छानबिन गर्न कार्यदल गठन

राज्यमन्त्रीविरुद्ध कुटपिटको आरोप

काठमाडौं । महिला तथा बालिकामाथि कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन गर्न बुधबार तीन सदस्यीय कार्यदल गठन गरिएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कार्यदल गठन भएको हो । उक्त कार्यदलको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।


राज्यमन्त्री वलीमाथि लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप लागेको छ । मंगलबार बिहान एक पुरुषको घरमा पुगेर वलीले उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप छ । पीडित महिलाले वलीविरुद्घ उजुरी दिएकी छन् । राज्यमन्त्री वलीले घरमा तोडफोड गरेको आरोपसमेत लगाइएको छ । राज्यमन्त्री वलीलाई कारवाही गरि पदबाट बर्खास्त गरिनुपर्ने माग पनि उठ्दै आएको छ ।


प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वली मंगलबार राती बेहोस भएपछि अस्पताल भर्ना भएकी छन् । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप र सुगरको मात्रा बढेको पाइएको छ । वलीको हाल अस्पतालमा उपचार भइरहेको छ । मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो । सोही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

प्रतिक्रिया