राजु बिदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?

बागलुङ । अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो । भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन् ।

खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका हुन् । भलिबलमा चम्किएका विकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् । विक तिनै खेलाडी हुन् जसले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट बिच भलिबल खेलेका थिए । उनले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरू खेले । पछिल्लो दुई वर्षयता विक गलकोट भलिबल टिमका कप्तान थिए ।

उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिए । ‘हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,’ केसीले भने, ‘क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुप¥यो ।’ प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताए । विकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको पाँच लाख राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो ।

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विकले नै गरेका थिए । उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले ५ लाख ५५ हजार ५ सय ५५ हात पारेको थियो । त्यसअघि संखुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विकले नै सम्हालेका थिए । ‘राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ’ प्रशिक्षक केसीले भने, ‘उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सधँै सम्मानयोग्य रहनेछन् ।’
विकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आमभलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ । विक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन् । ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ । फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, …देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’ लेखेका छन् । गोपाल केसीले लेखेका छन्, ‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक ।’

विक विवाहितसमेत हुन् । उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रूपमा भलिबल खेल्न सुरु गरेका थिए । जिल्ला भलिबल संघका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गरे । संघका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राखे । ‘विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ’, उनले भने, ‘राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।’

प्रतिक्रिया