यसरी सफल भयो ‘अपरेसन ह्वाइट डस्ट’

एक अर्ब बराबरको हेरोइन बरामद

काठमाडौं । कुख्यात अपराधी चाल्र्स शोभराज अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । सिरियल किरलका रूपमा चर्चित शोभराजले प्रहरी वयानमा भनेको एउटा शब्द अझै पनि सान्दर्भिक देखिन्छ, ‘नेपालको विमानस्थबाट मैले चाहेँ भने हात्ती पनि छिराइदिन्छु । नचाहेर मात्रै हो ।’ प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले बिहीबार सार्वजनिक गरेको ५१ किलो लागुऔषध हेरोइन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको घटनाले विमानस्थलको सुरक्षा व्यवस्था उदांगो बनेको छ ।

स्रोतसाधनले सम्पन्न विमानस्थलबाहिरबाट प्रहरीले हालसम्मै ठूलो परिमाणको लागुऔषध सेतो र खैरो हेरोइन बरामद गर्न सफल भयो । जबकी विमानस्थलमा भन्सारमा खटिएका कर्मचारीले एक्स–रे मेसिनले विदेशबाट आएका नागरिकको लगेजको सुरक्षा जाँच गर्छन् । तर, यति ठूलो परिमाणमा लागुऔषध काठमाडौंमा फेला पर्दा विमानस्थलको सुरक्षा संयन्त्र र भन्सारसँगै अध्यागमन संयन्त्र असफल भएका रहस्य फेला परेको छ ।

दुबईबाट २९ जेठमा काठमाडौं उत्रिएकी दक्षिण अफ्रिकी नागरिक सिबिसी थन्डेकिली र मुरेल क्वोडुवाजी थेम्बेनी नाज्माले सुटकेसमा फल्सबटम बनाएका १६ किलो सेतो हेरोइन ल्याएका थिए । विमानस्थलको एक्स–रे मेसिनबाट उनीहरूले सुरक्षा जाँच पनि पास गरे । तर, त्यहाँ खटिएका लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) को प्रहरी टोलीलाई भने यी दुई महिलाको व्यवहार र हाउभाउ देखेर शंका लाग्यो । उनीहरूले विमानस्थलको गोल्डेनगेटबाटै यी दुई महिलाको पिछा गरे । ठमेलस्थित एक होटलमा पुगेपछि पक्राउ गरी उनीहरूले बोकेको सुटकेस खोतल्दा १६ केजी सेतो धुलो (तत्कालीन समयमा सेतो हेरोइन हो वा होइन यकिन थिएन) फेला प¥यो ।

ब्युरोबाट खटिएका सुरक्षाकर्मी चकित बने । बरामद सेतो धुलो परीक्षणका लागि पठाउँदा सेतो हेरोइन पुष्टी भयो । एनसिबीले यसअघि वैशाखमा सात केजी सेतो हेरोइनसहित पक्राउ परेका दक्षिण अफ्रिकी नागरिकको शारीरिक हाउभाउ नाजमा र थान्डेकेलीको हाउभाउ मिलेपछि एनसिबी टोली थप सशंकित बन्यो । उसले यत्तिमै अपरेसनलाई टुंग्याएन । थप हेरोइन फेलापर्ने मनसायमा ‘अपरेसन ह्वाइट डस्ट’ सञ्चालन ग¥यो ।

ठमेलबाट १६ किलो सेतो हेरोइन बरामद गरेको दुई घण्टापछि विमानस्थलमा दुवईबाटै दक्षिण अफ्रिकन नागरिक साबाला खानयिसिली योने उत्रिइन् । उनले लगेजमा फल्सबटम बनाएर आठ किलो सेतो हेरोइन बोकेर ल्याएकी थिइन्् । एनसिबी टोलीले उनलाई ठमेलस्थित होटलसम्मै पिछा ग¥यो । तर, उनको सम्पर्कमा कोही आएन । तर, प्रहरीले सुटकेस खोलेर हेर्दा फल्सबटम बनाएर प्याक गरिएको आठ किलो सेतो हेरोइन बरामद गर्न सफल भयो ।

त्यसपछि अपरेसन टुंगिएन । ३० जेठमै दक्षिण अफ्रिकन नागरिक रोजिना ननक्वोल जान्टजी विमानस्थलमा उत्रिएकी थिइन् । विमानस्थलको सिसिटिभी फुटेजमा उनको हुलिया थाहा पाएको प्रहरीले पिछा ग¥यो । राती पौने ११ बजे ठमेलस्थित होटलबाट उनलाई पक्राउ गर्दा लगेजमा फल्सबटम प्रयोग गरेर ल्याएको आठ किलो सेतो हेरोइन बरामद गर्न सफल भयो ।

एकैदिन फरक समयमा लागुऔषध सेतो हेरोइन ठूलो परिमाणमा बरामद भएपछि एनसिबीको टोली थप सशंकित बने । उनीहरूले अपरेसनलाई निरन्तरता दिए । रातभर जागै बसे । पक्राउ परेकालाई वयान लिए । तर रहस्य खुलेन ।

अफ्रिकी मुलुकबाट आएका महिलाको नाम अध्यागमनको अभिलेखबाट हेर्दा २६ जेठमा विमानस्थल ओर्र्लिएकी रोजना ननक्वोलको हाउभाउमाथि प्रहरीको शंका जाग्यो । उनीहरूले खोजी गर्दा भेटेनन् । रोजना सिन्धुपाल्चोकस्थित सुकुटे बिचमा पुगिसकेकी थिइन् । एनसिबी टोली पनि सुकुटेसम्मै पुग्यो । त्यहाँबाट फर्किएपछि रोजनालाई ३० जेठ राती साढे ११ बजे पक्राउ गरियो, ठमेलस्थित होटलबाट । उनले सुटकेसमा आठ किलो सेतो हेरोइन ल्याएकी थिइन् । रोजनासँगै एउटै फ्लाइटमा नेपाल उत्रिएकी थिइन्, दक्षिण अफ्रिकी महिला मलको माउरिन माथिवा । उनले पनि सात किलो सेतो हेरोइन बोकेर ल्याएकी थिइन् । उनलाई पनि होटलसम्म पिछा गरेर एनसिबी टोलीले पक्राउ गरी लागुऔषध हेरोइन बरामद गर्न सफल भयो ।

अति गोप्य राखिएको यो अपरेसनमा एनसिबीका ६ जनाको विशेष टोली खटिएका थिए । उनीहरू यतिमै रोकिएन । विगतका घटना अभिलेख केलाउँदै गयो । दक्षिण अफ्रिकी महिलाको अभिलेख केलाउँदै गर्दा अर्की एक महिला मोरोई सुजन कोफूलाई पक्राउ ग¥यो, जेठ ३१ गते । त्यो पनि ठमेलबाटै । उनको साथबाट सेतो हेरोइन चार किलो र खैरो हेरोइन दुई किलो बरामद भयो । उनी भने कतार एयरबाट काठमाडौं उत्रिएकी थिइन् ।

यसैगरी ३१ गते नै दुबईबाट अर्की साउथ अफ्रिकी महिला मार्लेज बाडेनहस्र्ट विमानस्थलमा उत्रिइन् । उनले सुटकेसमा फल्सबटम बनाएर ६ किलो सेतो हेरोइन ल्याएकी थिइन् । प्रहरीले विमानस्थलबाट ठमेलसम्म पिछा गरेर होटलबाट उनलाई पनि पक्राउ ग¥यो ।

एनसिबीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार पक्राउ परेका अफ्रिकी महिलाको यात्रा अभिलेख हेर्दा उनीहरू महिनैपिच्छे नेपाल आइरहेको देखिन्छ । पर्यटक भिसामा आएका यी सात महिलाले नेपाललाई लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको देखिन्छ । एनसिबीका अनुसार पक्राउ परेका सातै जना विदेशी महिला साउथ दक्षिण अफ्रिकाबाट दुबई हुँदै हेरोइन बोकेर नेपाल आएको उनीहरूको राहदानीको यात्रा अभिलेखले देखाउँछ ।

पक्राउ परेका सबै भरिया

एनसिबीका अनुसार पक्राउ परेका सातै जना भरिया मात्रै हुन् । उनीहरूलाई मुख्य कारोबारीले नेपालसम्म सामान डेलिभरी गर्न पठाएका थिए । होटल बुकदेखि उनीहरूको आउजाउको जहाजको टिकटसमेत मुख्य कारोबारीले नै व्यवस्था गरेको देखिन्छ ।

फरक फरक पेसामा आवद्ध अभियुक्तहरू थोरै आर्थिक प्रलोभनमा सुटकेस बोकेर नेपाल आएको एनसिबीको अनुसन्धानले देखाएको छ । मुख्य कारोबारीले नेपालमा बस्दा उनीहरूलाई खर्च दिएर पठाएको देखिन्छ । यतिसम्मकी शंकाबाट बच्न मुख्य कारोबारीले भरिया महिलाहरूसँग सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर र इमोमा मात्रै गफ गरेको देखिएको छ ।

अपरेसन अहिले पनि जारी छ : एसपी जीवन श्रेष्ठ (प्रमुख, एनसिबी)

हामीले यसअघि गत वैशाखमा बरामद गरेको सात किलो सेतो हेरोइन घटनालाई सुक्ष्म विश्लेषण गरेका थियौँ । नेपाली दुव्र्यसनीले खर्च गर्न नसक्ने हेरोइन आखिर नेपाल किन आइरहेको छ ? त्यसले हाम्रो दिमाग हल्लाइदिएको थियो । हामीले विगतमा पक्राउ परेका अभियुक्तको आपराधिक पृष्ठभूमिको समेत विश्लेषण गरेका थियौँ ।

जेठ ३० गते एकैपटक आठ किलो सेतो हेरोइन बरामद गर्न सफल भयौँ । हामी थप सशंकित बन्यौँ । कतै अरू पनि त आउँदै छैन ? विमानस्थलमा हाम्रो पनि टोली बसेको हुन्छ । निगरानी बढायौँ । केही अफ्रिकी महिलाको व्यवहारले हामीलाई सोच्न बाध्य बनायो ।

एसपी जीवन श्रेष्ठ (प्रमुख, एनसिबी)

त्यसपछि पुराना घटनालाई सोच्न थाल्यौँ । ३० गते महिलाहरू बाहिर निस्किएपछि हामीले पिछा गर्यौँ । उनीहरू ठमेल पुगेपछि पक्राउ गरेर सुटकेस खोतल्दा फेलापर्यो, आठ किलो सेतो हेरोइन । उनीहरूले अर्को टोलीलाई चिन्दैन थिए, वा बताउन चाहेनन् । तर, हामीले निगरानीलाई निरन्तरता दियौँ ।

विमानस्थल र बाहिर सूचना बटुल्न थाल्यौँ । त्यसपछि अरूहरू पनि धमाधम पक्राउ परे । हामी बरामद समानको परिमाण हेर्दा छक्क प¥यौँ । नक्कली त होइन भनेर परीक्षण गर्न दुई÷दुईपटक पठायौँ । सेतो र खैरो हेरोइन नै भएको पुष्टी भयो ।

नेपाल प्रहरीको इतिहासमा ५१ किलो हेरोइन बरामद भएको यो घटना पहिलो हो । हाम्रो अपरेसन अहिले पनि जारी छ । बरामद लागुऔषध सेतो हेरोइनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ हुन आउँछ । पक्राउ परेका सातै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा लागुऔषध ओसारपसार ऐनअन्तर्गत अनुसन्धानका लागि सात दिनको म्याद लिएर थप अनुसन्धान गर्दै छौँ ।

प्रतिक्रिया