कला संस्कृतिमा सरकार प्रतिबद्ध छ : उपराष्ट्रपति पुन

काठमाडौं । नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसरमा कला क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तकार्यक्रममा वभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान प्रदान गरेको संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

उक्त कार्यक्रममा विशिष्ट योगदान पुर्याएका अमर स्रष्टाका स्मृतिमा स्थापना गरिएको पुरस्कार तथा सम्मानअन्तर्गत अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक मुरली धरलाई सम्मानित गरिएको थियो ।

त्यस्तै अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक कुमार बस्नेतलाई सम्मानित गरिएको उनले बताए । फत्तेमान राज भण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट पप गायक धिरज राईलाई सम्मानित गरिएको थियो ।

त्यस्तै कलाकार विकास घले गुरुङले आफ्नो आमा तथा बुबाको नाममा स्थापना गरेको ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ (रु.२५०००) बाट महजोडीलाई सम्मानित गरिएको थियो । त्यसैगरी नेपाल सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

नेपाल सांगीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार (रु.५०००) बाट वरिष्ठ पत्रकार शान्तिप्रियलाई सम्मानित गरिएको थियो । त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल सांगीतिक संघलाई सहयोग पुर्याउँदै आएका गायक गणेश पराजुली, गीतकार डब्बु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोदकुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदरपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रमकै अवसर पारेर दश जना स्रष्टालाई आजीवन सदस्यता प्रदान समेत गरिएको थियो । गीतकार किरण के. उप्रेती, गीतकार निरोज भट्ट, गायक सन्तु थापा, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, मोडल नारायण ढकाल, निर्देशक पूर्णबहादुर थापा, निर्देशक दीप गुरुङ, संगीतकार दिपक शर्मा, संगीत संयोजक आमोश तामाङलाई आजीवन सदस्यता प्रदान गरिएको संघले जनाएको छ ।

कार्यक्रममा स्रष्टा तथा कलाकारहरुलाई सम्मान एवं पुरस्कृत गर्दै प्रमुख अतिथि उपराष्ट्रपति पुनले नेपाल सांगीतिक संघको योगदानको चर्चा गर्दै कला क्षेत्रका सबैमा विश्व संगीतको शुभकामना प्रदान गरे ।

एकातिर विश्व संगीत दिवसको रुपमा मनाइरहँदा अर्कोतिर मुलुकभित्र रहेका कलाकारहरुमा आपसी सद्भाव कायम गर्दै कला संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमहरु लाभदायी र फलदायी बन्दै आएको उपराष्ट्रपति पुनले बताए ।

उक्त संघद्वारा सम्मानित तथा पुरस्कृत व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिँदै उनले मुलुकको कला संस्कृतिमा सरकार प्रतिबद्ध भएर लागेको जिकिर गरे ।

प्रतिक्रिया