सल्यानमा ६५ प्रतिशत रोपाइँ सकियो

सल्यान । सल्यानमा असारको मध्य सम्ममा ६५ प्रतिशत रोपाइँ सकिएको छ । सिँचाइ तथा रासायनिक मलको चरम अभावका बीचमा पनि किसानहरूले ६५ प्रतिशत रोपाइँ सकेका हुन् ।

जिल्लामा परेको लामो खडेरीका कराण जिल्लाकै मुख्य नदीको रूपमा रहेको शारदा नदीमा पानी सुके पनि किसानहरूले भने रोपाइँ सुक्दै गएका हुन् । लामो खडेरीका कारण किसानहरूको खेतमा धानको ब्याडसमेत सुकेको थियो ।

‘यसपाली त समयमा पानी पनि परेन, न मल नै समयमा पाइयो तर पनि रोपाइँ सकिएको छ’, शारदा नगरपालिकाका किसान धनवहादुर कवरले भने, ‘रासायनिक मल खोज्नसमेत धेरै ठाउँमा पुगे तर मल नपाएपछि विनामल धान रोपेर सकेका छौँ ।’

अहिले पनि पानीको मुहान भएको ठाउँ र पानी भएको ठाउँमा मात्र रोपाइँ सकिएको कवरको भनाइ छ ।
जिल्लामा प्रमुख बालीको रूपमा रहेको धानखेती असार १५ सम्ममा सकिनुपर्ने हो तर पनि सिँचाइको अभावका कारण समयमा रोपाइँ गर्न नसकिएको अर्का किसान विमला केसीले जानकारी दिइन् ।

‘लामो खडेरीका कारण खेतमा राखेको ब्याडसमेत सुकेर खेर गएको छ रोपाइँ गर्ने त परको कुरा हो, पानी भएको भए अहिलेसम्म रोपाइँ सकिन्थ्यो, किसान विमला केसीले भनिन् ।

सल्यान जिल्लाभर करिब सात हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ६५ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

समयमा पानी नपर्नु तथा पानीका स्रोतहरू सुक्दै गएको कारण समयमा रोपाइँ कुन नसकेको बस्नेतको भनाइ छ । सिँचाइ सुविधा भएको क्षेत्रमा असारको पहिलो सातासम्म लगभग धान रोपाइँ सकिएको भएको पनि आकाशे पानीको भरमा खेती हुँदै आएको क्षेत्रमा भने अझै रोपाइँ सुरु हुन सकेको छैन ।

कार्यालयका सूचनाअधिकारी रेशमकुमार बस्नेतले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा कम रोपाइँ भएको बताए । ‘गतवर्षको हालसम्म झण्डै ८० प्रतिशत रोपाइँ सकिएको थियो, तर यो वर्ष भने बल्ल ६५ प्रतिशत रोपाइँ भएको छ’, उनले भने ‘रोपाइँ जारी छ, निरन्तर वर्षात भयो भने छिटफुट बाहेकका अधिकांश क्षेत्रमा यसै महिना रोपाइँ सकिन्छ ।’

जिल्लाको बनगाड कुपिण्डे, वागचौर, शारदा, कुमाख, दार्मा, सिद्ध कुमाख, कालिमाटी गाउँपालिका, लगायतका क्षेत्रमा कम रोपाइँ भएको छ । जिल्लाका किसानहरूले बढी मात्रामा रामधान, सुक्खा–३, सुक्खा–१, कञ्चन लगायतका जातको धान रोप्दै आएका छन् ।

प्रतिक्रिया