दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध विद्रोह

माधवकुमार नेपाल

नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनले राजनीतिक कार्यदिशा सही पारित ग¥यो तर कार्यदिशा सुहाउँदो नेतृत्व छनौट गर्न सकेन । उक्त कार्यदिशाका विरोधी व्यक्ति पार्टीको मूल नेतृत्वमा निर्वाचित भए । उनले उक्त कार्यदिशा कार्यान्वयन गर्नै चाहेनन् । नेकपाको दोस्रो महाधिवेशनपछिको इतिहास दोहोरियो । हामीले महाधिवेशनका निर्णय कार्यान्वयन गराउन निकै कोशिस ग¥यौँ । तर, केपि ओली यति धेरै व्यक्तिवादी र स्वेच्छाचारी भए कि कुनै पनि कुरा नसुनी एकलौटी ढंगले चल्न थाले । उनले पार्टीका क्रान्तिकारी नीति, सिद्धान्त र विचार सबै परित्याग गरे । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगे । पार्टीका स्थापित विधि, पद्धति र संस्थागत प्रणाली सबै ध्वस्त पारियो ।

अध्यक्ष स्वयंले गुटबन्दी गरी आपूmसँग असहमत रहेका कसैलाई पनि कमिटी र जिम्मेवारी दिएनन् । कम्युनिस्ट पार्टी नीति प्रधान हुनुपर्नेमा सम्पूर्ण रूपमा नेता प्रधान बनाइयो । ०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण गरियो । एकीकृत पार्टीका दुई अध्यक्षमध्ये एक केपी ओलीले फेरि पनि पार्टीलाई नीति, विधि, पद्धति र मापदण्डका आधारमा चलाउन चाहेनन् । त्यसबेला पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे । हामीले उनका गलत विचार र व्यवहारको आलोचना गरिरह्यौँ तर उनी गलत बाटोमै हिँडिरहे । यतिसम्म कि पार्टीमा कुनै छलफलै नगरी प्रतिनिधि सभाको विघटन गर्ने जस्तो अलोकतान्त्रिक, असंवैधानिक प्रतिगामी कदम चाल्न पुगे ।

हामी नेकपा (एमाले) मा ०७५ जेठ २ पूर्वको अवस्था कायम भएमा त्यहीँ नै रहने पक्षमा थियौँ । तर ओलीगुट नेकपा (एमाले) लाई विभाजन गरिछाड्ने पक्षमा उभिएकाले एकता जोगाउन सम्भव भएन । हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनः संगठित भएर क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौँ र विद्रोहको बाटो रोज्न वाध्य भयौँ ।

पार्टीको संस्थागत नीति तथा निर्णयभन्दा बाहिर गएर प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिसँग अघोषित सम्झौता, बाह्य शक्तिकेन्द्रसँग अपारदर्शी साँठगाँठ र विदेशी राष्ट्रको एक गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी उनीहरूसँगको सल्लाह र योजनामुताविक संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र अग्रगामी उपलब्धिलाई उल्टाउने उद्देश्यका साथ २०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभा नै विघटन गरेपछि स्थिति गम्भीर बन्यो । यो विषय पार्टीको आन्तरिक विषय मात्र रहेन र अन्तरपार्टी संघर्षको विषय मात्र भएन । विषय अब संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना र संविधानले निर्दिष्ट गरेअनुसार समाजवादको दिशामा मुलुकलाई कसरी अगाडि बढाउने भन्ने भयो नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास कसरी गर्ने भन्ने प्रश्न पनि खडा भयो ।

यस्तो परिस्थितिमा हामी केपी ओलीले मुलुकमाथि थोपरेको प्रतिगमनका विरुद्ध मैदानमा उत्रियौँ । प्रतिगमन विरोधी आन्दोलनमा आमनेपाली जनता, लोकतन्त्र पक्षधर राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पेसाकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी सबै संलग्न भए । लोकतन्त्रको रक्षार्थ उठेको प्रतिगमन विरोधी आन्दोलन राजनीतिक रूपमा एक्लिँदै गएका र हिन्दूवादी तत्वसँगसमेत साँठगाँठ गरेका केपी ओलीले नेतृत्व गरेको सरकारको दमनचक्रलाई चिर्दै अगाडि बढ्यो । आन्दोलन चलिरहेकै अबस्थामा ०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना गर्ने फैसला ग¥यो ।

सर्वोच्च अदालतको ०७७ फागुन ११ को फैसला पश्चात पनि केपी ओली पछाडि हटेनन् । उनको दक्षिणपन्थी अवसरवादीद्वारा निर्देशित पड्यन्त्रकारी यात्रा जारी नै रह्यो । त्यसैबीच ०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता भंग गर्ने निर्णय गरेपछि उनको षड्यन्त्रकारी यात्रा झनै अगाडि बढ्यो । उनले ०७७ फागुन २६ मा आफ्नो गुटको बैठक राखेर नेकपा (एमाले) मा विभाजन ल्याउन निर्णय गरे । पुनःस्थापित प्रतिनिधिसभाले आफूलाई विश्वासको मत नदिएपछि उनले फेरि चरम अलोकतान्त्रिक एवं प्रतिगामी कदम चाल्दै ०७५ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे । हामीले उनको त्यस प्रतिगामी कदमका विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यौँ र स्वयं उपस्थित भएर सनाखतसमेत ग¥यौँ । सर्वोच्च अदालतबाट ०७८ असार २८ मा प्रतिनिधिसभाको दोस्रोपटक पुनःस्थापना भएपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत पनि दियौँ । तैपनि हामी गठबन्धन र सरकारमा सामेल भएका थिएनाँै । ०७५ जेठ २ पूर्वको अवस्था कायम भएमा एमालेमै रहने पक्षमा हामी थियौँ । तर, ओली गुट नेकपा (एमाले) लाई विभाजन गरिछाड्ने पक्षमा उभिएकाले एकता जोगाउन सम्भव भएन । हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनः संगठित भएर क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौँ र विद्रोहको बाटो रोज्न वाध्य भयौँ । हामीले निम्न निष्कर्षका साथ विद्रोहको बाटो रोजेका थियौँ ।

एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले माक्र्सवादी–लेनिनवादी अर्थात द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अँगालेको हुनुपर्दछ । त्यो पार्टी समाजको आमूल परिवर्तनको पक्षमा सदैव क्रियाशील रहेको हुनुपर्दछ । त्यसले समाजका आमश्रमजीवी वर्गको पक्षमा निरन्तर काम गरिरहेको हुनुपर्दछ । त्यसले मुलुकको सार्वभौमसत्ता आमजनतामा निहित छ भन्ने कुरा आत्मसात गरेर जनादेश अनुरूप चल्नुपर्दछ । कम्युनिस्ट पार्टी आपूmले अँगालेको सिद्धान्तलाई व्यवहारमा उतार्न हरदम लागिपर्नु पर्दछ । माक्र्सवाद–लेनिनवादलाई मुलुकको भूधरातलीय यथार्थ र समाज विकासको स्तरका आधारमा रचनात्मक ढंगले लागू गर्नुपर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीमा हुनुपर्ने यी मुख्य गुण आज केपी ओलीले चलाएको एमाले गुटमा एउटा पनि छैन । त्यसैले त्यो गुट कम्युनिस्ट रहेन ।

त्यस गुटले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अंगीकार गर्ने मान्यता, कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्दछ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धतिअनुसार चल्नु र चलाउनुपर्दछ भन्ने मान्यता तथा कम्युनिस्ट पार्टीमा जनसेवी चरित्र एवं जनपक्षीय आचरण र सभ्य संस्कार हुनुपर्दछ भन्ने मान्यतासमेत परित्याग गरेको छ । त्यसैले केपी ओली गुट जनताको बहुदलीय जनवादी पनि होइन । त्यो गुट व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षीणपन्थी अवसरवादीहरूको एउटा झुण्ड मात्र हो । यस निष्कर्षका साथ एमालेभित्र रहेको क्रान्तिकारी पक्तिलाई नयाँ ढंगले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलको रक्षा एवं विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति काम गर्ने उद्देश्य राखेर हामीले विद्रोह गरेका हौँ ।

यो विद्रोह एक ऐतिहासिक आवश्यकता थियो र यो औचित्यपूर्ण एवं जायज छ । यसबाट नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकास गर्ने कार्यमा कम्युनिस्ट पार्टी र आन्दोलनप्रति आमनेपाली जनतामा नयाँ आशा, विश्वास र ऊर्जा सिर्जना गर्ने कार्यमा र नेपाली समाजको आमूल परिवर्तन गर्ने कार्यमा ठूलो योगदान हुनेछ

हाम्रा केही सैद्धान्तिक अवधारणा

हामीले पार्टी पुनर्गठन अभियान सञ्चालन गरिरहँदा केही निश्चित सैद्धान्तिक अवधारणाका साथ अगाडि बढेका छौँ । सबैभन्दा पहिलो कुरा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप हो । यो नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक दल हो । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि राख्दै आएको नेपाली समाजमा रहेका सामन्ती तथा दलाल नोकरशाही पुँजीवादी र साम्राज्यवादी शोषण दमन र उत्पीडनको अन्त्य गरी जनवादी चरण हुँदै वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिकलगायत सबै प्रकारका विभेदहरूको अन्त्य गरी सामाजिक न्याय र समानतासहितको स्वतन्त्रता तथा आमजनता सुखी एवं समृद्ध भएको समाज अर्थात् वैज्ञानिक साम्यवादी समाजको स्थापना गर्ने उद्देश्यहरू नै यस पार्टीका आमलक्ष्य एवं उद्देश्य हुन् । यो पार्टी ती सवै लक्ष्य एवं उद्देश्य प्राप्तिको संघर्षमा डटिरहन प्रतिबद्ध छ ।

यस पार्टीको तात्कालिक लक्ष्य जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने हो । यो पार्टी सबैखाले प्रतिक्रियावाद, अवसरवाद र संकीर्णतावादका विरुद्धमा र सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ । यस पार्टीको कर्तव्य आमजनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि संघर्ष गर्नु र निःस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु हो ।

यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण, सिद्धान्त र व्यवहारबीच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भीक र सही छन् । तर, माक्र्सवाद कनै जडसूत्र नभएर एक गतिशील वैज्ञानिक सिद्धान्त भएकोले यसको प्रयोग समाजको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक रूपले हुन्छ र हुनुपर्दछ भन्ने नेकपा (एकीकृत समाजवादी) को दृढ मान्यता रहेको छ ।

यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद हो । यसले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्दै समाजवादमा पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समावेशी सहभागिता, जननिर्वाचितः प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन र प्रतिपक्षको संवैधानिक व्यवस्थाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यताप्रति प्रतिबद्ध छ ।

हाम्रो पार्टी जनआधारित कार्यकर्ता पार्टी हो । यसको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको सिद्धान्त हो । जनवादी केन्द्रीयताको मर्म पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ भन्ने हो । यस पार्टीको संगठनात्मक पद्धति व्यक्ति कमिटीको मातहत रहने तथा अल्पमत बहुमतको मातहत रहने, बहुमतले अल्पमतको कदर गर्ने र तल्लो कमिटी माथिल्लो कमिटीक मातहत रहने पद्धति हो । यो पार्टी नेता प्रधान नभई नीति प्रधान पार्टी हो । यस पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्य पद्धति अवलम्बन गरिनेछ ।

यस पार्टीले संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताक सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने र राष्ट्रिय हितको संरक्ष एवं संवद्र्धनमा दृढतापूर्वक क्रियाशील रहने तथा पारस्परिक समानता, सम्मान र हित आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकीलगायत विश्वका सबै देशसँग सुमधुर सम्ब कायम गर्ने मान्यता राख्दछ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धि मार्गमा अग्रसर हुँदै राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधा उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माणमा योगदान गर्न यस पार्टीको दायित्व हो ।

समाजवादसम्बन्धी हाम्रो अवधारणा

समाजवाद समतामूलक समाज निर्माण गर्ने सैद्धान्तिक अवधारणा हो । समतामूलक समाजको अवधारणा धेरै पहिलेदेखि प्रस्तुत हँुदै आएको पाइन्छ । पूर्वमा गौतम बुद्धको संघवाद र पश्चिममा प्लेटोको गणतन्त्रमा यो अवधारणा पाइन्छ । विभिन्न काल खण्डका अनेकाँै विद्वानहरूले समतामूलक समाजसम्बन्धी अवधारणा प्रस्तुत गर्दै आएका थिए । पछिल्लो कालमा आएर त्यही समतामूलक समाजको अवधारणालाई समाजवाद भन्न थालियो । तर, त्यस अवधारणामा समाजमा रहेका कुन कुरा हटाउने र नयाँ के स्थापित गर्ने भन्ने स्पष्ट थिएन उन्नाइसौँ शताब्दीको मध्यकालमा माक्र्स र एंगेल्सले त्यो स्पष्टता प्रस्तुत गरेका थिए । त्यस क्रममा माक्र्सले समाजवादलाई पुँजीवादी र साम्यवादी समाजबीच एउटाबाट अर्कोमा संक्रमण हुने अवस्थाको रूपमा व्याख्या गर्दै त्यो आफ्नै जगमा विकास भएको नभएर पुँजीवादको गर्भबाट निस्किएको हुनाले त्यसका आर्थिक, नैतिक, बौद्धिक हरेक पक्षमा जुन पुरानो समाजबाट आएको हो त्यसका छाप एवं चिन्हहरू रहेकै हुनेछन् भनेका थिए (गोथा कार्यक्रमको आलोचना । माक्र्सपछि अनेकौँ विद्वानहरूले विभिन्न प्रकारले समाजवादको परिभाषा र व्याख्या गरेका छन् ।

ती विभिन्न परिभाषा र व्याख्याको आधारमा हेर्दा समाजवादका अनेक रूप देखिन्छन् । तर, मूल प्रवृत्तिको हिसाबले भने समाजवादका दुईटा धारा मात्र छन् । एउटा प्रजातान्त्रिक समाजवादी धारा र अर्को वैज्ञानिक समाजावादी धारा । यी दुई धाराका बीच रहेका मुख्य भिन्नता के हुन् भने वैज्ञानिक समाजावादले उत्पादनका साधनमाथि निजी स्वामित्वको अन्त्य गर्ने धारणा राख्दछ, प्रजातान्त्रिक समाजवादले त्यस्तो धारणा राख्दैन । प्रजातान्त्रिक समाजवादले सामाजिक सुरक्षाको मात्र पक्षपोषण गर्छ भने वैज्ञानिक समाजवादले सामाजिक न्यायमा समेत जोडदिन्छ । प्रजातान्त्रिक समाजवादले व्यक्तिगत स्वतन्त्रतामा बढी जोडदिन्छ भने वैज्ञानिक समाजावादले समानतासहितको स्वतन्त्रतामा जोडदिन्छ । हाम्रो पार्टीले परिलक्षित गरेको समाजवाद वैज्ञानिक समाजवाद हो हामीले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने भनेका छौँ । त्यो कस्तो हुन्छ ? त्यसका विशेषताहरू के–के हुन् ? त्यसका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक नीतिहरू के–के हुन् ? यी प्रश्नहरूमा पार्टीभित्र गहन छलफल गरी निष्कर्ष निकाल्नु आवश्यक छ ।

हामीले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने भन्दै आएका छौँ । नेपाली समाजको विशेषतामा एउटा यसको भूराजनीतिक विशिष्टता हो, दोस्रो जाति, भाषा, धर्म र संस्कृतिको विविधता, तेस्रो यहाँ वर्गीय मात्र नभएर जातीय र सांस्कृतिक विभेदसमेत हुनु हो, चौथो लोकतान्त्रिक प्रणाली अंगालेको प्राचिन इतिहास हुनु हो । पछिल्लो कालमा निरंकुशता एवं निर्दलीयताका विरुद्ध अविचल रूपमा संघर्ष गरेर आएको ताजा इतिहास हुनु नेपाली समाजको अर्को एक विशेषता हो ।

अहिले हामीले समाजवादका आधार निर्माण गर्न भनेका छौँ । त्यो भनेको यतिबेला नेपाली समाजले भोगिरहेका समस्याको समाधान गर्दै अगाडि बढ्ने कुरा हो । आज नेपाल र नेपालीले भोगिरहेका समस्या हुन् गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यको समस्या, कमजोर एवं परनिर्भर अर्थतन्त्र, भ्रष्टाचार र कमिसनतन्त्र, जताततै बिचौलियाको बिगबिगी, राष्ट्रमाथि बाह्य हस्तक्षेप र वर्गीय, जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विभेद । यी समस्याको समाधान गर्नु नै आजको नेपाली सन्दर्भमा समाजवादका आधार निर्माण गर्नु हो ।

(नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरेको प्रतिवेदन को अंश )

प्रतिक्रिया