विद्यालयलाई सहयोग गर्ने वडाध्यक्ष गिरीको प्रतिबद्धता

कावासोती । नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बधाई शुभकामना तथा परिचयात्मक कार्यक्रम जनविकास विद्याश्रम आधारभूत विद्यालय कावासोती– ३ अट्ठाईस बिगाहामा सम्पन्न भएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कावासोती नगरपालिका– ३ बाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुको सम्मानमा विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष डोरमान गिरी, सदस्यहरू ऋषिराम बस्ताकोटी, बसन्ती कुँवर केसी, रनबहादुर थापा र सावित्री रसाइलीलाई बधाई ज्ञापनसहित सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष गिरीले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासका लागि आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले विद्यालयको समग्र विकासका लागि बृहत गुरुयोजना निर्माण गरि अगाडि बढ्न आग्रहसमेत गरे ।

सम्मान कार्यक्रम पश्चात् जनप्रतिनिधि, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबीच शैक्षिक अन्तरक्रिया समेत सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा विद्यालयको समग्र शैक्षिक आर्थिक र भौतिक पक्षका बारेमा छलफल गरिएको थियो ।

विद्यालयका संस्थापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शिव पराजुलीले गरेका थिए ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया