौरीमाया ब्लोनले घटनाका विषयमा धेरै थाहा नभए तर आरोपित भनेर जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको भन्नेसम्म थाहा भएको बताइन् । वडा सदस्य बिपीमाया सुनारले अध्यक्ष नराम्रो व्यक्ति नभएको तर राजनीतिक एजेण्डा बनाएको हो कि भन्ने भान भएको बताइन्। उनले भनिन्, ‘अब सत्य छानविन गर्ने काम प्रहरीको हो र न्यायालयको हो ।’

वडा सचिव शिवाकोटीले वडाबाट दिने सेवाहरु घटनादर्ताको काममात्र आफूले गर्दै आएको तर अध्यक्षद्वारा प्रदान गरिँदै आएका विभिन्न प्रकारका सिफारिस, योजना फच्छ्र्यौटलगायत काम प्रभावित बनेको बताए । वडा कार्यालयको सेवा प्रभावित भएको विषयमा वडा सदस्य जानकार रहेको र सहज सेवा प्रदानका लागि प्रयासरत् रहेको भए पनि जिम्मेवारी नतोकिँदा समस्या भएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया