जी–७ राष्ट्रले ल्याए ६ खर्ब डलरको पीजीआईआई

बर्लिन । जी–७ राष्ट्रका नेताहरूले चीनको बेल्ट एन्ड रोड परियोजनालाई टक्कर दिन ६ खर्ब अमेरिकी डलर परिचालन गर्ने विस्तृत योजना तयार गरेका छन् । द पार्टनरसीप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट (पीजीआईआई) ले गत वर्ष बेलायतमा आयोजित जी–७ सम्मेलनमा घोषणा गरिएको स्किमलाई पुनः सुरुवात गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाले सबैलाई फाइदा पुग्ने बताए । ‘यो कुनै सहायता वा दान होइन,’ बाइडेनले भने, ‘यो लगानी हो जसले सबैलाई मुनाफा दिनेछ ।’ यस योजनामा जी–७ राष्ट्रहरूले पाँच वर्षमा ६ खर्ब डलर उठाउने छन् जसलाई मध्य र न्यून आय भएका राष्ट्रहरूका भौतिक पूर्वाधार आयोजनाहरूमा लगानी गर्न प्रयोग गरिने बताइएको छ । अमेरिकाले अनुदान, फेडेरल फन्ड र निजी निवेशबाट २ खर्ब डलर उठाउने भनेको छ भने युरोपियन युनियनले ३ खर्ब युरो उठाउने प्रतिबद्धता जनाएको छ ।

यो रकमलाई जलवायु परिवर्तनसँग जुध्न, वैश्विक स्वास्थ्य सुधार गर्न, लैङ्गिक समानता हासिल गर्न र डिजिटल पूर्वाधार तयार गर्न खर्च गरिने उल्लेख गरिएको छ । यसमा अंगोलको सोलार परियोजना, सेनेगलको खोप उत्पादन केन्द्र, फ्रान्स र सिंगापुरलाई जोड्ने १ हजार ६०९ किलोमिटर लामो समुद्री टेलिकम्युनिकेसन केबल लगायत रहेका छन् ।

प्रतिक्रिया