अक्षयको नयाँ चलचित्र

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार अभिनीत नयाँ चलचित्र ‘रक्षाबन्धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चार जना बहिनीको विवाह गर्न दाइले गरेको संघर्षको कथालाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । अभिनेता अक्षयले सामाजिक सञ्जालमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गर्दै लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छ ।’


अक्षयसँगै अभिनेत्री भूमि पेडनेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको निर्देशन आनन्द एल रायले गरेका छन् । चलचित्रको कथा निर्देशक रायकै रहेको छ । आगामी अगस्ट ११ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र यही मितिमा अभिनेता आमिर खानको ‘लाल सिंह चड्डा’ सँग जुध्ने भएको छ ।

अभिनेता अक्षय कुमारका पछिल्लो समय प्रदर्शनमा आएका चलचित्र ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा अफल भएका छन् । यसैगरी, अभिनेता आमिर चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ अफल भएको चार वर्षपछि ‘लाल सिंह चड्डा’ मार्फत पुनः चलचित्रमा आउँदैछन् ।

प्रतिक्रिया