फेसबुकबाट प्रेम, होटलमा बोलाएर लुटपाट

रौतहट । सामाजिक सञ्जाल फेसबुकमा चिनजान गर्नु, गफ हुनु नौलो कुरा होइन । तर, त्यही सामाजिक सञ्जाल कहिलेकाहीँ अपराधीको अपराध गर्ने माध्यम बन्ने गरेको छ । रौतहटमा पनि सामाजिक सञ्जाल फेसबुकका कारण लुटपाटको घट्ना भएको छ ।

फेसबुकबाट माया जालमा पारेर महिलाको गरगहना लुटिएको छ । फेसबुकबाट माया जालमा पारेर महिलाको चल अचल सम्पति लुटने एक युवकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेपछि यो घट्ना बाहिर आएको हो ।

बाराको प्रसौनी गाउँपालिका–४ खुटुवा प्रसौनी निवासी ३६ वर्षीय महमद रफिक रायभटलाई लुटपाटको आरोपमा प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

महोत्तरीकी एक विवाहित महिलालाई उनले एक साताअघि मात्रै फेसबुकबाट चिनजान गरेकै भरमा चन्द्रपुर–४ स्थित पराठा एन्ड गेस्ट हाउसको एक कोठामा पुर्याई पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ खुवाई महिलाले लगाएका सुनका गरगहनाहरूसहित नगद लुटेर फरार रहेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रायभटलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रफिक रायभटले महिलाको कानको चार आनाको सुनको रिङ दुई थान कानमा लगाएको तीन आनाको सुनको मुन्द्रा पाँच थान, सुनको तिलहरी चार आनाको एक थान, मंलगसूत्र एक तोलाको एक थान गरी २ लाख ८० हजार र उनको पर्समा रहेको १० हजार गरी २ लाख ९० हजार लुटेको जनाइएको छ ।

माया जालमा पारेका रायभटले ती महिलालाई आफ्नो नाम र घरको ठेगाना समेत ढाँटेकोे खुलेको छ । होटलको कोठासमेत ती महिलाको नाममा बुक गर्न लगाएर उनले चार घण्टाको अवधिमा महिलाको साथमा रहेको चल सम्पति लुटन सफल भएका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैयसवारले पक्राउ परेकाको थप अनुसन्धान भइरहेको बताए ।

महिलालाई फेसबुकको माध्यमबाट मायाजालमा पारेपछि रायभटले घुम्न जाने बहानामा महिलालाई होटलको कोठामा पुर्याएर लुटने कार्य यसअघिदेखि गर्दै आएको पाइएको प्रहरी नायब उपरिक्षक जैसवारले जानकारी दिए ।

रायभटले यसअघि झापा जिल्लाको महिलालाई समेत यसैगरी ठगेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए । सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न अपराधी क्रियाकलाप गर्नेहरू सक्रिय रहेकाले सतर्क भएर सामाजिक सञ्जाल प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया