६६औँ वर्षमा प्रवेश गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान

काठमाडौँ । विसं २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गर्दैछ ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको प्रज्ञा प्रतिष्ठान ६६औँ वर्षमा प्रवेश गरेको हो ।

प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । वार्षिकोत्सवका अवसरमा कविता महोत्सवको आयोजना गरिएको छ ।

यस वर्षको महोत्सवका लागि ५८८ जना कवि एवं कवयित्रीले आवेदन दिएकामा २० वटा प्रतियोगी कविता छनोट भएको छ । महोत्सवमा १६ जना अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम रहेको छ ।

कविता महोत्सवको इतिहास

महोत्सव विसं २०४६ सम्म निरन्तर चलेको थियो । विसं २०४७ मा विशेष कारणवश रोकिएको जनाइएको छ । विसं २०६३ देखि २०६६ सालसम्म प्राज्ञ परिषद् गठन नभएका कारण कविता महोत्सव आयोजना हुन सकेन ।

विसं २०६७ देखि महोत्सव निरन्तररूपमा आयोजना भइरहेको छ । कोरोना महामारी सुरु भएपछिको कविता महोत्सव २०७७ मा प्रतिष्ठानले जुम माध्यमबाट यसलाई निरन्तरता दिएको थियो । गत वर्ष भने भौतिकरूपमै कार्यक्रम गरिएको थियो । यसपटक कविता महोत्सवको ५३ औँ शृङ्खला हो ।

प्रतिक्रिया