सत्तामा बस्नेलाई ईश्वर ठान्ने भ्रम कहिले सकिएला ?

मोहनप्रसाद सापकोटा

तरकारीमा नुन चर्को होस् वा दाल झान्न बिर्सियोस्, बिजुली बत्ती नआओस् वा बढी बिल चढोस्, बाटामा ठेस लागोस् वा गन्तव्यमा नपुगियोस्, सोचेको कुरो वा आँटेको काम पुगोस् वा नपुगोस् बानी लागेपछि सबै कुरामा दोष अरूलाई दिन्छ मान्छे । अबजस्या जिन्दगी बडा खँदिलो हुँदो रहेछ, सबै आरोप खाँदिँदै र खाँद्दै शरीरभित्र कतै जम्मा गर्न विवश हुनुपर्दो रहेछ ।

कान पनि ‘मलाई यति चित्त दुख्या छ र’ भन्छ, नाक पनि त्यसै भन्छ, मुख पनि त्यसै भन्छ, आँखा पनि त्यसै भन्छ, विचरो चित्त भने कहिल्यै दुख्यो भन्न पनि नपाउँदो रहेछ । ‘हे चित्त न चित्त नदुखा’, जसको जसरी जहिले दुखे पनि चित्त आफ्नो मात्र दुख्दो रहेछ, अरूको दुखेको थाहा नहुँदो रहेछ ।

सबैलाई ‘मेरो मुटु पो मुटु अरूको मुटु त पत्थर’ हुँदो रहेछ । सफल हुँदासम्म अगाडि ‘म’ सर्दछ र असफल भएपछि ‘तँ’ । अपवादमा केही मानिस हुन्छन् जसको कहिल्यै चित्त दुख्दैन, अरू केही हुन्छन् जो चित्त दुःखेको नाटक गर्दछन्, केही मानिस त यस्ता पनि हुन्छन् जसको चित्त अरूको चित्त दुख्दा आनन्दित हुने गर्दछ । जे हुनु छ त्यो भएरै छाड्छ, जे नहुनु छ त्यो कुनै हालतमा पनि हुँदैन ।

तै पनि मैले वा तैंले यसो गरेर वा नगरेर यस्तो भयो भन्ने चलन छ । राजनीति पनि एउटा परिवार जस्तै हो, जसरी परिवारका सदस्यहरू आत्मकेन्द्रित भएपछि घर बिग्रन्छ त्यसरी नै नेताहरू आत्मकेन्द्रित भएपछि राजनीति बिग्रन्छ । म परिवारलाई छाडेर ती दुई कांग्रेसी नेतालाई सम्झन पुग्दछु, जसमध्ये एकजना मरिमेटेर लाग्दा पनि प्रधानमन्त्री हुन सकिरहेका छैनन् भने अर्कालाई खान्न खान्न भन्दा पनि प्रधानमन्त्रीको पद दानमै भए पनि आइलाग्ने गर्दछ । शान्त हुँदा कसैले नाम लिँदैन तर जब राजनीतिमा आँधी चल्दछ, लहरहरू उत्ताउला हुन्छन् तब देउवाको नाम अनायाश लहरमा तैरन थाल्दछ । यो संयोग मात्र हो भनी सोच्नु कतै गलत त हुँदैन ?

‘नत्र …’

विदेशतिर पनि त दल छन् प्रतिपक्ष छ, कतै कतै छैनन् पनि । सहमतिको नेपालको जस्तो प्रचलन त्यहाँ छैन । यहाँको सहमतिको सात सालदेखिको इतिहास हेर्नुहोस्, एकचोटी आफ्नै टाउकामा आफैँले खोट्टा हान्नुहोस्, कतै सहमतिको सत्यताको दियो बल्न सक्छ ।

सात सालको सहमति भन्न त राजा, राणा र कांग्रेसबीच भएको भनिएको थियो तर त्यो सहमति भारत, इन्ट इन्डिया कम्पनी र नेपालका स्टेक होल्डरका बीचमा भएको थियो । १७ सालको परिपरिवर्तनमा साझेदारहरू परिवर्तन भएका थिए ।

भारत र चीन प्रमुख भूमिकामा देखिए भने पश्चिमी जगतलाई एनजिओको रूपमा देशभर छरियो तर प्रमुख हिस्सेदार बनाइएन, आवश्यक पर्दा बरु तत्कालीन सोभियत संघको सहयोग लिइयो । त्यसपछिका हरेक परिवर्तनका पृष्ठभूमिमा पश्चिमी र दक्षिणी छिमेकीले आफ्नो निर्णायक हैसियतको खोजी गरिरहेको देखिन्छ । एउटा रमाइलो तर गम्भीर विषय हामीले बेवास्ता गरिरहेका छौँ ।

दासढुंगा र दरबार हत्याकाण्डलाई अहिले एउटा अदृश्य राजनीतिले तर्साउन र भूमिका स्थापित गराउन हतियारको रूपमा प्रयोग गरिरहेको देखिएको छ । कोही जोडिन वा फुट्न यी दुई घटनालाई ‘नत्र…’को शैलीमा प्रयोग गरिरहिएको छ । धेरै टाढा जानु पर्दैन हाम्रा प्रमुख नेताहरूका अभिव्यक्तिलाई एक ठाउँमा राखेर हेर्नुहोस्, सत्यता थाहा हुन्छ ।

अयथार्थ राजनीति नै समस्याको जग हो । राजनीतिलाई अयथार्थ बनाउन देशीविदेशी गिरोहहरूले मज्जाले मलजल गरिरहेका छन् । एकातिर अन्धविश्वासका कारण देश विकास नभएको पनि भन्दछौँ, अर्कोतिर कसैले आएर ‘तेरी आमाको अलच्छिनी अनुहारका कारण तेरो उन्नति नभएको हो’ भनिदिन्छ अनि अत्याधुनिक दिमागहरू पनि आमाको मुखमा लगेर एसिड छ्याप्न थाल्दछन् । जनता अत्यन्त सोझा छन् । जसले जे पनि विश्वास गर्दछन् । परिणाम देख्दछन् र पछुताउने गर्दछन् । अनि सत्ता बल्दछन्, व्यवस्था बदल्दछन् ।

नेपालमा परिवर्तन हुन्छन् त्यसैले नेपालीको नाम लिइन्छ नै, नेपालीहरू नै प्रताडित हुने गर्दछन् नै । तर परिवर्तनका संवाहकहरू ट्रिपल एक्स (तेहरो एजेन्ट) को भूमिका निभाइरहेका छन् । सतहमा कुद्ने र डुंगाजस्तो हिँडेको बाटोको इतिहास बिर्सने नेपालीहरूको बानीले गर्दा नै यहाँ तीन थरी एजेन्टहरूको हालीमुहाली चल्न थालेको छ । बेलाबेलामा हाम्रो राजनीति मिलेको जस्तो वा भाँडिएको जस्तो देखिन्छ तर यथार्थता त्यो होइन, वास्तवमा ती तीन थरी एजेन्टहरू मिलेका वा बिच्केका हुन्छन् ।

आफैँले केही गर्न योजना बनाएको अवस्थामा, त्यो आयोजना कार्यान्वयका सम्बन्धमा आउने सबै खाले समस्याका बारेमा पहिले नै आँकलन र मूल्यांकन गरिएको हुन्छ । तर ‘जे जे आउँछ हाजमोलाले पचाउँछ’ शैलीमा हामी कहाँ एक घण्टा पछिको कुरालाई पनि पूर्वानुमान नगरी निर्णयहरू हुने गरेका छन् । यस्तो तब हुन्छ जब कसैको आदेशअनुसार चल्ने गरिन्छ, कसैसँग भएको गोप्य सम्झौताअनुसार चल्ने गरिन्छ ।

‘मैले हजूरले भनिदिएको माने, अब यस्तो भो, अब के गरौँ हजूर ?’ हाम्रो राजनीतिक निर्णयको इतिहास नै यही प्रश्नको मियोमा घुमिरहेको छ । सात सालको परिवर्तनपछि कोसी बाँध बन्नु, विश्वेश्वरको पालामा हिमालको उत्तरी स्वामित्व गुम्नु, महेन्द्रको पालामा कालापानी गुम्नु, कसैको पालामा के त कसैको पालामा के सम्झौता हुनु वास्तवमा नेपालीको चाहना वा हितलाई केन्द्रमा राखेर कहिल्यै भएका छैनन् ।

यदि ती सम्झौताहरू नेपालीका चाहनाअनुसार भएका हुन्थे भने एजेन्टहरूका बीचमा विवाद नै हुने गर्दैनथ्यो, तीनको नेपालीपनमा विश्वास गरेर आमनागरिकहरू विभाजित नै भइरहेका हुँदैनथे । सुगौली सन्धीदेखि आजका मितिसम्म भएका सबै सम्झौतामा नेपाल ठगिएको छ, एजेन्टहरूलाई फाइदा भएको छ, छातीमा हात राखेर ती सम्झौताका प्रावधान पढ्नुहोस् र यथार्थतासँग लगेर दाँज्नुहोस् ।

महाकालीपछि कोसी उच्च बाँधको कुरा आएको छ । देशको विकास गर्ने ह्याउ हामीसँग छैन नेताको विकास गर्न वा व्यक्तिको विकास गर्न हामी विश्वलाई सिकाइरहेका छौँ । बुढीगण्डकी होस् वा अरू, जुन् जुन् आयोजनामा लगानी बढी हुन्छ, जुन् जुन् आयोजनामा विदेशी स्टेक होल्डरको स्वार्थ बढी हुन्छ, ती ती आयोजनाहरूमा यहाँ विवाद हुन्छ । अरुण तेस्रो आयोजना बनाउन नदिन तत्कालीन एमालेका नेता माकुने र कांग्रेशकी नेतृ शैलजा आचार्यले आआफ्ना मालिकहरूलाई पत्र काटेको कुरा यहाँ सबैले भुल्नु भएको त छैन होला नि ? हामी आमनागरिकहरू अझै पनि विदेशी एजेन्टहरूकै विश्वासमा रगमगिइरहेका छौँ ।

कहिले देउवा र पौडेल मिले भनेर त कहिले ओली र प्रचण्ड अनि कहिले अरू कोही दुई मिले भनेर खुसी भइरहेका हुन्छौँ । कहिले मिलेनन् भनेर खुसी भइरहेका हुन्छौँ । देशको हितमा देउवा, प्रचण्ड र अरू पनि मिले भनेर नेपालीले कहिल्यै सुन्न पाउने छैनन् किनकि नेपालको राजनीति एजेन्ट राजनीति हो मौलिक राजनीति होइन । भित्रभित्रै मिल्नुपर्ने कुरामा मिले पनि एजेन्ट राजनीतिले कहिल्यै जनतालाई मिल्न दिने छैन । अरू कसैका लागि मिलेको जस्तो गरिदिएर देश नबन्दो रहेछ, आफ्नै लागि मिल्नुपर्दो रहेछ ।

भारुण्ड राजनीति

महाभारतको भीष्म पर्वमा एउटा गजबको चराको कथा आउँछ । उक्त चरालाई त्यहाँ भारुण्ड नाम दिइएको छ । त्यसका दुई वटा टाउका तर पेटलगायत अन्य शरीरका भाग भने एउटै थिए । म त्यो चरालाई नेपालको राजनीतिसँग तुलना गर्न रुचाउँछु ।

नेपालका विभिन्न पार्टीहरू कहिले को सँग त कहिले को सँग यसरी नै दुई टाउको एक जिउ भएर राजनीति चलाइरहेका छन् । जाहे आस्था मिलोस् नमिलोस् खाना एउटै पेटमा पुगोस् । अहिले यो भारुण्ड राजनीति भालुको कन्पट बन्दै गइरहेछ । अहिले एउटा टाउकोले निर्णय गर्दछ अर्को टाउकोले फिर्ता लिन्छ ।

यो फल विषादि हो खान हुन्न भन्थ्यो कथामा वर्णित भारुण्ड चराको एउटा टाउको, अर्को टाउकोले मन थाम्न सकेन खाइदियो । परिणाम के भयो, बताइरहन नपर्ला । हाम्रा दलहरू चाहे त्यो राप्रपा होस् वा कांग्रेस वा सत्ता चाख्ने अन्य दलहरू नै किन नहुन्, कहिले मयुरजस्ता, कहिले तित्रा जस्ता त कहिले भारुण्डजस्ता देखिने गर्दछन् । के होला यसको रहस्य ? जति थरी विदेशी प्रभुले काखी च्याप्यो त्यति थरी टाउका भएर पो हो कि ?

झोले

देउताले गरेजस्तै राजाले सबैथोक गर्न सक्छ किनकि ऊ देवताको अवतार हो भन्थे, पत्याउँथ्यौँ । पछि आफ्नै स्वास्नी, आफ्नै छोरा र आफ्नालाई नै थान्कोमा राख्न नसक्ने व्यक्ति कसरी दैवी अवतार हुन्छ भनेर राजालाई शंका गर्न थालियो । यसै बीचमा अरू आए ।

राजा होइन हामी पो दैवी अवतार भन्न थाले । झोलामा हात हाल्थे अनि त्यो झोलाबाट फुत्त हात निकालेर ‘सबै थोक दिन्छु’ भन्थे । राजा र तिनका चाटुकारबाट निराश भएको हाम्रो मन यिनको जादूजस्तो त्यो बोलीमा रमायो । यिनले चाहेको कुरा वरदान दिने वाचा पनि गरे अनि हामी यिनको स्तुति गर्ने भयौँ ।

यहीँ नै हामीले गल्ती गरेछौँ । दैवी शक्ति न राजामा थियो न यी कुनै नेतामा नै थियो । हाम्रो सोच यहीँ नेर पथभ्रष्ट भइसकेछ । अन्तमा राजालाई छाडेर यिनमै ईश्वरभाव देख्ने भएछौँ । एउटा गलत सोचलाई फालेर अर्को गलत सोच हुलेछौँ । राजाको साटो नेतालाई देउता मानेछौँ । बल्छीबाट फुत्केर जालमा फसेछौँ । योग्यता के छ हामीले देउता मान्नेहरूको ? जेल बसेको छ, पुलिसको लठ्ठी खाएको छ, ढुंगा हानेको छ, जलाउन हुने नहुने सबै थोक जलाएको छ, मार्न हुने नहुने सबैलाई मारेको छ, बन्दुक बोकेको छ, उग्र स्वरले अरूको विरोध गरेको छ ।

यहीँनेर हामी सबै चुक्यौँ । हामीले हाम्रा नेतामा सबै गुण हुनुपर्दछ भन्ने सोच बनायौँ उनीहरू पनि आफूमै सबै गुण भएको देखाउन सिक्दै गए । विद्यार्थीदेखि डाक्टरसम्म आफैँ बन्न थाले । आफैँ पढ्न र आफैँ पढाउन थाले । विद्यार्थीदेखि डाक्टरसम्म सबै हराए । सबै तटस्थ योग्यताहरू राजनीतिमा विलीन भए ।

ठेकदार पनि आफैं ठेक्का लगाउने पनि आफैँ, वादी–प्रतिवादी अनि न्यायाधीश पनि आफैँ, चोर पनि आफैँ अनि प्रहरी पनि आफैँ, खोइरो खन्ने पनि आफैँ भाटगान गर्ने पनि आफैँ, भाउवेशा बढाउने पनि आफैँ विरोध गर्ने पनि आफैँ, पढ्ने पनि आफैँ पढाउने पनि आफैँ, विकास गर्ने पनि आफैँ अनि विकास भएन भन्ने पनि आफैँ । तस्कर, माफिया र भ्रष्टाचारको विरोधी पनि हजूरकर्ता पनि हजूर ।

पत्रिका आफ्नै, पत्रकार आफ्नै अनि समाचार पनि आफ्नै । हजूरको वर्णन गर्न हजार जिभ्रा भएका शेषनागले पनि सक्दैनन् । हामी जनता कसरी सक्नु ? प्रभू हाम्रो जय भो अब चाहिएन, हजूरहरूकै जय होस् । यस्ता सर्वगुण सम्पन्न हाम्रा राजनीतिज्ञको जय होस् । जनि गरेर एउटा वरदान चाहीँ दिनुहोस् प्रभू, हामीले हाम्रा छोराछोरीको पढाइ छुटाएर एकएक वटा झोला किनिदिएका छौँ, हजूरहरूले तिनलाई सेवाको अवसर प्रदान गरिदिनुहोला ।

हामीले हाम्रा सन्तानलाई किन पढाउनु ? जति पढे पनि भाषा शिक्षा पढेर विदेशतिरै जान पर्ने भएपछि करोडौँ खर्च किन गर्नु ? दोसो विकल्प हजूरले दिनुभएकै छ, हजूरहरूले दिएको विकल्प अपनाउन पनि पढिरहन पर्दैन, ठूलो स्वर, मीठो भाषण र उग्र व्यवहार भए पुगिहाल्छ । बनाउन जान्नु आवश्यक कहिले पो थियो र अब सिक्नु ? हजूरहरूले केही बनाउन कहिल्यै सिक्नुभएको छ र ? बिगार्न त हजूरहरूले सिकेजसरी यत्तिकै सिकिहाल्छन्, सिकाइरहन नै पर्दैन ।

हजूरहरूले हामीलाई त सबैथोकले सन्तुष्ट पारिसक्नु भयो, अब केही चाहिएन । बस् हाम्रा सन्तान यही देशमा रहून्, अरू काम गरेर देशभित्र टिक्ने लक्षण देखिएन, हाम्रा सन्तानलाई पनि झोले बनाइदिनु । झोले विद्यार्थी, झोले डाक्टर, झोले इन्जिनियर, झोले न्यायाधीश, झोले सैनिक, झोले कर्मचारी, झोले निर्माण व्यवसायी आदि भन्दा त शुद्ध ‘झोले’ हुनु उत्तम हुन्छ नि होइन र हजूर ?

कुकरको पुच्छर

हामीले गरेका परिवर्तन र त्यो परिवर्तन हिँड्ने बाटो वा नीति ‘कुकुरको पुच्छर’ जस्तो हुँदै गइरहेका छन् । कुकुरको पुच्छरले न लाज छोप्छ, न झिंगा धपाउँछ । राजतन्त्र हुँदा त्यसको आडमा डकार्न पाउनेहरू सडकमा विरोधमा निस्कने आवाजहरूलाई जे भनेर सम्बोधन गर्दथे अहिले आफूलाई परिवर्तनका मसिहा ठान्नेहरू सडकको आवाजलाई त्यही नामले सम्बोधन गरिरहेका छन् ।

कुवाबाट समुद्रमा पुग्दा पनि भ्यागुताहरूलाई कुवाकै मानसिकताले च्यापिरहँदो रहेछ । चिन्ता लाग्यो ‘बानी उही भएपछि परिणाम पनि उही हुन्छ’ । राजतन्त्रकै हविगत यो तन्त्रले भोग्न नपरोस् । ‘म ईश्वर हुँ’ भन्ने अभिमान रोगीहरूले त राखे राखे अरूहरूले पनि राखेर रोगी बन्न नखोजुन् ।

भ्रम

हामीमा एउटा गजबको रोग सल्केको छ, भ्रममा रमाउने रोग । सत्तामा जहिले जो पुग्दछ त्यो आफूलाई ईश्वर ठान्दछ, आफू अगिल्तिर बसेर ताली पड्काउने जमातबाहेक अरूलाई मान्छे नै गन्दैन, ती ताली पड्काउनेहरू पनि आफूलाई मन पराएर ताली पड्काइरहेका छन् भनेर भ्रममा रमाउँदछ ।

उ मक्ख पर्दछ, जुँगामा ताउ लगाउँदछ, टाई मिलाउँछ, कुम दायाँबायाँ हल्लाउँछ र फरक मतलाई सत्तोसराप गर्दछ । सत्ता जहिले पनि समर्थकबाहेक अरूलाई मुठ्ठीभर ठान्दछ । श्री ३ देखि श्री ५ हुँदै श्री १०,००० सम्म आइपुग्दा पनि हामीले सत्तामा यही भ्रम देखिरहेका छौँ । बुझिने भाषामा भन्नुपर्दा यसलाई निषेधको राजनीति भनिन्छ । यस्तो राजनीति यहाँ मात्र होइन विश्वमा कहीँ कतै कहिल्यै टिकेको पाइन्न, तै पनि भइरहन्छ । भ्रममा रमाइरहन्छ ।

यो सत्ता–भ्रमबाट बाहिर निस्कन पाएको हुन्न जनतालाई अर्को भ्रमले फेरी च्याप्प समाउँछ, त्यो हो राजनीतिक नाराको भ्रम । समानता, स्वतन्त्रता, समाजवाद, अधिकार, अधिनायवाद र विकासका भ्रमहरू आएर यो बेला पालैपालो ‘खान मन नलाग्नेले थालमा पस्केको भात गिजोले जसरी’ जनताको दिमाग गिजोलीरहन्छन् ।
जनता जब भ्रमबाट बाहिर आउँदछ तब बेलाबेलामा सडकमा आउने गर्दछन् ।

कार्यकर्ता र स्वतन्त्र जनता प्रायोजित र स्वःस्फूर्तरूपमा सडकमा आउनु भनेको एउटै कुरा हो भन्ने भ्रम पालिन्छ । दुर्भाग्य नेपाल र नेपालीको । राणा, राजा, पंच, कांग्रेस, कम्युनिस्ट आदि धेरै आए आइरहेछन्, प्राविधिकरूपले नेपालीजस्ता देखिन्छन् तर ती कहिल्यै नेपाली हुन सकेनन् । गुठी लिच्छवीकालदेखि अनवरत चल्दै आएको छ । इतिहास र वंशावलीले त्यही बताउँछन् । प्रमाण के कति बाँकी छन् र के कति बेचेर सकिए सत्तामा पालैपालो बस्नेहरू नै जानुन् । गुठी खाने र भोग्नेहरू नै जानुन् ।

जुनबेलासम्म खेतीयोग्य जग्गामा खेती हुन्छ भन्ने मान्यता थियो त्यो बेलासम्म अनेक किसिमका परम्पराहरू गुठीसँग आवद्ध गराइएका थिए । अन्न नै प्राण हो भनेर त्यो उत्पादन हुने जमिनको पूजा गरिन्थ्यो त्यो बेला संस्कार र स्ंस्कृतिलाई जीवन्त राख्न जग्गालाई आधार बनाइयो ।

जब वास्तविक खेती माफिया खेतीमा परिणत हुन थाल्यो, पहिले वालछ्याल भएका जग्गा बिस्तारै सकिन थाले तब रोप्नेदेखि बेच्नेसम्मका प्रक्रियामा विभिन्न थरीका माफियाका गिद्धे नजर पर्न थाले । हरेक वर्ष सुकुम्बासी जन्मने र जग्गा बाँडेको ठाउँमा गएर लालपूर्जा थाप्ने त रोग नै बन्दै गयो । भूमाफियाहरूले यसलाई पनि राजनीतिमार्फत पेसा नै बनाउँदै आए ।

कुनै पनि जग्गाको स्वामित्व कोसँग छ त्यो गौण विषय हो, त्यसको उपयोगिता र उत्पादकत्व महत्वपूर्ण विषय हो । जनतालाई खेतीयोग्य जमिन जोगाउने नारा बेचिन्छ र व्यवहारमा तिनै जनतालाई अलिअलि भएको खेतीयोग्य जमिन पनि मासेर भौतिक संरचना बनाउन बाध्य पारिन्छ ।

एकातिर सामूहिक खेतीको अवधारणालाई देखाउने दाँत बनाइन्छ त अर्कोतिर भित्रभित्रै रुमाल च्याते जसरी जग्गा च्यातेर बेच्नुलाई चपाउने दाँत बनाइन्छ । समाधानका उपाय नभएका होइनन् छन् तर यहाँ समस्या समाधान गर्न राजनीति हुने गरेकै छैन, जनतालाई गिजोल्न गरिने गरिएको छ ।

जसको उद्देश्यमै खोट छ त्यसलाई समाधानका उपाय बताउन आवश्यक पनि छैन, त्यसले उल्टो असर गर्दछ, उपायमा पनि माफियाहरू छिर्दछन् । हामी यथार्थताभन्दा भिन्न लिने र दिने कुरा गरिरहेछौँ । स्वामित्वका कुरा नगरौँ । प्रतिरोपनी ९० रुपैयाँका दरले किसानबाट जबरजस्ती खरिद गरिएको, त्यसबेला पानढिक्की भनेर चिनिने ३ सय ५० रोपनी जग्गामा अहिले सिंहदरबार बनेको छ ।

अहिले संसद् भवन चलिरहेको क्षेत्र पनि कुनै बेला किसानकै थियो, सेनाको ब्यारेक हुँदै यो अवस्थामा आइपुगेको छ । केही समयअघि एक सुकुम्बासीले जग्गा किनेका कारण विवाद उछाल्लिएर बाहिर आएको बालुवाटारको जग्गा पनि किसानकै थिए । ४० को दशकसम्म पनि त्यो जग्गामा लहलह तरकारी फलिरहेका देखिन्थे, ससाना छाप्रामा ज्यापूहरू खाजा खाएर बसिरहेका देखिन्थे । उदाहरण लाखौँ छन् । के हामी ती किसानलाई अधिकार दिन सक्ने स्थितिमा छौँ ? छैनौँ ।

अयथार्थ राजनीति नै समस्याको जग हो । राजनीतिलाई अयथार्थ बनाउन देशीविदेशी गिरोहहरूले मज्जाले मलजल गरिरहेका छन् । एकातिर अन्धविश्वासका कारण देश विकास नभएको पनि भन्दछौँ, अर्कोतिर कसैले आएर ‘तेरी आमाको अलच्छिनी अनुहारका कारण तेरो उन्नति नभएको हो’ भनिदिन्छ अनि अत्याधुनिक दिमागहरू पनि आमाको मुखमा लगेर एसिड छ्याप्न थाल्दछन् ।

जनता अत्यन्त सोझा छन् । जसले जे पनि विश्वास गर्दछन् । परिणाम देख्दछन् र पछुताउने गर्दछन् । अनि सत्ता बल्दछन्, व्यवस्था बदल्दछन् । नेपाली जनताको यही साधुपनलाई यहाँका हरेक राजनीतिले बजारमा बेचिरहेका छन् ।

जलमाफिया, भूमाफिया, यातायात माफिया, जंगलमाफिया, शिक्षामाफिया, स्वास्थमाफिया, उद्योगमाफिया, धर्ममाफिया, राजनीतिक माफिया आदि माफिया जो जसले चलाइरहेका छन् वा जो यिनका चंगुलमा फसेका छन् वा जसले यिनमा लगानी गरेका छन् वा जसले यिनकै हण्डी खाएर बसेका छन् तिनैबाट हामी परिवर्तनको आश गरिरहेका छौँ, गलत गरिरहेका छौँ ।

पहिला तस्कर र माफियाबाट सबै मिलेर देशलाई बाहिर निकाल्न पहल गरिनुपर्दछ । अर्ब हसुर्नेले हजार खानेलाई समाएको नाटक देखाएर यो देश कसरी र कहिले बन्दछ ? नेपाल यानि काठमाडौं उपत्यका यहाँका रैथाने सोझा किसानलाई ललाएर, फकाएर, झुक्याएर, फसाएर र तर्साएर मार्दै बनेको सहर हो । हामी सबै धेरथोर यो प्रक्रियामा सामेल छौँ ।

के हामी काठमाडौं खाली गराएर किसानको अधिकार दिन सक्छौँ ? विदेशीले बुझाइदिएर खोजिने अधिकार वा अस्तित्वले देश शान्त हुँदैन, न त विकास नै हुन्छ न मागेका अधिकार वा अस्तित्व पाइन्छन् नै । श्रीलंकाका तामिल हुन् वा वर्माका रोहिंग्या के तिनले अधिकार पाए ? भुटानमा रहेका नेपालीका कुरा गरौँ, के तिनले अधिकार पाए ? कुनै पनि विदेशीले हाम्रो हितलाई प्राथमिकतामा राखेर एउटा छेस्को पनि भाँच्दैन, उसको हीतलाई सर्वोपरि राख्दछ । विदेशीलाई ईश्वर ठान्ने भ्रमबाट यो देश कहिले मुक्त होला ? सायद अस्तित्व समाप्त भएपछि । सत्तामा बस्नेले आफूलाई र जनताले सत्तामा बस्नेलाई ईश्वर ठान्ने भ्रम कहिले सकिएला, सायद देश सकिएपछि ।

प्रतिक्रिया