तीन सयभन्दा बढी घर डुबानमा

पोखरा । शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको हो । यसैगरी पहिरोले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरूपमा क्षति गरेको छ । थप १५ वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । डुबान र पहिराका कारण करिब पाँच सय व्यक्ति विस्थापित भएको जानकारी वडाध्यक्ष मोतिराज तिमिल्सिनाले दिए ।

बस्तीमा बाढी पस्न थालेपछि राती नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति भने हुन पाएन । ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन् । पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पु¥याए पनि मानवीय क्षति भएको छैन’, तिमिल्सिनाले भने ।
घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो । उनीहरू अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षतिको विवरण संकलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको बताए ।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर, पहिरामा बगेर पूर्ण क्षति भएको छ । अर्को एक घर पहिरामा झुन्डिएका अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्माले जानकारी दिए ।

प्रतिक्रिया