आयोजक नेक्सस फाइनलमा

काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा सोमबार फाइनलमा प्रवेश गरेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) लाई २८ रनले पराजित गर्यो ।

जिएचसीएले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको थियो । मूलपानी क्रिकेट मैदानमा नेक्ससले पूरै २० ओभर खेल्दै अलआउट हुनुअघि ११० रन बनायो । नेक्ससका उत्तम थापा मगरले १ चौका र २ छक्का मद्दतमा ४५ बलमा ४४ तथा रोहन साहले २ छक्का सहयोगमा ४७ बलमा ३३ स्कोर गरे । जिएचसीएका अजय यादव र रुपेश यादवले २–२ विकेट लिए ।

जिएचसीए १८.२ ओभरमा ८२ रनमा अलआउट भयो । जिएचसीएका लक्की कठायतले १७ रन बनाए । ‘म्यान अफ द म्याच’ नेक्ससका रोहन साहले ३ विकेट हात पारे । उपाधिका लागि नेक्ससले मंगलबार अपन राधेमाई युवा क्लबसंग खेल्ने छ । आइतबार भएको सेमिफाइनलमा राधेमाईले कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीमाथि ९० रनको सहज जित दर्ता गर्दै फाइनल पुगेको थियो ।

प्रतिक्रिया