काठमाडौं । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले लुम्बिनी प्रदेशसभाका जारी बैठक अनिश्चित भएको छ ।
प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे सरकारले प्रदेशसभा बैठकमा जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक स्थगित भएको हो ।
बैठक प्रारम्भ भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन दिँदै केही समयका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो । सो अनुसार बैठक अनिश्चित बनेको छ ।
मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले भने राज्यमन्त्री विमलाको घटनाबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रतिक्रिया