३० हजार वर्ष पुरानो म्यामोथ

ओटाबा । क्यानडामा एउटा वुली म्यामोथ फेला परेको छ । उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा उक्त वुली म्यामोथ फेला परेको हो । उक्त म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीमा कार्यरत मजदुरहरूले फेला पारेको समाचारमा जनाइएको छ । बुली म्यामोथ हात्ती प्रजातिको विशाल प्राणी हो । यसको सुँड निकै लामो हुन्छ ।
युकोन सरकारले उक्त म्यामोथलाई सन् २००७ मा साइबेरियामा रुसले फेला पारेको बच्चा म्यामोथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका अमेरिकी मूलका मानिसहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।

‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद् ग्रान्ट जाजुलाले भनेका छन् । युकोन सरकारले पनि उनको भनाईलाई पुष्टि गरेको छ । ‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ,जुन ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया