हाम्रो पार्टीमाथि फैलाइएका भ्रम र यर्थाथता

रामप्रकाश पुरी

हामीले देशमा कायम भएको बुर्जुवा गणतन्त्रद्वारा नयाँ जनवादी वा समाजवाद आउँछ भन्ने कुरामा कहिल्यै पनि जोड दिएका छैनौँ । तर कार्यनीतिक रूपमा विद्यमान गणतन्त्रलाई समर्थन गर्दछौँ र त्यसलाई समाप्त गर्न चाहने प्रतिगामी खतराको विरोध गर्दछौँ । यही लाइनलाई आठौँ महाधिवेशनले पनि स्वीकार गरेको छ र आठौँ महाधिवेशनको त्यो लाइनसित मतभेद राख्ने साथीहरूले पनि जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार आठौँ महाधिवेशनको त्यो लाइनलाई कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्दछ ।

हाम्रो पार्टी नेकपा मसाल माथि ३ वटा आशङ्का गरेको देखिन्छ । प्रथम, हामीले यही गणतन्त्रबाट समाजवाद आउँछ भन्ने विचार गरेका छौं । द्धितीय, हामीले पनि प्रचण्डले झैं नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई छाड्ने ठेगान गरेका छौं । तृतीय हामीले हाम्रो पार्टीलाई एमालेमा वा अहिलेको नेकपामा बुझाउँदै छौं । उक्त विषयमा केही प्रकाश हाल्नुपर्ने आवश्यकता देखिन्छ ।

नयाँ जनवादी क्रान्तिको प्रश्नमा नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, भारतको कम्युनिस्ट आन्दोलनमा पनि धेरै नै विवाद चल्दै आएको छ । त्यस सन्दर्भमा मुख्य विवाद यो कुरामा रहने गरेको छ, तत्कालको स्थितिमा त्यसलाई रणनीति बनाउने वा कार्यनीति बनाउने ? त्यसलाई तात्कालिक कार्यनीति बनाउने हो भने त्यसअनुसार सङ्घर्ष र सङ्गठनको रूपलाई पनि बदल्नुपर्छ । त्यसको अर्थ हुन्छ तत्काल सशस्त्र सङ्घर्षको बाटो समात्ने र जनसेनाको निर्माण गर्ने । पूर्व माले र पूर्व माओवादी तथा भारतका नक्सलवादीहरूले पनि त्यसलाई तात्कालिक कार्यदिशा बताएका थिए र सशस्त्र सङ्घर्षको बाटो समातेका थिए । उनीहरूले शान्तिपूर्ण, वैधानिक वा संसदीय बाटोलाई बहिष्कार गरेका थिए ।

हामीले उनीहरूको त्यो नीतिलाई उग्र ‘वामपन्थी’ भड्काव भनेका थियौँ र व्यवहारले हाम्रो विश्लेषणलाई सही सावित गर्यो । पछि ती सबैले एक वा अर्को प्रकारले दक्षिणपन्थी दिशा समात्दै गए । अहिले नेपालमा बैद्यहरूले पनि नयाँ जनवादी क्रान्तिलाई तात्कालिक कार्यदिशाका रूपमा अगाडि सारेका छन् । उनीहरूको त्यो नीतिले उग्र ‘वामपन्थी’ भड्कावको रूप त लिएको छैन, तर ‘वामपन्थी’ सङ्कीर्णतावादी दिशा भने अवश्य लिएको छ । त्यही वामपन्थी सङ्कीर्णवादी नीतिअनुसार उनीहरूले देशमा कायम भएको गणतन्त्र वा संविधानलाई पूरै अस्वीकार गर्दछन् र तिनीहरूलाई प्रतिक्रियावादी बताउँछन् । तर हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिको नारालाई छाडेको छैन ।

तैपनि त्यसलाई रणनीतिक रूपमा लिएको छ र त्यसका लागि आधार तयार पार्ने कार्यमा जोड दिन्छ । रणनीतिक रूपमा हामीले देशमा कायम भएको बुर्जुवा गणतन्त्रद्वारा नयाँ जनवादी वा समाजवाद आउँछ भन्ने कुरामा कहिल्यै पनि जोड दिएका छैनौँ । तर कार्यनीतिक रूपमा विद्यमान गणतन्त्रलाई समर्थन गर्दछौँ र त्यसलाई समाप्त गर्न चाहने प्रतिगामी खतराको विरोध गर्दछौँ । यही लाइनलाई आठौँ महाधिवेशनले पनि स्वीकार गरेको छ र आठौँ महाधिवेशनको त्यो लाइनसित मतभेद राख्ने साथीहरूले पनि जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार आठौँ महाधिवेशनको त्यो लाइनलाई कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्दछ । यद्यपि पार्टीको विधान र अनुशासनमा रहेर उहाँहरूले आफ्नो मतभेदलाई चलाउन सक्नु हुन्छ र नवौँ महाधिवेशनमा आठौँ महाधिवेशनले पारित गरेको नीतिलाई बदल्नको लागि पनि अन्तरसङ्घर्ष गर्न सक्नुहुनेछ । तर अहिले नै आठौँ महाधिवेशनको लाइनलाई विरोध गर्दै जानु अनुशासनविहीनता नै हुन जान्छ ।

हामीले प्रचण्डको जस्तै नयाँ जनवादी क्रान्तिको कोर्ष पूरा पूरा भएको भनेर कहिल्यै पनि विचार प्रकट गरेका छैनौँ र त्यस अनुसार कार्यक्रम पनि बनाएका छैनौं । नयाँ जनवादी क्रान्तिलाई तत्कालको कार्यनीति नबनाउनुको अर्थ नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई छाड्नु हुँदैन । त्यही प्रकारले हामीले पार्टीलाई नेकपामा बुझाउँदै छौं भन्ने आरोपमा पनि कुनै तथ्य छैन । महाधिवेशन पहिलेदेखि नै हाम्रा विरुद्धमा त्यो आरोप लाग्दै आएको थियो । त्यसपछि एकवर्षको समय बितेको छ । हामीले कोदारी र पूर्व–पश्चिम राजमार्गको राजाको कार्यलाई समर्थन गर्दा पनि हाम्रा विरुद्ध राजा वा पञ्चायतको पक्षमा मिल्दै छौँं भन्ने आरोप लागेको थियो । तर त्यसपछि ३ दशक भन्दा बढी समय बितिसकेको छ । २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था समेतका विरुद्ध नेपाली काँग्रेस समेतसित कार्यगत एकता गर्दा हाम्रा विरुद्ध नेकासित मिल्न खोजेको भन्ने आरोप लागेको थियो ।

त्यसपछि पनि ३ दशकको लामो समय बितिसकेको छ । चुनावमा एमाले वा माओवादीसित हामीले कैयौंपल्ट चुनावी तालमेल गरेका छौं । तर २०७४ सालमा उनीहरुसित तालमेल गर्दा हामीले हाम्रो पार्टीलाई उनीहरुसित नै मिलाउन खोजेको आरोप लागेको थियो । त्यसपछि ३ वर्षको समय बितिसकेको छ । यो कुरा स्पष्ट हुनको लागि अरु ३ दशक प्रतीक्षा गर्नुपर्ने हो कि ? त्यसप्रकारका सबै आशंका, आरोप वा हल्लाहरुलाई हामीले दृढतापूर्वक खारेज गर्दछौँ ।

नयाँ जनवादी क्रान्ति गर्न ठ्याक्कै कति र कस्ता मान्छे चाहिन्छ ? के हामीलाई मान्छे धेरै भएर बेलाबेलामा छटनी गर्न खोजिएको हो ? स्पष्ट भनि दिनुहोस्, मलाई यति जना फलाना, फलाना मान्छे भए पुग्दछ अरूको आवश्यकता छैन । त्यसो हो भने तपाइँलाई नचाहिने जतिले कर्ममा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउलान् वा अन्य कुनै विकल्प सोच्लान् त्यो उनीहरूको कुरा भयो ।

वास्तविकता यो हो कि, हाम्रो पार्टीले फरक मत भएका मध्ये कुनै एकजनालाई पनि कारबाही गर्ने वा हटाउने गरेको छैन र हाम्रो त्यस प्रकारको नीति पनि छैन । तर कसैको पक्ष वा विपक्षमा जे मत भएपनि पार्टीको विधान र नियमअनुसार अनुशासनमा बस्नुपर्छ । पार्टीको विधानमा नै अनुशासनको उल्लङ्घन गर्नेमाथि कारबाहीको व्यवस्था छ । गतकालमा समान विचार वा भिन्न मत भएका पार्टीका कैयौँ सदस्यहरूमाथि कारवाही गर्ने गरिएको छ । त्यो बेला बहुमत पक्षमा भएका दुईजना पीवीएममाथि पनि कारवाही भएको सर्कुलरबाट तलसम्म जानकारी गराइएको कुरा सबैलाई थाहा छ । तर एकपल्ट कुनै बेला फरक मत भएको हुनाले उनीहरूले अनुशासन पालन गर्नुपर्दैन र अनुशासनको जति उल्लङ्घन गरे पनि कारवाही गर्न हुँदैन भन्ने सोचाइ पनि सही होइन ।

विश्वको कम्युनिस्ट आन्दोलनमा पनि पार्टीमा बढी मान्छे भएर होइन, विभिन्न प्रकारका राजनीतिक भड्काव वा गम्भीर प्रकारको अनुशासनविहीनताका कारणले नै बारम्बार पार्टीका सदस्यहरूमाथि कारवाही गर्नुपर्ने स्थितिको सिर्जना हुने गरेको छ । रूसको पार्टीमा मेन्सेभिकहरूसित फुट नभएको भए चीनमा ११–११ पल्ट पार्टीमा फुट नभएको भए, नेपालमा माझी गुटलाई निकाल्न नपरेको भए, पार्टीलाई काफी हदसम्म ती कार्यहरूबाट पुगेको क्षतिबाट बचाउन सकिन्थ्यो । तर के त्यसरी ठूलो सङ्ख्यामा पार्टीका नेता वा कार्यकर्तालाई हटाउनु लेनिन, स्तालिन, माओ वा हाम्रो पार्टीको तेस्रो महाधिवेशनको गल्ती थियो ।

त्यही प्रकारले अहिले पनि हामीले पार्टीका कैयौँ सदस्यहरूलाई पार्टीबाट निष्कासित गर्नु परेको छ । तर उनीहरूका अनुशासनसम्बन्धी गल्ती वा कमजोरीहरूमाथि ध्यान नदिइकन त्यसका लागि पार्टी नेतृत्वलाई मात्र दोष दिनु के सही हुन्छ ? पार्टीको सम्पत्तिमाथि कब्जा गर्ने गोविन्दसिंह थापा वा उनका मतियारहरूलाई पार्टीबाट निष्कासित गर्नु के हाम्रो गल्ती भयो ? यदि त्यसो गर्नु गल्ती हुन्छ भने भविष्यमा पार्टीको सम्पत्तिमाथि हिनामिना गर्ने सबैलाई छुट दिनुपर्ने छ र त्यसका लागि उनीहरूलाई सम्मानित गर्नुपर्नेछ । त्यो अवस्थामा पार्टी कहाँ पुग्ने छ ? अहिले जसले, जस्तो कि उनीहरूको गोप्य ‘दस्तावेज’ बाट प्रष्ट भएको छ ।

पार्टीभित्र सङ्गठित रूपले गुटबन्दी गर्ने, पार्टीभित्र समानान्तर पार्टी वा सम्पर्क केन्द्रको सञ्चालन गर्ने, पार्टीका नीतिहरूका विरुद्ध छद्म वा खुला नामबाट आक्रमण गर्ने तत्वहरुका विरुद्ध हामीले कडा कारवाही गर्नैपर्दछ । तर त्यसो गर्नुको अर्थ फरक मत राख्नेहरूलाई ‘सफाय’ गर्नु अवश्य पनि होइन ।

प्रतिक्रिया