बैतडी । जिल्लामा पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण थालिएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लगाए / नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको उनले बताए ।
१० ओटा स्थानीय तहका तीन/तीन वडामा घरधुरी सर्वेक्षण भईरहेको छ । एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण भईरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण कार्य थालिएको हो ।
बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला भईसकेकाले प्रत्येक बर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ । १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए/ नपाएको बारेमा सर्वेक्षण भईरहेको स्वास्थ्य कार्यालय बैतडीबाट खटिएका प्रतिनिधि एवम् पाटन नगरपालिका ८ को सिद्देस्वर स्वास्थ्य चौकिका सिनियर अहेब जयराज भट्टले जानकारी दिए ।
खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ । जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ खोप दिने गरिएको छ ।
प्रतिक्रिया