‘शाश्वत आकृति’ जीवनपरक कविता

काठमाडौं । साहित्यकार राधा कार्कीद्वारा लिखित ‘शाश्वत आकृति’ कवितासंग्रह बजारमा आएको छ । मकालु प्रकाशन गृहले प्रकाशन गरेको यो संग्रहमा जीवन र जगत्का शाश्वत विषयलाई चित्रण गरिएको छ । कृतिका बारेमा अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष डा.धनप्रसाद सुवेदीले कवितामा समाजका यथार्थ पक्षलाई उठान गरिएको बताए । उनले कवि कार्कीले जीवन र जगत्का शाश्वत विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको विचार व्यक्त गरे । डा.सुवेदीले भने, ‘विषय, कला र प्रस्तुतिका दृष्टिले कविता राम्रा छन् ।’

प्रगतिशील लेखक संघ (प्रलेस) का केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेतले कवि कार्कीले निकै सुन्दर र भावपरक कविता लेखेको सुनाइन् । उनले कवितामार्फत कविले संसारप्रतिको आफ्नो दृष्टिकोणलाई सार्वजनिक गरेको बताइन् ।

मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले बाउन्न ओटा शीर्षकमा लेखिएका भावमय र मर्मस्पर्शी कविताको संग्रह ‘शाश्वत आकृति’ भएको जनाएका छन् । उनले प्रकाशकीयमा लेखेका छन्, ‘समाज, राजनीति, कुटनीति, प्रकृतिलगायत व्यक्तिका मन, मस्तिष्क, राष्ट्र र समग्र विश्वमा लागेको विकृतिको तुवाँलोले विश्व, मानवतार प्रकृतिको मुहार नै धुमिल बनेको आजको विश्व परिवेशमा हरव्यक्तिले आआफ्नो अन्तरमनको भित्री तहदेखि नै यस्ता धुमिल तुवाँलो हटाउन शाश्वत प्रयत्न गर्नुपर्दछ ।’

संग्रहको भूमिकामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लेखेका छन्, ‘विचार र कलालाई संयोजन गरेर कविता रचना गर्ने सामथ्र्य कवि राधा कार्कीमा विकसित हुँदै गएको र उनी सुन्दर कविता सिर्जना गर्न सक्ने अनेकौं सम्भावना रहेको कुरा यस संग्रहका कविता पढेपछि थाहा हुन्छ ।’ उनले जीवन भोगाइका आफ्ना बहुरंगी अनुभवलाई भावना, कल्पना तथा संवेगद्वारा सिँगारेर सरल भाषा र बोधगम्य विम्बमा उनिएका उनका सबैजसो कविताहरु जीवन र जगत्प्रति सकारात्मक सोच सम्प्रेषण गर्न सफल भएको उल्लेख गरेका छन् ।

कवि महेश प्रसाईले राधाको कवि आफैँसित वार्ता गर्ने जनाउँदै लेख्छन्, ‘राधाको कवि आफैंसित वार्ता गर्छ । पाठकबोधसित वार्ता गर्छ । र बिम्ब परियोजनाबाट वार्ता गर्छ, पात्रसित । पात्राताका माध्यमबाट बिम्बहरुसित ।’ उनले राधाका कवितामा देश, भूगोल, जमिन, जाति, गीत, कोमलता, सीमा, संस्कृति रहेको उल्लेख गर्दै लेख्छन्, ‘ती सबै सांस्कृतिकीहरुमा द्वन्द्वहरु छन् । लहरहरु छन् । ज्वारभाटाहरु छन् । यी उफानहरुबाट मुक्ति प्रदत्तताका लागि उभिएको छ ।’

डा. यज्ञेश्वर निरौलाले कवि राधा कार्कीले नारी चेतना र समाजमा नारीले भोगेका व्यथा र पीडाहरुलाई आफ्ना कविताको मूल कथ्य बनाएको जनाएका छन् । उनी लेख्छन्, ‘कविले कविताका माध्यमबाट समाजबाट कम हुँदै गएको नारी अस्मिताको खोजी गरेकी छन् ।’ उनले विभिन्न मिथकीय बिम्बसमेत प्रयोग गरी लेखिएका कवि राधाका कविताले भावनात्मक गहिराइमा पुगी काव्यात्मक उचाइ स्पर्श गर्ने क्षमता राख्ने उल्लेख गरेका छन् ।
कवि कार्कीले आफूले जीवनमा भोगेका र अनुभव गरेका विषयलाई काव्य रुपमा उधिनेको जनाइन् । उनले संग्रहमा समाज, देश, विश्व र मानवीय परिवेशलाई चित्रण गर्ने कोसिस गरेको बताइन् ।

प्रतिक्रिया